डा. केशरजङ रायमाझी (वि.सं. १९८२–२०६९) संयमताका साथ र पूर्वाग्रह नराखीकन विश्लेषण गरिनुपर्ने जेलिएका राजनीतिक पात्र हुन् । चारित्रिक हत्या र बेहिसाब बदनामी गरिनका निम्ति अत्यन्त सहज पात्र पनि । नेपाल कम्युनिस्ट पार्टीको ०१४ जेठमा भएको द्वितीय पार्टी महाधिवेशनपछि वस्तुतः आजसम्म पनि घाटघाटका पानी खाएका कम्युनिस्ट नेताहरूले उनकै ‘राजनीतिक लास’माथि आफ्नो राजनीति चलाइआएका छन् । सिंहदरबार हात पार्ने त कुरै छाडौँ, स्वयं राजदरबारलाई कब्जा गर्न खोज्ने नेपाल कम्युनिस्ट पार्टी (माओवादी) समेतले पनि रायमाझीको भूतले तर्सिएझैँ त्रिचन्द्र कलेजअगाडिको सरस्वती सदनको लामो पर्खाललाई ‘प्रचण्डपथ कि गद्दार रायमाझीपथ ?’ भन्ने नाराले रंगाएको थियो ।

राजाको विदेश नीतिको समर्थन गर्दै संविधान मान्ने वचन दिएपछि मनमोहन अधिकारी राजा वीरेन्द्रबाट कारागारमुक्त गरिन्छन् । तर, ‘राजावादी’ डाम रायमाझीलाई मात्र लाग्छ । राजाले सहीछाप गरेपछि मात्र वैध भएको ०४७ को नयाँ संविधानअनुसार ०५१ सालमा मनमोहन अधिकारीले प्रधानमन्त्री, माधवकुमार नेपालले उप–प्रधानमन्त्री र अरू स–साना दलका राजनीतिक नेताहरूले पनि संविधान मानेर काम गर्ने किरिया खाएकै थिए ।

साँच्ची भन्ने हो भने डा. रायमाझीको नाम यो वर्तमान कालखण्डमा मात्र होइन, पछि पनि आफ्नो राजनीतिक स्वार्थसिद्ध गर्ने हेतुले विभिन्न नामधारी कम्युनिस्ट घटकहरूबाट ‘सैद्धान्तिक संघर्ष’को नाममा खलनायकको रूपमा प्रयुक्त भई नै रहने अवस्था छ । को हुन् केशरजङ रायमाझी ? नेपालको कम्युनिस्ट आन्दोलनको खेतमा ठड्याइएका बुख्याँचा ? नयाँ क्रान्तिकारी कम्युनिस्ट कार्यकर्ताहरूलाई तर्साउन प्रयोग गरिने संशोधनवादी हाउगुजी ? वा जुँगादाह्री पालेको, कालोकोट–टोप लगाउने, हातमा छुरा भिरेको राजावादी षड्यन्त्रकारी ? छुँदैमा आफ्नो जात जाला कि भनेर टाढाटाढै रहने शुद्ध कम्युनिस्ट ब्राह्मणहरूका लागि ‘शूद्र’ ?

सन् १९५० मा अर्थात् आजभन्दा ६४ वर्षअघि यो लेखक पढ्न बसेको कलकत्तास्थित होस्टल ओरियन्टल होममा पुष्पलाल श्रेष्ठ (१८८२–२०३५) ले उनलाई पहिलोपटक लिएर आएका थिए । कोट, पाइन्ट, टाई लगाएको उनीजस्तो नसुहाउने व्यक्ति उसले पहिला अर्को देखेको थिएन । ज्यादै दुब्ला–पातला र अग्ला, मुखको बनोटदेखि लिएर सबै शरीर ख्याउटे । तर, डाक्टर भन्ने परिचय त केही योग्यता नभएको मानिसको हुँदैन । अनि बोलीचाली र व्यवहारचाहिँ सौम्य र भद्र खालको । उनको व्यक्तित्वले लेखकमा पारेको पहिला र अन्तिम छाप त्यही थियो, किनभने त्यसपछि उनीसँगको भेटघाट र क्रियाकलापमा उनको शारीरिक ख्याउटेपनले केही फरक पारेन । उनको कारमाइकल मेडिकल कलेज होस्टलको कोठामा नेपाली कम्युनिस्टहरूको गतिविधि बढेको शंकामा बंगालका पुलिस–सिआइडीहरूबाट चियोचर्चा हुन थालेपछि त्यहाँ रहेका नेकपा, शान्ति समिति तथा प्रगतिशील अध्ययन मण्डलका दस्ताबेजहरू यस लेखकको कोठामा सारिए ।

डा. रायमाझी आफैँले ती कागजपत्र मानिसले नांगै खुट्टा गुडाउने रिक्सामा हालेर ल्याएका थिए । प्रसंगवश, कागजपत्र भएपछि मानिसहरू पनि आउने भए र यसरी ओहोरदोहोरको कारबाही बंगालका गुप्तचरहरूबाट लुक्न सक्ने कुरा थिएन । प्रधान कार्यालय सारिएको केही दिनपछि नै लेखकको कोठामाथि पुलिस धावा भयो । हातहतियार र गोलीगठ्ठा पाउने त कुरा थिएन, तर कुनै उत्तेजनात्मक पुस्तक, पत्रपत्रिकाहरू पनि हात परेन, बंगाली पुलिसलाई । कसैलाई गिरफ्तारी पनि गरिएन । तर, त्यो होस्टलबाट चाहिँ हिक्मतसिंह भण्डारी, मधुसूदन शर्मा तथा लेखकको डेराडन्डा झन्डै उठ्न लागेको थियो । म्यानेजर कम्युनिस्ट समर्थक रहेछन् र त्यस झन्झटबाट बचियो ।

सुट र टाई लगाएका धनी घरकै देखिने डाक्टर कागजपत्र र अरू मालताल सार्ने दिन आफैँ भारी बोकेर आफ्नो पछिपछि लागेका थिए । राजनीतिक छलफलका क्रममा उनको एउटा मन परेको थेगो ‘एभ्रिथिङ विल बी अल राइट कमरेड’ (कमरेड हो, सब कुरा ठीक हुनेछ) हुने गथ्र्यो । उनी मृदुभाषी र धैर्यवान् थिए । साथसाथै व्यंग्य प्रहारलाई पनि सहज लिने गर्थे । तिनताका कलकत्तामा नेपालभित्रबाट र दार्जिलिङ–कालिम्पोङतिरका नेपाली छात्रछात्रा हिमालयन स्टुडेन्ट्स एसोसिएसनका सदस्य हुने गर्थे । प्रत्येक वर्ष त्यहाँको प्रख्यात बोटानिकल गार्डेनमा पिकनिक हुन्थ्यो । पिकनिकमा बढी चल्ताफिर्ता कांगे्रसीसमर्थक छात्रहरूले डा. रायमाझीलाई ‘आर्मचियर पोलिटिसियन’ (बाबुसाहेब राजनेता) भनी व्यंग्य गर्दा पनि उनी आफैँ हाँसेर उडाइदिन्थे ।

त्यसपछि एकैचोटि उनीसँग लेखकको भेट पाटनमा भूमिगत अवस्थामा पार्टीको पहिलो महाधिवेशनको वेला भएको थियो । २०१० सालको त्यतिवेला उनीले पार्टीभित्र गुटबन्दीमा सामेल भएको आरोपमा पोलिटब्युरो सदस्यद्वय तुलसीलाल अमात्य र डिपी अधिकारीमाथि अनुशासनको कारबाहीबाट पर्न आएको गोलमाललाई उही ‘एभ्रिथिङ विल बी अल राइट’ थेगो लिँदै सुल्झाउन सघाएको देखिन्थ्यो ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तामा त्यसको आठौँ महाधिवेशनमा (सन् १९५६ सेप्टेम्बर १५ तारिख) बन्धु प्रतिनिधि पठाउने विषयमा केन्द्रीय समितिको आकस्मिक बैठक बस्यो । जुन समग्र पार्टीका लागि नै घातक साबित भयो । महासचिव मनमोहन अधिकारी प्रतिनिधिमण्डलको नेता चुनिएपछि कार्यबाहक महासचिव नियुक्त गर्नुपर्ने भयो । दुई सदस्यहरूका लागि भएको गोप्य मतदानबाट पुष्पलाल नचुनिएर शम्भुराम श्रेष्ठ तथा कमर शाह चुनिए । यस्तो चिताउनै नसकिने घटनाबाट पुष्पलाललाई धेरै नै आघात पर्यो । उनले पार्टीको कार्यबाहक महासचिवको पद सम्हाल्न सबैको आग्रहलाई पनि अस्वीकार गरिदिए । त्यस उच्च पदका लागि अरू कोही पनि राजी नभएपछि उनैले डा. रायमाझीको नाम प्रस्ताव गरे । त्यस्तो दायित्वपूर्ण पदका लागि आफू योग्य नभएको भनी डा. रायमाझीले धेरै अनुनय–विनय गरे तापनि उनलाई जबरजस्ती कार्यबाहक महासचिव बनाइयो । उनले सो पद पाए, त्यसका लागि एक मात्र जिम्मेवार पुष्पलाल श्रेष्ठ थिए ।

रायमाझी कार्यबाहक महासचिव भएपछि पार्टी प्रधान कार्यालय आफ्नो आर्थिक संकटबाट केही उत्रिन सक्यो । किनभने, रायमाझी आफ्नै निजी स्रोतबाट पार्टीका कतिपय जरुरी खर्च व्यहोरिदिन्थेँ । पार्टीमा उनको कार्यशैली खास प्रभावकारी थिएन । उनी वक्ता पनि प्रखर थिएनन् । तर, जिम्मेवारी प्राप्त भएपछि उनमा कार्यकुशलता बढ्दै आयो । उनले पार्टी प्रधान कार्यालयको काम चलाउन गतिला सहयोगीहरू पनि प्राप्त गरे, जस्तो कि डिपी अधिकारी, कमर शाह, पिबी मल्लहरू । लेखकले २०१४ सालमा केन्द्रीय समिति सदस्य भएर उप–सम्पादकको रूपमा ‘नवयुग’ साप्ताहिकको काम हेर्दा उनीसँग हिमचिम बढ्दै गयो । यसरी गतिला सहयोगी पाउँदा पनि डा. रायमाझी पार्टी संगठन र त्यसको विस्तार गर्नेतर्फ लागेनन्, किनभने उनीमा त्यो क्षमता थिएन । तर, क्रमशः उनले उच्च कोटिका गम्भीर वक्ताको रूपमा आफ्नो विकासचाहिँ गर्दै गए । ताली पाउने भाषण नभएर बौद्धिकताले भरिएको उनको भाषण हुन्थ्यो ।

यसअघि नेकपाले आफू भूमिगत अवस्थामा हुँदा पार्टीको राजनीतिलाई अगाडि बढाउन नेपाल सोसलिस्ट पार्टीको नाममा एउटा स्वतन्त्र राजनीतिक दल बनाउने निर्णय गरेको थियो, जसका अध्यक्ष डा. रायमाझी र महासचिवमा यस लेखक मनोनीत भएका थिए । त्यो सक्रिय हुन नसकेर त्यसै सेलायो ।

लेखक

लेखक दिल्लीमा ‘सोभियत भूमि’ पत्रिकाका काम गर्न गएपछि सन् १९६२ को आधाआधीतिर काठमाडौंबाट एकजना मानिसले उसको अफिसमा आएर एउटा चारकुने सेतो खाम दियो, जो कुनै लेख वा कागजपत्र भएकोले मोटै थियो । उनले ‘डा. रायमाझीले तपार्इंकै हातमा यो दिनु भनेर मलाई काठमाडाैँबाट पठाउनुभएको । सकेसम्म चाँडै रजिस्टरी गरी यो खाम वल्र्ड माक्र्सिस्ट रिभ्युको अफिसमा पठाइदिनोस् रे,’ भने । पञ्चायती शासनकालमा राजनीतिक लेख काठमाडौंबाट पठाउनु खतरापूर्ण भएकाले उसकहाँ पठाइएको रहेछ । त्यो बन्द खामलाई रजिस्टरी गरी चेकोस्लोभाकियाको राजधानी प्रागमा पठाइयो । पछि थाहा पाइयो, त्यस खामभित्र पोलिटब्युरो सदस्य कमर शाहको सहायताबाट डा. रायमाझीले ‘शाहजबाद’ भन्ने उपनामले नेपालमा ०१७ सालको काण्डपछिको राजनीतिक परिस्थितिबारे लेखेको विश्लेषणात्मक लेख रहेछ । स्मरण रहोस्, सो लेख छापिएको केही महिनापछि त्यसको ‘राजावादी चरित्र’को भत्र्सना गर्दै प्रतिवादी लेख रायमाझीकै जिल्ला पार्टी सदस्य महेशमणि दीक्षितले लेखेर वितरण गरे ।

डा. रायमाझी उच्च वर्गीय परिवारका भए पनि चिकित्सकको पेसाले अपेक्षा गर्ने सहृदयी तथा दयालु व्यक्ति थिए । उनकै कारणबाट धेरै पार्टी कमरेडहरूले आफ्नो ज्यानको रक्षा, स्वास्थ्यको उपचार र सन्तानको उच्च अध्ययनको व्यवस्था गर्न सकेका थिए ।

डा. रायमाझीका अनेक दोष होलान्, तर उनीमा एउटा कुरामा चाहिँ अटल निष्ठा थियो । त्यो हो, नेपालमा कम्युनिस्ट पार्टीलाई आफ्नो गन्तव्यमा पुर्याउने एक मात्र बाटो संवैधानिक राजतन्त्रात्मक संसदीय प्रजातन्त्र हो र त्योबाहेक अर्को बाटो छैन भन्ने धारणा । त्यसको परिपालनमा उनीमाथि राजनीतिक निन्दा–लाञ्छना र अभियोगको पहाड नै बजारिए तापनि उनी त्यो बाटोबाट डगेनन् । खुला राजनीतिक परिवेशमा र संसदीय प्रजातन्त्रको अभ्यास सुरू भएको समयमा त्यस्तो धारणा राख्नुलाई अपराध भन्न मिल्दैन । शान्तिपूर्ण वैचारिक संघर्षमा कसैमाथि पनि रोक लगाउन सकिँदैन । त्यस्तो विचारको सफलताको एक मात्र आधार त्यस दलको संगठित शक्ति र आमनिर्वाचनमा त्यसको श्रेष्ठता नै हुने गर्दछ । संक्षिप्तमा भन्नुपर्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिगत रूपमा राजनीति गर्नुभन्दा धेरै समयअघि र डा. बाबुराम भट्टराई पनि संयुक्त जनमोर्चाले पहिलो संसदीय अभ्यासअन्तर्गत संसद्मा ९–९ स्थानको प्रबलताको राजनीतिमा छाउनुभन्दा कता हो कता अघि पनि रायमाझी आफ्नो अडानमै थिए । पछि प्रचण्ड र भट्टराई प्रधानमन्त्री हुँदा पनि उनी त्यही अडानमा थिए ।

डा. रायमाझी २५ वर्षभन्दा बढी समयसम्म आफ्नो समूहको नेपाल कम्युनिस्ट पार्टीको सर्वेसर्वा भएर बसे । पुराना सहकर्मी डिपी अधिकारीका ‘नेपाल कम्युनिस्ट पार्टी र डा. केशरजङ रायमाझीका अवसरवादी राजनीति’ जस्ता व्यक्तिगत पुस्तक भनुँ वा पहिला नै विपक्षी भइसकेकाहरूको निन्दा लाञ्छानाहरू, कतैबाट उनी डगेनन् । यो खुला राजनीतिक गतिविधि निषेध गरिएको पञ्चायती कालखण्ड थियो । त्यसको विरुद्ध यदाकदा जनवर्गीय विरोधको झिल्को निस्किन्थ्यो । तर, कदाचित विद्यार्थी राजनीतिले बाहेक अरूले त्यस क्रुर शासन व्यवस्थामा कुनै असर पार्न सत्तैनथ्यो । यस्तो परिस्थितिमा संगठित राजनीतिक गतिविधिविना शान्तिपूर्ण ढंगले छाडा राजतन्त्रलाई संवैधानिकताभित्र ल्याउने रायमाझी धारणाको न वर्तमान, न त कुनै भविष्य नै थियो । त्यसमाथि पूरै राजनीतिक दलीय व्यवस्था र संसदीय अभ्यास नै उन्मूलन गरी प्रधानमन्त्री तथा राजनीतिक नेताहरू झ्यालखानमा थुनिदा पनि राजालाई संवैधानिक राजतन्त्रको दायरामा ल्याउन सकिन्छ भन्ने महाभूल उनले गरे । उनको भूल एक्लो नभई पूरै कम्युनिस्ट पार्टी नेतृत्वकै भूल थियो, जसका लागि डा. रायमाझी मात्र दोषी ठहरिन सक्तैनन् ।

रायमाझी नडग्नाको एउटा मुख्य कारणचाहिँ अन्तर्राष्ट्रिय परिस्थिति थियो । अर्थात् त्यतिवेलाको सोभियत नेत्तृत्व र चिनियाँ नेतृत्वबीच चलेको शत्रुतापूर्ण राजनीति । अमेरिकी प्रशासनको खुला समर्थन पाएको चिनियाँ चरम उग्रवादी हमलाको सिकार विश्वको प्रत्येक देशको कम्युनिस्ट पार्टी भएको थियो । नेपालमा यस्तो हमलाको प्रतिकार गर्न जस्तोसुकै रूपमा भए पनि एउटा कम्युनिस्ट पार्टी चाहिन्थ्यो, जसको पूर्ति रायमाझीबाट मात्र हुन सक्थ्यो । त्यसैले गर्दा रायमाझी महासचिव भएका पार्टीका ख्यातिप्राप्त पुराना कम्युनिस्ट नेताहरू पनि उनको पछि लाग्न बाध्य भए ।

साथै, यस कालखण्डमा नेपालमा चीनपन्थीय उग्रवादी समूहहरूको राजनीतिक प्रहारविरुद्ध बौद्धिक प्रतिप्रहारको झन्डा रायमाझी दलका सदस्य मदनमणि दीक्षितको ‘समीक्षा’ साप्ताहिकले बुलन्द गरेकै हो । यस अर्थमा उनको साप्ताहिकले एउटा सिंगो राजनीतिक संगठनभन्दा शक्तिशाली ढंगले चिनियाँ प्रचारको हमला थेग्न सकेको थियो । सोभियत संघ र चीनबीच वैचारिक झगडाको मर्म बुझाउन, विश्व शान्ति तथा एसियाली–अफ्रिकाली ऐक्यबद्धता आन्दोलनको समर्थनका लागि यो अत्यन्त आँटिलो सहयोग थियो । नेपालभित्र चलेको कम्युनिस्ट घटकबीचको मल्लयुद्वलाई पञ्चायती प्रशासनबाट खुला छुट दिइनु अनि साथै सोभियत पक्षीय विश्व शान्ति तथा एसियाली–अफ्रिकाली ऐक्यबद्वता गतिविधिहरूमाथि प्रतिबन्ध नलाग्नु र नेपाल तथा सोभियत संघमा जनस्तरमा मैत्री प्रतिनिधिमण्डलको आदान–प्रदान हुनु यस कालखण्डको अर्को अकल्पनीय घटना थिए । तर, राजनीतिक संगठन र गतिविधिविनाको कम्युनिस्ट पार्टीले राजालाई प्रभावित पार्न नै के सक्थ्यो र ? त्यो बरु आफैँ राजा महेन्द्र र राजा वीरेन्द्रबाट प्रयोग हुन पुग्यो भन्नु अत्युक्ति नहोला । यसैकारण रायमाझीमाथि राजावादिताको डाम लाग्न गएको हो । आफ्नो ‘राजावादी’ राजनीतिको औचित्यमा उनले आफूलाई विश्व कम्युनिस्ट आन्दोलनले (?) देशभित्र त्यस्तो नीति पालन गर्दा र पुष्पलाललाई चाहिँ देशबाहिरबाट वामपन्थी राजनीति चलाउन आग्रह गरेको भन्ने मिथ्या कथा आफ्नो संस्मरणमा व्यक्त गर्नुचाहिँ उनको हदैको धृष्टता ठहरिन्छ । तर, पार्टीलाई दरबारनिकट पु¥याउनुमा दक्षिण एसियाली देशमा तत्कालीन सोभियत नीति पनि दोषभागी थियो । दक्षिण एसियाका देशहरूमा कम्युनिस्ट आन्दोलनलाई शीतयुद्धकालीन परिवेशमा अमेरिकी साम्राज्यवादको ‘अतिशीघ्र पराजय’ र ‘समाजवादको विजय’को सपनामा भ्रान्त बनाइएको थियो, जसले गर्दा सोभियत संघको पतनसँगै त्यस नीति लिने सबै कम्युनिस्ट पार्टीहरू धेरथोर नेपालकै हालतमा पुगेका थिए ।

डा. रायमाझीको सबभन्दा ठूलो कमजोरी पार्टी संगठन र विस्तारतर्फ नलाग्नु हो । आफ्नो पार्टी वा जनवर्गीय संगठनबाट राजा र राजतन्त्रमाथि सानोतिनो आलोचना पनि हुन नदिन रायमाझीले कुनै कसर बाँकी राखेनन् । ०३५-३६ सालको ऐतिहासिक संयुक्त विद्यार्थी आन्दोलनमा उनको नेतृत्वअन्तर्गतको नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसनले जुन उल्लेखनीय भूमिका खेल्यो, त्यसलाई रोक्न चाहेर पनि सकेनन् । किनभने, त्यतिवेला फेडरेसनलाई आफ्नो पूर्वलडाकु चरित्र एवं संस्कार र नेतृत्वभित्र रायमाझीसँग विमति राख्ने व्यक्तिहरूको समर्थनले अनुप्रेरित गरेको थियो । तर, रायमाझीले आफ्नो शक्ति र पदको दुरूपयोग गरेर साप्ताहिक ‘समीक्षा’द्वारा त्यस आन्दोलनको कटु आलोचना गर्न लगाए ।

डा. रायमाझी

विष्णुबहादुर मानन्धर, हेमन्तबहादुर बिसी, कृष्णप्रसाद भण्डारीजस्ता खम्बाहरू र नीलाम्बर आचार्य, चन्द्रदेव जोशी, अच्युत भण्डारी तथा गणेश शाहजस्तो सोभियत संघबाट उच्च शिक्षा प्राप्त कम्युनिस्ट बुद्धिजीवीहरूको विरोध सल्बलाएर त्यसले एउटा बेग्लै परिणाम निकाल्नुभन्दा धेरै वर्षअघिदेखि रायमाझीको कुर्सीलाई एउटा धमिराले बिस्तारै–बिस्तारै काट्दै गइरहेको थियो । त्यो धमिरा थियो, महेशमणि दीक्षित । यस अर्थमा अन्ततः कम्युनिस्ट राजनीतिमा रायमाझीको पतनको एउटा प्रमुख कारण दीक्षित नै बनेका थिए ।

०३८ सालमा रायमाझीलाई उनका आफ्नै वृद्ध सहकर्मी विष्णुबहादुर मानन्धरको अगुवाइमा पोलिटब्युरो सदस्यत्रय कृष्णप्रसाद अधिकारी, कृष्ण दाहाल, हेमन्तबहादुर बिसी, केन्द्रीय समिति सदस्य मदन थापा, सीतानन्दन राय आदिले कृष्णप्रसाद भण्डारीलाई पार्टी राष्ट्रिय सम्मेलनको बहुमतद्वारा निष्काशन गरे । यस्तो हुनुमा पनि महेशमणि दीक्षितकै देन रहेको मान्नुपर्छ । यसबापत रायमाझीको तर्फबाट ‘समीक्षा’ साप्ताहिकले मानन्धरदेखि दीक्षितसम्म कसैलाई पनि प्रहार गर्न छाडेन । मानन्धरलाई त्यसले ‘पुष्पलालपछिका पार्टी फोडुवा’ भन्ने लाञ्छना लगायो । यति भन्दाभन्दै पनि यहाँ एउटा तथ्य के उल्लेख हुनैपर्छ भने एउटा कम्युनिस्ट समूहको राजनीतिबाट रायमाझीको अवसानको प्रमुख कारण अफगानिस्तानमा तत्कालीन सोभियत सत्ताको फौजी हस्तक्षेपप्रति उनको नकारात्मक धारणा नै थियो । उनले त्यस हस्तक्षेपको समर्थनमा वक्तव्य दिन मानेनन् ।

नेतृत्वबाट रायमाझीको निष्काशन मतदानद्वारा प्रमाणित भएपछि सोभियत पार्टीको समर्थन स्वतः मानन्धरलाई प्राप्त भयो । तर पनि रायमाझी कमरेड होइन कि मित्रको रूपमा रहिरहे । यता मानन्धर समूह नयाँ शक्ति सञ्चार गर्दै पार्टी संगठन र पञ्चायतविरोधी राजनीतिमा संलग्न हुन थाल्यो । त्यसले आफ्नो विचार व्यक्त गर्न साप्ताहिक ‘माध्यम’ पनि चलायो । फलस्वरूप त्यो समूह ०४२ सालको नेपाली कांग्रेसद्वारा चलाइएको सत्याग्रह आन्दोलनको समर्थनमा सहभागी भयो । त्यसका कतिपय नेताहरू यातनासहित झ्यालखाना थुनिए । उनीहरूमाथि राजद्रोहको आरोप पनि लगाइयो ।

रायमाझीको नेतृत्व कालखण्ड अनेक उपलब्धिहरूका कारण उल्लेखनीय भएको कुरा इन्कार गर्न मिल्दैन । पहिला त ०१४ साल मंसिरमा उनकै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले राजा महेन्द्रको प्रत्यक्ष शासनको समयमा चुनावको तिथि तोक्न लगाउन सर्वोच्च न्यायालयसामु सत्याग्रह गरेको थियो । यस्तो कार्य देशका थुप्रै जिल्लामा सँगसँगै चलाइएको थियो । नेपाली कांग्रेस, नेपाल प्रजापरिषद् तथा राष्ट्रिय कांग्रेस मिलेर बनेको प्रजातान्त्रिक मोर्चाले सोही उद्देश्य लिएर चलाएको भद्र अवज्ञा आन्दोलनलाई मोर्चाबाहिरबाट प्रभावकारी सहयोग बन्न पुगेको थियो । मोर्चा र नेकपाबीच एकताका लागि लगातार कोसिसपछि आन्दोलनलाई निर्देशन दिन एउटा सम्पर्क समिति पनि गठन भएको थियो । त्यसपछि आन्दोलनले संविधानसभाको रूप लेला भन्ने डरले गर्दा राजदरबार संसद्का लागि चुनावको मिति तोक्न बाध्य भएको थियो ।

दोस्रो, नेपाली कांग्रेसले ‘नेपाल पुकार’, ‘दियालो’, ‘कल्पना’ प्रकाशनमार्फत चलाउने गरेको धुवाँदार कम्युनिस्टविरोधी प्रहारको सामना गर्न नेकपाको मुखपत्र ‘नवयुग’ २०१३ सालदेखि २०१७ साल मंसिरसम्म सफल भएको यश पनि पार्टी नेताको रूपमा रायमाझीलाई जान्छ । ‘नवयुग’ले व्यावहारिक रूपमा फुटिसकेको पार्टीको बहुमत अंगलाई सजीव तुल्याइराख्न सघाएको थियो ।

तेस्रो, २०१५ को चुनाव नेकां र नेकपाबीच शत्रुतापूर्ण वातावरणमा सम्पन्न भए तापनि चुनावको परिणामपछि रायमाझी नेतृत्व एकातिर नेकां सरकारले भारत सरकारसँग गरेको असमान गण्डक सम्झौताविरुद्ध संर्घष चलाउन र अर्कोतिर प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालासँग संसदीय राजनीतिअनुकूल कार्यगत सम्बन्ध राख्न सफल भएको थियो । यसैको फलस्वरूप २०१६ सालको फागुन ७ गते टुँडिखेल चौरमा खरीको बोटको मञ्चबाट प्रजातान्त्रिक दिवस समारोहलाई प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र नेकपा महामन्त्री डा. रायमाझीले संयुक्त रूपमा सम्बोधन गरेका थिए । यसमा विडम्बना के थियो भने नेकपाभित्रको अल्पमत समूहको प्रभावमा परेको उत्तर गण्डक प्रान्तीय समिति (काठमाडौं उपत्यका) ले त्यही दिनलाई धोका भनेर विरोध गरेको थियो । २०१७ साल पुस १ गतेको राजा महेन्द्रको दुस्साहसिकताले पूरै संसदीय व्यवस्था भंग गर्नाका साथसाथै रायमाझीको संवैधानिक राजतन्त्रात्मक संसदीय प्रणालीमार्फत शान्तिपूर्ण तवरले समाजवाद स्थापना गर्ने र सत्तारुढ दल नेकांसँग नेकपाको आपसी राजनीतिक सम्बन्ध बढाएर एउटा स्वस्थ प्रजातान्त्रिक संस्कारको विस्तार गर्ने धोकोलाई पनि निमिट्यान्न पारिदियो । राजा महेन्द्र र त्यसपछि वीरेन्द्रको निरंकुश शासनकालमा त्यस्तो सपना देख्नु वा प्रचार गर्नु उनको धृष्टताबाहेक अरू ठान्न सकिन्न । जसबाट एउटा पूरै कम्युनिस्ट जत्था राजावादी भंगालोमा जाकिन पुग्यो ।

रायमाझीको निन्दा गर्दागर्दै पनि उनको मध्यमधारको कम्युनिस्ट राजनीति हाल नेकपा (एमाले) ले चलाइआएको तथ्यचाहिँ यहाँ स्मरणीय छ । चौथो उल्लेखनीय कुरा के भने नेपालको कम्युनिस्ट आन्दोलन भारतको कम्युनिस्ट पार्टीसँग भाइचारा सम्बन्धमा सीमित रहेकोमा त्यसलाई सोभियत पार्टी तथा विश्वको अन्य कम्युनिस्ट पार्टीहरूसँग सम्बन्ध बढाउनुमा पार्टी नेताको रूपमा उनको महत्वपूर्ण योगदान थियो ।

भारतमा बसेर नेपालको राजनीति गर्नु आत्मघातीजस्तै बाटो थियो, जुन पुष्पलाल, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह र विश्वेश्वरप्रसाद कोइरालाको पार्टीमा देखियो । विप्रको उच्च र प्रखर बौद्धिकताले गर्दा उनको पार्टी जीवित रहन सक्यो । पार्टीलाई नेपालमा ल्याउनु बुद्धिमत्तापूर्ण निर्णय थियो, तर त्यसमा जोखिम पनि त्यत्तिकै थियो । पुष्पलालको पार्टी उनको जीवनकालमै छिन्नभिन्न भयो । तर, पञ्चायत उन्मूलनको निम्ति वामपन्थी र प्रजातन्त्रवादीहरूबीच कार्यगत एकताको अनिवार्यताबारे उनको सोच जीवित नै रह्यो । त्यसले अन्ततः आफ्नो प्रभावकारिता सिद्ध पनि गर्यो । रायमाझीले देशभित्र बसेर राजनीति गरे, तर पार्टी सम्हाल्न र नेतृत्व दिन सकेनन् । त्यो रसायनबाट उनी बनेकै थिएनन् । आफूलाई रायमाझीबाट फरक ठान्ने नेताहरूले पनि त्यस भंगालोबाट पार्टीलाई पुनस्र्थापित गर्न सकेनन् । कतिसम्म भने रायमाझी राजावादी नेकपा अरू तीन गुटमा टुक्रियो । सोभियत रुसको समर्थनबाट वञ्चित हुन पुगेपछि रायमाझीलाई पञ्चायती राजतन्त्रले खडा गरेको राजसभामा वा त्यसको स्थायी समितिका सदस्य भएर वा त्यसको सभापति नै बनेर राजाको राजनीतिलाई अघि बढाउन कुनै धक भएन वा अंकुश लागेन ।

उता गोर्वाचोभ नेतृत्वले आफैँ पनि अफगानिस्तान हमलाको दुस्साहसिकताबाट हात झिक्यो । पूर्वी युरोपबाट पूरै सोभियत सेनालाई स्वदेश फिर्ता लग्यो । सोभियत समाजलाई खुलापन र प्रतिस्पर्धी ढंगले रूपान्तरण गर्ने गोर्वाचोभ सुधार योजना आफैँ अनेक कारणले गर्दा विफल हुँदै गएको अवस्थामा बाह्य जगतका कम्युनिस्ट पार्टीहरूको समर्थन निरर्थक हुन गयो । अतः नेपालमा रायमाझीपछिको नेकपा संयुक्त होस् वा नेकपा (बर्मा) गुट होस्, त्यसको उपादेयता रहेन । पछि बर्मा समूहले स्वतः आफू विलीन हुने बुद्धिमानी गर्यो भने नेकपा (संयुक्त)चाहिँ विष्णुबहादुर मानन्धर नेतृत्वबाट स्वेच्छाले हटेपछि माओवादी केन्द्रको छहारीमा सत्ताभोगको राजनीतिमा लाग्न पुग्यो ।

पञ्चायत कालखण्डमा राजनीतिक गतिविधि र छलफल निषेध भएको अवस्थामा पनि टंकप्रसाद आचार्य र सूर्यप्रसाद उपाध्यायकहाँ जस्तो राजनीतिक जमघट आफ्नो घरमा पनि होस् भन्ने चाहना रायमाझी राख्दथे । आचार्य जमघटमा मानिसहरू जोखिम उठाएरै भेला हुन्थे भने उपाध्यायकहाँ धेरैजस्तो राजदरबारको चाहनाअनुसार र भारतीय दूतावासको प्रयोजनका लागि मानिसहरूको उपस्थिति हुन्थ्यो । उनीकहाँ यी दुवै ‘आकर्षण’ थिएनन् । साथै, उनको चाहना एउटा सामन्ती सोख मात्र बन्न पुग्यो । उनी कैयौँ पुस्तादेखि दरबारसँग सम्बन्ध रहेको सम्भ्रान्त परिवारका व्यक्ति थिए । उनको रहनसहनको स्तर र आचारविचारलाई हेर्दा उनी कम्युनिस्टको राजनीति गर्नुपर्ने व्यक्तिमा अपवाद हुन पुग्छन् । त्यसैकारण पञ्चायती कालखण्डमा रायमाझीको वेलावेलाको ‘प्रजातान्त्रिक अभ्यासहरू’ पनि उल्लेखयोग्य छन् ।

टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मी र सूर्यप्रसाद उपाध्यायसँग रायमाझी राजनीतिका मेलजोल गर्न पुग्नुमा र ती नेताहरूले पनि उनलाई विश्वासमा लिई बराबर विशेष राजनीतिक घटनाक्रमको वेला वा मानवअधिकारका प्रश्नमा वक्तव्य जारी गर्नुमा रोचक परिस्थिति सृजना भएको पाइन्थ्यो । ती प्रजातन्त्रवादी नेताहरूसँग रायमाझीको गतिविधि दरबारको अनुमतिविना त हुन सम्भवै थिएन । तर, रायमाझी पार्टीको नेतृत्वमा केही जनसंगठन र सामाजिक संस्थाहरू थोरबहुत क्रियाशील भएका कारण उनी आफ्नै एउटा राजनीतिक हैसियत राख्दथे । ती नेताहरूसँगसँगै उनले जारी गर्ने संयुक्त विज्ञप्तिहरूलाई त्यतिवेलाका अरू प्रकाशनहरूले त्यति साह्रो महत्व दिँदैनथे, तापनि समीक्षा साप्ताहिकले चाहिँ बडेमाको शीर्षकमा पूरैजसो वक्तव्य छापी तीबारे राजनीतिक विश्लेषण गर्दा त्यो प्रकाशन अक्सर प्रशासनको कोपभाजन बन्न पुगी प्रताडनामा पनि पर्दथ्यो ।

यसरी समीक्षाद्वारा पञ्चायत व्यवस्थाप्रति जनअविश्वास बढ्न पुग्थ्यो भने विडम्बनापूर्वक रायमाझीको प्रजातन्त्रवादी छवि विश्वसनीय हुन पुग्थ्यो र त्यसको साथै पार्टीभित्रका उनका विरोधीहरूमाथि उनको नेतृत्वको वजन भारी हुन जान्थ्यो । परन्तु पछि रायमाझीलाई उनका विश्वस्त कमर शाह, कृष्णराज वर्मा र पिबी मल्लले समेत तथा समीक्षाले पनि त्यागिदियो । आफ्नो व्यक्तिगत रूपमा रायमाझी जीवनकालको अन्त्यतिर २०४६ सालको जनआन्दोलनपछिको त्रिपक्षीय संयुक्त सरकारको शिक्षामन्त्री र २०४७ को नेपालको संविधानको एक मस्यौदाकार हुन पुग्छन् । त्यसपछि राजसभा स्थायी समितिका सभापतिको हैसियतले सपरिवार वीरेन्द्र हत्याकाण्डपछि मृत दीपेन्द्र वीरविक्रम शाहलाई नेपालको नयाँ श्री ५ महाराजधिराज घोषित गरेलगतै ज्ञानेन्द्रलाई नयाँ राजा घोषित गर्न पुग्छन् । अनि नेपालमा शाही वंशको शासनकालको अन्त्यपछि राजावादी राजनीतिज्ञको रूपमा रायमाझीको जीवनकाल पनि समाप्त भई नेपालको इतिहासको एउटा अति नाटकीय कालखण्ड समाप्त हुन्छ ।

आखिरमा, डा. केशरजङ रायमाझी नभएको भए नेपालका विभिन्न कम्युनिस्ट समूहहरूले कसको पो लासबाट आफ्नो गुटवादी राजनीति गर्न सक्थे होलान् ? तर, कहिलेकाहीँ यो लेखक यसो सोच्दछ – अनाकर्षक व्यक्तित्वका यी टिंगुरे व्यक्ति यति विघ्न राजनीतिक निन्दा–लाञ्छनाका लागि योग्य थिए त ?

Source : Nayapatrika

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार