साउन २ गते बर्खाकोे मौसम । हिलाम्मे सडकमाथिको गिताङ्ङे सिमसिमे पानी । अखिल नेपाल जनसांस्कृतिक महासंघको आन्तरिक काम सकेर म काठमाडौंदेखि बुटवल फर्कदै थिएँ । गाडीमा गीत बजिरहेको थियो–“उर्लेको बाढी पनि रोकिदिन्छु म त, गुडेको रेल पनि रोकिदिन्छु म त..!” गीतमा शब्द र स्वर कसको थियो थाहा भएन तर गीतमा व्यक्त भावले उद्देलित भइरहेको थिएँ म । कलङ्की चोकमा आइपुग्दा गाडी निक्कैवेर जाममा परयो । गीत सकिएपछि मैले मोवाइल खोली हेर्दा मेरो आँखा पत्रकार ऋषि आजादको फेसवुक स्टाटसमा ठोक्कियो । जहाँ लेखिएको थियो–“विकास केसीप्रति श्रद्धाञ्जली तथा समवेदना !!” अप्रत्यासित समाचारले म असाध्यै स्तब्ध र मर्माहत भएँ । त्यो स्टाटसबाट म पटक्कै सन्तुष्ट भइनँ र श्रद्धाञ्जली शब्द लेख्नतिर मेरा औंलाहरु जानै मानेनन् । तत्काल आजाद सरसंगको मोबाइल कुराकानीमा घटना पुष्टि गर्नुभएपछि म लल्याक लुलुक गलेँ । पीडाले असाध्यै अशान्त र बेचैन भएँ म त्यो दिनभर । जिल्ला शाखा अध्यक्ष देवेन्द्र घिमिरेसंग सम्पर्क गरि तत्काल के गर्ने भन्ने बारेमा कुराकानी गरेँ र केन्द्रीय कार्यालयमा अध्यक्ष मातृका पोखरेललाई घटनाबारे जानकारी गराएँ ।
यात्रामा दिनभर सम्झिनु खोज्छु म–कमरेड विकास केसीसंग मेरो भेट कहिले भयो ? किताबका पन्नाहरु पल्टाएझैं पल्टाउँछु म सम्झनाका विगत पन्नाहरु । मलाई लाग्यो–कमरेड विकास केसीसंगको मेरो चिनजान त्यति लामो होइन, जनआन्दोलनको सेरोफेरोमा संविधान सभाका लागि नागरिक मञ्चले बुटवल ट्राफिक चोकमा गरेको एउटा कार्यक्रममा उहाँलाई पहिलोपटक देखेको घुर्माइलो सम्झना आउँछ मलाई । हाम्रो दोहोरो चिनजान भने धेरै समयपछि मात्रै उहाँहरुको टिमले जनप्रतिवाद साप्ताहिक पत्रिका प्रकाशन गर्न थालेपछि भएको हो । त्यसपछि प्रगतिशील लेखक सङ्घ, साहित्य संगम, बुटवल साहित्य परिषद्, लुम्बिनी वाङ्मय प्रतिष्ठान लगायत विभिन्न साहित्यिक वैचारिक संगठनहरुको कार्यक्रमहरुमा बाक्लिन थालेको हो । प्रगतिशील लेखक सङ्घ, नेपाल रुपन्देही जिल्ला शाखाको छैंठौ जिल्ला सम्मेलनपछि हामी एउटै कमिटीमा रहेर काम गर्न थालेका हौं । त्यसपछि माक्र्सवादी चिन्तक युवराज पन्थीको नेतृत्वमा रहेको माक्र्सवादी विचार मञ्च, नेपालमा संगै रहेर काम ग¥यौं । चिनजान भएको छोटो समयमा नै हाम्रो सहकार्य, सहयात्रा र संसर्गका अनुभूतिहरु यति घनिभूत भए, जसलाई यतिखेर शब्दबिम्बमा उन्न मलाई असाध्यै गाह्रो भइरहेको छ ।
कमरेड विकास केसी राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो । गरिब, दुःखी एवं उत्पीडित वर्गप्रतिको उहाँको निष्ठा र सहानुभूतिले उहाँलाई कम्युनिष्ट आदर्श नजिक पु¥यायो । उहाँको राजनीतिक जीवनको इतिहास अध्ययन गर्दा झण्डै १५ बर्षको सानो उमेरमा नै २०३१ सालमा नेकपा चौम हुँदै २०३६ सालमा नेकपा (मशाल) को रुपन्देही जिल्ला सदस्य हुनुभयो । २०४२ सालदेखि नेकपा (मसाल) को रुपन्देही जिल्ला सेक्रेटरी हुनुभएका कमरेड केसी २०४८ मा उक्त पार्टीबाट विद्रोह गरि विद्रोही मसालको केन्द्रीय सदस्य र २०४९ देखि २०५१ सम्म नेकपा (एकताकेन्द्र) को लुम्बिनी ब्युरो सदस्य हुनुभयो । त्यसपछि महान जनयुद्ध सुरु भएपछि माओवादी कम्युनिष्ट ग्रुप गठन गरि त्यसको महासचिब हुनुभयो । जीवनको अन्तिम समयसम्म आइपुग्दा उहाँ मालेमा अध्ययन केन्द्रको कार्यवाहक अध्यक्ष, प्रगतिशील लेखक सङ्घ, नेपाल रुपन्देही शाखाको उपाध्यक्ष, माक्र्सवादी विचार मञ्च, नेपालका सदस्य र स्वाधिनताका लागि नागरिक मञ्च नेपालको महासचिब हुनुहुन्थ्यो । रुन्देही कम्युनिष्ट आन्दोलनको लामो इतिहास र त्यसको उर्वरभूमि बगैचामा बसेर उहाँले सानै उमेरदेखि राजनीति सुरु गर्नुभयो र त्यो कम्युनिष्ट आदर्श जीवनपर्यन्त रह्यो । प्रारम्भदेखि नै वामपन्थी आन्दोलनमा सम्बद्ध रहँदै आउनु भएका केसीको चिन्तन राजनीतिबाट प्रेरित थियो र समाज रुपान्तरणको माध्यम राजनीतिलाई बनाउनु भएको कुरा उहाँको सांगठनिक क्रियाशीलताबाट स्पष्ट हुन्छ ।

लेखक तरामु
कमरेड विकास केसीको अर्को परिचय कवि व्यक्तित्व हो । उहाँ कविता लेखनप्रति अत्यन्त सचेत र प्रतिबद्ध हुनुहुन्थ्यो । उहाँको आस्था क्रान्तिकारी आन्दोलन, श्रमजीवी एवं उत्पीडित जनता र आमूल परिवर्तनप्रति भएको हुनाले यही आस्था र निष्ठालाई उहाँका कविताले आत्मसात गरेका छन् । कविता शिल्प संरचनामा केही कमजोरी भएपनि उहाँका कविताहरु क्रान्तिकारी भाव र उदात्त चिन्तनले सिंगारिएका छन् । त्यतिमात्रै होइन, उहाँमा माक्र्सवादी दर्शन र कम्युनिष्ट राजनीतिप्रति गहिरो आस्था र चिन्तन भएकै कारण स्पष्ट समय र समाजबोध थियो । उक्त कुरा उहाँको लेखन र सिर्जनाहरुमा प्रतिबिम्बित हुन्थ्यो । उहाँ दलाल पुँजीवादी व्यवस्थाले सिर्जना गरेको विसंगतिका विरुद्ध आजीवन संघर्षरत त रहनु नै भयो, अझ प्रगतिशील आन्दोलनभित्र देखिएका वैचारिक विसंगति र गैरप्रगतिशील चिन्तनका विरुद्ध समेत उहाँ लेखन, सिर्जना वा विचारको माध्यमद्धारा अन्तिमसम्म निरन्तर क्रियाशील रहनुभयो ।
हरेक व्यक्तिले जीवनका विभिन्न आयाम र भोगाइहरुका बीचमा अनेक उतारचढावको सामना गर्दछ । जस्तोसुकै कष्टप्रद जीवनभोगाइका बीचमा पनि संगठन वा साथीहरुसंग खुलेर प्रस्तुत हुनसक्ने उहाँको स्वभाव थियो । मृत्युपछि मान्छेका दोषहरु विर्सने गरिन्छ । विर्सनुपर्छ र गुणको कदर गर्नुपर्छ तर दोषरहित महामानव कसैलाई बनाउनु हुँदैन । कमरेड विकास मान्छे हुनुहुन्थ्यो र उहाँमा केही कमजोरीहरु थिए तर सकरात्मकताका दाँजोमा ती एकदमै नगन्य थिए । उहाँ रुपन्देही प्रगतिशील आन्दोलनको हाम्रो सहयोद्दा हुनुहुन्थ्यो । पूँजीवादी राज्यसत्ताका विरुद्ध उहाँ जीवनपर्यन्त लड्नु नै भयो, अझ प्रगतिशील आन्दोलनभित्रका गैरप्रगतिशील चिन्तन र प्रवृत्तिले पक्षघात भएका ‘प्रगतिशील’ हरुको विरुद्धमा समेत उहाँ दृढतापूर्वक उभिनुहुन्थ्यो ।
उहाँको व्यक्तित्वका विभिन्न आयामहरु रहेका छन् । मूल कुरा उहाँको लेखन, चिन्तन र क्रियाशीलताको प्रमुख आधार माक्र्सवाद रह्यो । अझ मालेमावादी दर्शन सिद्दान्तमा आधारित रह्यो । क्रान्तिकारी पक्षधरता उहाँको लेखनको उद्देश्य थियो । त्यसैले उहाँ सबैको साझा भन्ने कुरा गलत हो । उहाँका चिन्तन र सिर्जनाहरु श्रमजीवी वर्गका जीवन्त सपना हुन् । त्यो सपना जुन मुर्त छ, जनताको रोजीरोटी र दैनन्दिनसँग गाँसिएको छ । मान्छेका आँखाबाट सपना निख्रनुलाई सबैभन्दा भयानक ठान्ने उहाँ सिर्जनालाई समवयी प्रेमका गफ बनाउनेहरूका आदर्श होइनन् । उहाँ सिर्जना मार्फत सामाजिक न्याय र समानताको पक्षमा आन्दोलनरत जनताका सर्जक हुनुहुन्थ्यो । सिर्जनामा सत्ताको किर्तन, सुन्दरीको कायाचर्चा या प्रकृतिको निरपेक्ष सौन्दर्यगान नभेटिनु नै उहाँ साझा सर्जक नहुनुको प्रमाण हो । उनै योद्धालाई यतिखेर रुपन्देहीको प्रगतिशील आन्दोलनले गुमाएको छ ।
प्रलेस रुपन्देहीले साउन ९ गते बुटवलमा श्रद्धाञ्जली सभा गरेर उहाँप्रति सम्मानभाव व्यक्त गरेको छ । सभामा कमरेड विकास केसी नेपाली क्रान्तिप्रति इमान्दार, निस्वार्थ भावना र मालेमावादी दर्शन र निष्ठामा प्रतिबद्ध विश्व सर्वहारा आन्दोलनसंग जोडिएको क्रान्तिकारी योद्धा भएको कुरा राजनीतिक दलका नेता एवं बुद्धिजीवीहरुले गर्नुभएको छ । सभामा प्रगतिशील लेखक सङ्घ, नेपालका पूर्व केन्द्रीय सल्लाहकार एवं माक्र्सवादी चिन्तक दिल साहनी, माक्र्सवादी विचार मञ्च, नेपालका अध्यक्ष युवराज पन्थी, दैनिकपत्रका प्रधानसम्पादक बालकृष्ण चापागाई, राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्च रुपन्देहीका अध्यक्ष पदम कार्की, नेपाल कम्युनिष्ट पार्टीका रुपन्देही इन्चार्ज शरद ओली, नेकपा एमालेका जिल्ला सदस्य देवी वाग्ले, नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष रामप्रसाद बञ्जाडे, नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य प्रेम सुवेदी, मालेमा अध्ययन केन्द्रका प्रवक्ता विनबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका बिमल पोखरेल, प्रलेस रुपन्देही शाखा अध्यक्ष देवेन्द्र घिमिरे, प्रलेस राष्ट्रिय परिषद सदस्य हृदय लेकाली, कालिका उच्च माविका प्राचार्य घनश्याम पाठक, डा. शिव पौड्यालले कमरेड केसीको राजनीतिक जीवनी र योगदानको विषयमा चर्चा गर्नुभयो ।
अन्त्यमा, कमरेड विकास केसीले देखेका सपनाहरु अझै पुरा भएका छैनन् । उहाँका सपनाहरु पुरा गर्ने प्रण गरौं । अलविदा कमरेड विकास केसी !







