भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमाक्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ । चीनले भनेको छ, “जस्तोसुकै अवस्थामा पनि सार्वभौमिकताको रक्षाका लागि हामी हाम्रा सेना उक्त क्षेत्रमा थप खटाउनेछौँ ।”

चीन, भुटान र भारतको सीमाक्षेत्रमा पर्ने उक्त क्षेत्रमा गएको महिना दिनभन्दा लामो समयदेखि सो विवाद रहिआएको छ । सो विवादका कारण उक्त क्षेत्रमा चीनले निर्माण गर्न लागेको सडक पनि स्थगित भएको छ ।

चीनले आफ्नो तर्फबाट उक्त स्थानमा सडक निर्माण गर्न लागेको छ । भारतले सो सडक निर्माणको कार्य रोक्नु भनेको छ । तर, चीनले उक्त क्षेत्रमा जारी रहेको निर्माणको कार्य भने रोकेको छैन । निर्माणस्थल आफ्नो भूभाग रहेको भन्दै चीनले बरु उक्त क्षेत्रमा प्रवेश गरेर भारतीय सेनाले सीमाक्षेत्रको उल्लंघन गरेको जनाएको छ ।

चिनियाँ रक्षामन्त्रालयका प्रवक्ता वु च्यानले सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भने, “भारतीय पक्षले चीनको सीमामा प्रवेश गरेर सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको छ ।” उनले सो पत्रकार सम्मेलनमा चीनले आफ्नो सीमा रक्षाका लागि थप सैनिक पठाउन लागेको जानकारी दिए ।

तर, के–कति संख्यामा चीनले सो क्षेत्रमा सेना पठाउन लागेको हो भन्ने जानकारी दिइएको छैन ।उक्त क्षेत्रमा गएको महिना दिनभन्दा लामो समयदेखि विवाद उत्पन्न भइरहेको छ । भारतीय पक्षले चिनियाँ भनाइपछि कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार