प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् ।

बुधबार दिउँसो साढे चार बजे राष्ट्रपति कार्यालयमा नेपाली कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ जना र नेकपा संयुक्तबाट १ जना मन्त्रीहरूको सपथ ग्रहण गरेका छन् ।
नवनियुक्त १९ मन्त्रीहरुमध्ये अम्बिका बस्नेत सहकारी तथा गरिबी निवारण, गिरिराजमणि पोखरेल स्वास्थ्य, जितेन्द्र देव संस्कृति तथा पर्यटन, गोपाल दहित भूमिसुधार, रामकृष्ण यादव कृषि विकास, मोहन बस्नेत सूचना तथा सञ्चार, महेन्द्र यादव खानेपानी तथा सरसफाई, वीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात, मीन विश्वकर्मा वाणिज्य, भीमसेनदास प्रधान रक्षा र राजन केसीले युवा तथा खेलकुद मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् ।
रोचक कुरो यस पटकको मन्त्रीमण्डलमा माओवादी अध्यक्ष प्रचण्डलाई काठमाडौं क्षेत्र नम्बर १० मा पराजित गरेर राष्ट्रिय चर्चामा आएका सांसद राजेन्द्र केसी पछिल्लो समय गुमनाम थिए । कांग्रेसको जिल्लास्तरका नेता भए पनि प्रचण्डलाई चुनाव हराएकै कारण उनी चर्चामा थिए । यसपटक उनले त्यसको प्रतिफल पाए ।
यसैगरी माओवादी केन्द्रबाट सञ्जयकुमार गौतम सिंचाई, टेकबहादुर बस्नेत सामान्य प्रशासन, शिवकुमार मण्डल आपूर्ति, महेन्द्रबहादुर शाही ऊर्जा, आशा कोइराला महिला तथा बालबालिका, वसन्तकुमार थारु पशुपंक्षी विकास र मिथिला चौधरीले वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसैगरी संसदमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याएर शाही चर्चामा आएका थिए । महाअभियोगमा शाही प्रस्तावक र एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल समर्थक थिए ।
यसअघि कांग्रेसबाट गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री तथा शिक्षा, कृष्णबहादुर महरा उपप्रधान तथा परराष्ट्र, ज्ञानेन्द्र बहादुर कार्की अर्थ, फर्मूल्लाह मन्सुर श्रम, जनार्दन शर्मा गृह, प्रभु साह शहरी विकास र विजयकुमार गच्छदार उपप्रधान तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।







