हालै नेकपा माओवादी केन्द्रको ‘पराजय बैठक’ सम्पन्न भएको छ ।

सधैं विजय बैठक गर्ने बानी परेका माओवादी केन्द्रका नेताहरुलाई दोस्रो संविधानसभाको चुनावपछि पराजय बैठक गर्न बाध्यकारी परिस्थिति आइपरेको थियो र त्यस्तो पराजय बैठकको श्रृंखला जारी छ । दोस्रो संविधानसभाको चुनावमा शर्मनाक पराजयपछि सुरु भएको त्यस्तो पराजय बैठक श्रृंखलाहरुमा अहिलेको स्थानीय सरकारहरुको चुनावमा पनि शर्मनाक पराजय भएपछिको बैठकसम्म आउँदा पुष्पकमल दाहाल नेतृत्वको पार्टी विसर्जनको संघारमा पुगेको संकेत गरेको छ ।

स्थानीय तहको पहिलो र दोस्रो चरणका चुनावहरुमा माओवादी केन्द्रको पराजयले दाहाललगायतका नेताहरुलाई गम्भीर झड्का दिएको रहेछ भन्ने कुरा अहिलेको पराजय बैठकमा नेता कार्यकर्ताहरुले व्यक्त गरेका विचारहरुले देखाएको छ । पश्चिमका पहिलेका आधार इलाकाहरु रोल्पा, जाजरकोट, कालिकोट, दाङ, प्यूठानलगायतका ठाउँहरुमा भएको पराजय, मध्यक्षेत्रका गोरखा, तनहुँलगायतका पहिलेका आधार इलाकाहरुमा भएको पराजय र  पूर्वी क्षेत्रका सिन्धुली, काभ्रे, दोलखालगायतका ठाउँहरुमा भएको पराजय माओवादी केन्द्रको  पुराना गढहरु समेत गुमाउँदै विसर्जनको संघारमा पुग्न थालेको संकेत हो ।

राजधानी काठमाडौं र उपत्यकाको भक्तपुर जिल्लामा एउटा वडा सदस्यसम्म पनि नजित्नु र ललितपुरका नगरपालिकाहरुमा केवल दुई वडा सदस्य मात्र जित्नु र एक गाउँपालिका अध्यक्ष मात्र जित्नुले चार हजार केन्द्रीय सदस्यहरुमध्ये करिब एक हजार नेताहरुको स्थायी र अस्थायी घर भएको उपत्यकामा माओवादी केन्द्रको पत्तासाफ भएको संकेत दिएको छ । साथै माओवादी केन्द्र अरु कयौं जिल्लामा एक वडा अध्यक्ष पनि जित्न नसकेर पत्तासाफ हुन पुग्नुले माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको संविधानसभाको चुनाव भन्दा राम्रो परिणाम आउने अपेक्षा चकनाचुर हुन गई निराशाको बादलले छोप्न थालेको सन्देश यस पटकको पराजय बैठकमा प्रकट भएको छ ।

दाहालले यस शर्मनाक हारको दोष आफूमाथि आउने भयले बैठकको सुरुवातमै पार्टीभित्र अनेकौं गुट उपगुटहरु बन्नुले नै चुनाव हारेको भन्दै दोष अरु नेता कार्यकर्ताहरुमाथि पन्छाए । दाहालले पार्टीभित्र कल्पनै गर्न नसकिने स्तरमा गुटबन्दी मौलाएको भन्दै यस्तै तरिकाले पार्टी चलाउने हो भने पार्टी विघटन गर्नु राम्रो हुनेसम्मको घुर्की र धम्की दिए । तर के दाहालको पार्टीभित्र गुटवन्दी भएकोले नै चुनाव हारेको भन्ने निष्कर्ष माक्र्सवादसम्मत छ त ? गुटबन्दी एमाले र कांगे्रसलगायत सबै पार्टीहरुमा रहेको छ र माक्र्स– लेनिन–माओका पार्टीहरुमा पनि थिए । तर एमाले कांगे्रसले किन जित्यो र दाहालको माओवादी केन्द्रले किन हा¥यो ? गुटवन्दीले केही प्रभाव पार्ने पक्कै पनि हो, तर यो निर्णायक कारण होइन भनेर माक्र्सवादले सिकाउँछ । कम्युनिष्ट पार्टीमा गुटवन्दी हुनुको कारण गैरमाक्र्सवादी विचारहरुको प्रभाव हो । यथार्थमा दाहाल आफैँ समग्र आन्दोलन  र पार्टीको नेता बन्न छोडेर एक गुटका नेता बन्न पुगेका छन् अहिले । दाहाल आफैँ गुटवादी नेता बनेका छन् त्यसैले उनले अरुलाई उपगुटवादी बनेको आरोप लगाउनु आत्मकेन्द्रित व्यक्तिवाद मात्र हो ।

पराजय बैठकको कठघरामा उभिएका दाहालले गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता, धर्म निरपेक्षताजस्ता आफ्ना अजेण्डाहरु अरुले हाइज्याक गरेको र आफूले जनतामा ती उपलब्धिहरुलाई दावी गर्न नसकेकोले पनि चुनाव हारेको बयान दिएका छन् । उनले चुनाव हारे पनि आफ्ना एजेण्डाहरुको विजय भइरहेको भन्दै मनशान्तिको गायत्रीमन्त्र जप्न पनि छाडेका छैनन् । तर यथार्थता यो हो कि ती एजेण्डाहरु माओवादीका थिएनन् । संघीयता भन्ने शब्द माओवादीका दस्तावेज र निर्णयहरुमा ०६२ को चुनवाङ बैठक अगाडि कतै पनि थिएन । संघीयता वास्तवमा केही जनजाति वुद्धिजीवीहरु र मधेशवादी दलहरुको एजेण्डा थियो । दाहाल उनीहरुका एजेण्डाको पछि लागेको हो । माओवादीको एजेण्डा स्वायत्तता थियो ।

अहिलेको जस्तो लोकतान्त्रिक गणतन्त्र पनि माओवादीको एजेण्डा थिएन । माओवादीको एजेण्डा नयाँ जनवादी गणतन्त्र थियो र अझ दाहालले त एककाइसौं शताब्दीको जनवाद भनेर माओको नयाँ जनवादी गणतन्त्रभन्दा पनि अगाडि जाने प्रस्ताव राखेका थिए । तर दाहाल–बाबुराम गुटले यी सबै परित्याग गरेर कांग्रेस एमालेका केही वौद्धिक नेता तथा वुद्धिजीवीहरुले अघि सारेको लोकतान्त्रिक गणतन्त्रमा तल झरेका हुन् । समानुपातिक समावेशीता पनि ती नै कांग्रेस एमालेका वौद्धिक नेताहरुले र केही जनजातिय नेताहरु तथा मधेशवादी नेताहरुले ल्याएको विषय  हो र माओवादीले पछि अंगिकार गरेको विषय हो । धर्म निरपेक्षता भन्ने कुरा कम्युनिष्ट पार्टीले पहिलेदेखि उठाउँदै आएको विषय हो र ०४६ सालपछि पश्चिमा देशहरुले बढी उठाउँदै आएको विषय हो ।

तसर्थ चुनावमा हारे पनि आफ्नो एजेण्डाले जितेको भन्ने माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको विश्लेषण केवल भ्रम र बकवास मात्रै हो भन्ने प्रष्ट हुन्छ । आफ्ना एजेण्डाहरु परित्याग गरेर कांग्रेस–एमाले  जनजातीवादीहरु र मधेुसवादीहरुका एजेण्डाहरुमा लम्पसार पर्नुले नै माओवादी केन्द्र र अरु पार्टीहरु बीचमा भिन्नता हराइसकेको छ र यही कारणले दाहाल र माओवादी केन्द्रको औचित्य समाप्त भइसकेको छ । जनताले माओवादी केन्द्रलाई हराएर विल्कुल माक्र्सवादी काम सम्पन्न गरेका छन् । वास्तवमा जनता महान छन् भन्ने प्रमाण हो यो ।

भन्ने बेलामा अरु पार्टीहरुभन्दा फरक देखिन प¥यो भन्ने तर गर्ने बेलामा अरुभन्दा पनि तल गिरेर गर्ने दाहालपथले नै माओवादी केन्द्रको पतन गराएको छ । संसदवादबाट समाजवाद आउँदैन भन्ने माक्र्स–लेनिन– माओको विचारधारा विपरीत अहिलेको बैठकबाट पनि संसद्बाटै समाजवाद ल्याउने भन्ने कांग्रेसी पथ र खु्रश्चोभीपथ पारित गरेका दाहाल र उनका चम्चाहरुले आफ्ना एजेण्डाहरु अरुले हाइज्याक गरेको भनेर गरेको रोदनको कुनै अर्थ छैन । बरु अरुका एजेण्डाहरु हाइज्याक गर्न सकिएन भनेर दाहाल र उनका हनुमानहरु रोएको भए सुहाउने थियो ।

दाहालले यस बैठकमा एमालेलाई निशाना बनाएका छन् र कांगे्रस तथा भारतीय सत्ताधारीहरुलाई मित्र शक्तिमा राखेका छन् । एमाले पहाडिया अन्धराष्ट्रवादी भएको भन्ने मधेश केन्द्रित दलहरुको आरोपलाई दाहालले आफ्नो दस्तावेजमा दोहो¥याएका छन् । तर झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर पनि मधेश प्रदेशमा राख्नुपर्ने मागमा दाहालले समर्थन नगरेकोले  मधेशवादी दलहरुले दाहाल र उनको पार्टी माओवादी केन्द्रलाई पनि पहाडिया अन्धराष्ट्रवादी भन्ने गर्छन् भन्ने यथार्थ उनले भुलेका छन् । वास्तवमा दाहाल यता न उताका भएका छन् र यसकारणले गर्दा पनि चुनाव हारेका छन् ।

देश र जनताको पक्षमा केही राम्रो काम गर्ला भन्ने आशामा पहिलो संविधानसभाको चुनावमा माओवादीलाई पहिलो ठूलो दल बनाइदिएका थिए जनताले । तर जनता र देशको पक्षमा दाहाल  नेतृत्वको सरकारले ठोस उल्लेखनीय कामहरु केही पनि गरेन । उल्टै दाहाल र उनका आसेपासेहरुले दुई हातले हसुरेर देश र जनताको सम्पत्ति कुम्ल्याउन थाले । त्यो बेला दाहालले  देशमा शान्ति पनि हुन दिएनन् र उनले भन्ने गरेको  क्रान्ति पनि गरेनन् । तर, कुरा मात्रै चर्काचर्का क्रान्तिको गरे दाहालले । दाहालले नै पहिलो संविधानसभाबाट संविधान बन्न दिएनन् । यसको सजाय अहिलेसम्म माओवादी केन्द्रले भोग्दैछ ।

भारतीय हस्तक्षेपका बाबजुद पनि दोस्रो संविधानसभाबाट संविधान बनाउन  दाहालले सघाएपछि उनको स्थिति अलि राम्रो हुन लागेको थियो तर भारतीय उक्साहटमा ओली सरकार गिराएपछि दाहालको लम्पसारवादलाई जनताले राम्रैसँग चिन्ने मौका पाए । यी सबैको परिणाम अहिले चुनावमा आइरहेको छ । कांगे्रस र भारतीय सत्ताको कठपुतली बन्न छाडेर तथा लम्पसारवादी दक्षिणपन्थी विचलन सच्याएर वाम गठवन्धन वा वाम पार्टी एकतासहित अगाडि बढ्ने नीति नलिएसम्म दाहाल र उनको माओवादी केन्द्र पार्टीको उत्थान अब सम्भव छैन र एमालेले गम्भीर गल्तीहरु नगरेसम्म दाहालको विजय बैठक सम्भव छैन ।

दाहालको पराजय बैठकले केही राम्रा निर्णय पनि लिएको छ । दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने एजेण्डा फेरि उठाउने भएको छ जसलाई बेलैमा कांगे्रस–एमालेले स्वीकार गरेर देशमा स्थीर सरकारको स्थापना हुन दिने वातावरण बनाउनु पर्दछ । अन्यथा देश दलाल तथा नोकरशाही पूँजीपति वर्गको भाँडभैलोपथ अर्थात् दाहालपथमै रहन बाध्य भइरहनेछ ।

श्रेष्ठ दृष्टि साप्ताहिकमा निरन्तर लेख्छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार