मैले प्रचण्डलाई एउटा शब्द भनेको थिएँ । पुलिस छ, सशस्त्र प्रहरी छ, त्यति मात्र होइन, राज्यसँग सेना पनि छ । मलाई सेना परिचालनका लागि बाध्य नबनाउनुस् । प्रधानसेनापतिलाई सेना परिचालन गर्नुस् भनेँ । परिचालनको पहिलो कदमका रूपमा राष्ट्रपतिको भवनवरिपरि, प्रधानमन्त्रीको निवास, सिंहदरबारको वरिपरि सेनालाई मार्चपास गराउन निर्देशन दिएँ । सेनाले मार्चपास पनि गरे ।

यो के गरेको भन्ने आयो, मैले भनेँ, यो पहिलो ‘स्टेप’ हो । राज्य झुक्न थाल्ने हो भने, आठ लाख मान्छे ल्याएर प्रधानमन्त्री फाल्दिन्छु भन्ने हो भने त्यो कस्तो प्रधानमन्त्री हुन्छ ? यस्तो हिम्मतहारा प्रधानमन्त्रीले कुर्सीमा बस्न सुहाउँदैनथ्यो । मैले भनेको थिएँ– मुठभेड, रक्तपात सबैलाई ‘एभोइड’ अस्वीकार गर्नुपर्छ । मन्त्रीलाई राति ३ बजे, २ बजे, ४ बजे, १२ बजे जतिखेर पनि आउनुपर्छ । म पनि मूलबाटोबाट आउँदिनथेँ । तर, अर्को बाटो आउँथेँ । जतिखेर पनि सिंहरदबारमा प्रधानमन्त्री आउनुपर्छ भन्नेमा थिएँ ।

मलाई सम्झना छ । घेराउ भइरहेको वेलामा अमिक शेरचनले विवरण बताउनुभएको थियो । उहाँले दक्षिण ढोकाबाट घेराउको नेतृत्व गरिरहनुभएको थियो । उहाँसँग भएका चर्का कार्यकर्ता गेट तोड्नका लागि उद्यत् थिए । अचानक पुलिसलाई संयमित हुन भनिरहेको थिएँ, गृहमन्त्री भीम रावलजीलाई भनिरहेको थिएँ । त्यही वेलामा उहाँकै कार्यकर्ताले कमरेड पूर्वी ढोका तोडिसकियो, यो दक्षिण ढोका किन नतोड्ने भनेछन् । शेरचनजीलाई पनि धकेल्दैधकेल्दै गेटसम्म पुर्‍याइएछ । रोक्न खोज्दा पनि भीडले मानेनछन् ।

त्यो वेला प्रहरीलाई चार्ज गर्न निर्देशन दिनैपर्ने भयो । तर, चार्जमा शेरचनजी पर्नुभयो । उहाँको हातखुट्टा भाँचियो । मेरो मित्र पनि हो । सात दलीय गठबन्धनको एउटा नेता उहाँ हुनुहुन्थ्यो । म तुरुन्तै बालाजुको मैत्री अस्पताल पुगेँ । हातखुट्टा भाँचिएको थियो । उहाँले कमरेड म तपार्ईंंलाई दोष दिन्नँ । सरकारले संयम अपनाएकै हो । हाम्रै कार्यकर्ताले ठेले, मै अगाडि हुँदा मैलाई हिर्काए भन्नुभयो र यस्तो हालत भयो भन्नुभयो ।

त्योभन्दा पहिलै गिरिजाबाबुको पालामा हतियारसहितको माओवादी सेना सिंहदरबार छिर्न खोज्दा इन्स्पेक्टरले समाउँदा उनीहरूलाई पुरस्कृत गरिएन । उल्टै कर्णालीमा सरुवा गरियो । यस्तो कदमलाई मैले गलत काम भएको छ भनेँ । मैले हतियारसहित माओवादी निस्कन्छन् भने समात्नुपर्छ । समात्ने प्रहरीलाई पुरस्कृत गर्नुपर्छ । कपिलवस्तुमा हतियार बोकेर ट्रकमा हाइवेमा हिँड्नेलाई सशस्त्र प्रहरी लगाएर समायो, थुनियो, हतियार खोसियो । लगत्तै अनमिनका मान्छे उनीहरूको कुनै दोष छैन, किन समातियो भनेर पुगे । मैले अनमिनको कुरा सुनिनँ । उनीहरूलाई थुनिराख्न भनेँ ।

प्रचण्डजीले फोन गर्दै– ‘माधवजी ठूलो गल्ती भयो, हाम्रा साथीहरूले बुझेनन् । म जहाजबाट भैरहवामा आउँदा स्वागत गर्न उनीहरू खाली हात आएका भए हुने, हतियारसहित आएछन् । एकचोटिको गल्तीलाई माफ गर्दिनुस् ।’ तर, अनमिनले भन्छ– उनीहरूको कुनै गल्ती छैन । त्यहीवेलादेखि अनमिनप्रति मेरो विश्वास रहेन र बिदा गर्नैपर्छ भन्ने सोचेँ । प्रचण्डजीले ११ पटक फोन गर्नुभयो । दोस्रोपटकदेखि यसरी भेटिए जे सजाय दिए पनि हुन्छ, यसपटक साथीहरूले गल्ती गरे भन्नुभयो ।

भीम रावल गृहमन्त्री हुनुहुन्थ्यो । राति ११ बजे अनमिनको मान्छेले हतियार हेर्छु भनेछ । हतियार देखाउन टेबलमा राख्दा, माओवादीका सेना हाम्फाल्दै हतियार समाएर पोजिसन देखाउन थाले । तुरुन्तै जनपद प्रहरीको त्यो चौकीलाई सशस्त्रले घेरा गर्न निर्देशन दिइयो । आर्मी चिफलाई पनि तयार हुनुस् भनेँ, केही घटना त्यहाँ भयो भने त्यहाँ कसरी जाने भनेर । तसर्थ, राज्य चलाउने भन्ने कुरा छिटो निर्णय गर्नुपर्छ । के गर्दा प्रभावकारी हुन्छ, के गर्दा तरिका पनि पुग्छ । लचकता र कडाइ राज्य चलाउँदा आवश्यक हुन्छ । संवाद पनि थियो । सम्बन्ध र विश्वास पनि थियो, यस्तो अवस्थामा यस्ता पक्षले पनि गर्दोरहेछ । नयाँ पत्रिकाबाट

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार