‘म अनसन बसेको मेरा लागि होइन, तिम्रा लागि हो, तिम्रा छोराका लागि हो।’
काठमाडौँ : डा. गोविन्द केसीले ११ औँ अनसन सुरु गर्नु अगाडि सञ्चारकर्मीसँग कुरा गरिरहेका थिए । किन अनसन बस्नुभएको भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा अचानक केसीले झोक्किँदै भने, ‘म अनसन बसेको मेरा लागि होइन, तिम्रा लागि हो, तिम्रा छोराका लागि हो ।’
डा. केसीले चिकित्सा चिकित्सा शिक्षा क्षेत्रका अनियमतता रोक्ने प्रमुख माग अघि सार्दै तत्काल माथेमा प्रतिवेदनअनुरुप आफूले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने माग यो अनसनमा उठाएका हुन् । साथै उनले बिरामीलार्इ सस्तो र सुलभ मूल्यमा उपचार गर्नुपर्ने र चिकित्सकहरुले निजी अस्पतालमा रिफर गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने माग राखेका छन् ।
पार्टीका दलालको मारमा सरकारी अस्पताल नेपालका अधिकांश सरकारी अस्पतालहरु पार्टीका दलालहरुको मारमा परेको केसीले आरोप लगाए। सरकारले अस्पतालका लागि छुट्याएको रकमको भ्रष्टाचार गर्ने अस्पतालका डाक्टर तथा अन्य पदाधिकारीहरु पार्टीका दलाल रहेको उनले बताए ।
‘सरकारी अस्पतालमा पनि १० प्रतिशत शैय्या मात्र छुट निशुल्क छन्, अब ट्वाइलेटका सामाग्री किन्ने पैसा समेत नहुने अवस्था आउन सक्छ’ केसीले भने। अस्पतालमा एउटा बेड ३ जना बिरामी राखेर उपचार गराउनु परेको समेत उनले जानकारी दिए ।
अस्पतालको फोहरका कारण बिरामीहरु अझै बिरामी हुने अवस्था भएको समेत उनले बताए ।
मेडिकल शिक्षामा माफियाको हावी भएको केसीले दावी गरेका छन् । आइओएमलार्इ स्वायत्त नबनाएर अधिकारको दुरुपयोग गर्दै माफियाको इसारामा निःशुल्क हुनुपर्ने मेडिकल शिक्षा अध्ययनका लागि १० लाख बढाइएको समेत उनले दावी गरेका हुन् ।
पावर र पैसा नहुने गरिबले डाक्टरी पढ्न नपाएको केसीले बताए । उनले भने, ‘राजनीतिक दलालहरुको राजनीतिक पावरको खेलका कारण गरिबहरुले इछ्छा हुँदा हुँदै पनि पढ्न पाएका छैनन् ।’