माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा भएको छ ।
माओवादीले सशस्त्र युद्धदेखि शान्ति प्रक्रियाका दुई दशकसम्म विभिन्न चरण पार गर्दै गणतन्त्र, संघीयतालगायत मूल राजनीतिक कार्यभार पूरा गरेको भन्दै उनले अब दल विघटन गर्दा फरक नपर्ने बताएका हुन् ।

‘माओवादी एउटा आन्दोलन थियो पार्टीमात्रै थिएन, हामीले २० वर्षअघि बनाउने भनेको माओवादी हिजोआजको जस्तो माओवादी थिएन,’ पाँच दिनअघि ७ साउनमा सकिएको माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकमा उठेका टिप्पणीको जवाफ दिने क्रममा दाहालले भने, ‘सबै साथीहरुबाट आएका विचारहरु समान किसिमका छन्– ‘गुटबन्दी मौलायो । नीतिमूखी होइन, नेतामुखी भइयो । जनतामा जान सकिएन । चुनाव लड्ने अनुभव भएन । अब हामीसँग सच्याउनै नसकिने गरी कमजोरी बढिसकेका हुन् भने पार्टी नै विघटन गर्नेबारे सोच्न सकिन्छ ।’
बैठकमा सहभागी एक उच्च नेताको भनाईमा, दाहालले माओवादी आन्दोलनले नेपालको राजनीति आधारभूत रुपमै बदल्न योगदान दिएको भन्दै यसलाई अरु पार्टीजस्तो दिनचर्या बिताउने छुट नभएको बताए । ‘उहाँले क्रान्तिको सफलतापछि हुर्किने नयाँ पुस्तालाई अगाडिको बाटो प्रशस्त गर्दै लेखपढ गरेर बाँकी उमेर बिताउन सकिने भन्दा बैठकमा सन्नाटा छाएको थियो,’ अर्का नेताले भने, ‘अध्यक्षको यो भनाई कुनै भावावेशमा आएको थिएन भन्ने कुरा उहाँको प्रस्तुतिको गहिराईबाट बुझ्न सकिन्थ्यो ।’
नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष दाहालबाट पार्टी विघटनको सन्दर्भ बैठकमा उप्किए पनि गम्भीरतापूर्वक नआएको बताए । ‘यथास्थितिमै पार्टी संगठन राखिरह्यो भने अहिलेको आन्दोलन नेतृत्व गर्न सकिन्न भनेर अध्यक्षले विघटन गर्न सकिने सन्दर्भ बैठकको सुरुवातमै राख्नुभएको थियो । पछि पनि अरु साथीहरुबाट यसबारे चर्चा चल्यो, तर घनिभूत बहस होओस् भन्ने उहाँको उद्देश्य होइन,’ नेता श्रेष्ठले भने, ‘नयाँ परिस्थितिलाई आत्मसात गर्न सकिएन भने स्वत: विघटन हुँदै जान्छ । त्यसो गर्न दिनुभन्दा बरु आफैंले विघटन भएको घोषणा गरौं भन्ने कुरा हो ।’
अर्का नेता अग्निप्रसाद सापकोटाले पनि दाहालबाट पार्टी विघटन गर्न सकिने प्रस्ताव बैठकमा आएको बताए । उनले यस्तो प्रस्ताव पार्टीलाई सही बाटोमा लैजानका लागि आएको भन्दै तत्कालै विघटनको सम्भावना भने इन्कार गरे । ‘माओवादी आन्दोलनले आफ्नो सफलता पाइसकेको अर्थमा उहाँले त्यसो भन्नुभएको हो,’ सापकोटाले भने, ‘जनताका लागि जीवन नै त्याग गर्न चाहने मनोविज्ञान आजभोलि देखिन छाडेकामा उहाँको चिन्ता हो । क्रान्तिकारी सारतत्वसहितको माओवादी नबन्ने हो भने विघटन गरौं, त्यो एउटा सन्देश हुन सक्छ भन्ने उहाँको प्रस्ताव हो ।’ उनले दाहालको प्रस्ताव पार्टी सच्चिनुपर्छ भन्ने अर्थमा आएको दाबी गरे ।
सन् १८७२ मा रुसी कम्युनिस्ट नेता मिखाइल बाकुनिनसँग चर्को मतभेद भएपछि कम्युनिस्ट इन्टरनेसनलको कार्यालय बेलायतबाट अमेरिका सारेको चार वर्षपछि सन् १८७६ मा माक्र्स र एंगेल्सले कम्युनिस्ट इन्टरनेसनल विघटनको घोषणा गरेका थिए । दाहालले त्यसै अनुभवबाट नेपालका कम्युनिस्ट क्रान्तिकारीले सिक्न सक्ने प्रस्ताव बैठकमा गरेका हुन् । बैठकमा सहभागी माओवादी केन्द्रीय सदस्य तथा दोलखा सहइन्जार्ज विशाल खडकाले अध्यक्ष दाहालबाट गुटबन्दी मौलाउदै गएकामा चिन्तास्वरुप बैठकमा यस्तो प्रस्ताव आएको बताए ।
‘बैठकमा सबैजसो साथीहरुबाट विचार समूहभन्दा पनि गुट समूहजस्तो गरी रिपोर्टिङ र समीक्षा भएपछि अध्यक्षले उसो भए अब पार्टी विघटन गरौं भनी प्रस्ताव गर्नुभएको हो,’ खडकाले भने, ‘पार्टीमा पहिले वैचारिक लाइनका आधारमा अन्तर्संघर्ष हुन्थ्यो, अहिले व्यक्तिमा गएर बहसहरु ठोक्किए । सरकारमा जानका लागि जे पनि गर्न तयार हुनेजस्तो अवस्था देखियो । अध्यक्ष पछि दोस्रो तहका कतिपयमा नेताभन्दा विचौलियाको भूमिका बढी देखिएको समीक्षा चर्को रुपमा उठेपछि अध्यक्षले पार्टी विघटन गर्न सकिने विकल्प दिनुभएको हो ।’
खडकाले माओवादी विघटनको बहस भावावेशभन्दा पनि वैचारिक महत्वको मुद्दा रहेको रुपमा बुझ्नुपर्ने छलफल भएको जानकारी दिए ।
इकान्तिपुरबाट ।







