डोटीको दिपायलबाट चबराचौतारातर्फ जाँदै गरेको से १ ज ४९१ नम्बरको बेलेरो जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । जसमध्ये ४ को अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी शिवबहादुर सिंहका अनुसार १६ जना यात्रु लिएर हिँडेको जिप बोगटान गाउँपालिका ६ गगुडाघार भन्ने ठाउँमा शुक्रबार राति ११ बजे दुर्घटना भएको हो ।
मृत्यु हुनेमा अधिकांश बोगटान १ का स्थानीय परेका छन् । मृतकमा बोगटानका ३५ वर्षीय विष्णुबहादुर मगर, ५० वर्षीय बुढो घर्ती मगर, ४५ वर्षीय गोरख थापा, ४५ वर्षीय ललिता पुन मगर, ४८ वर्षीय शशिराम पुन मगर, ४० वर्षीय टेकबहादुर पुन मगर, ३० वर्षीय चन्द्रबहादुर घर्ती मगर, ५५ वर्षीय भीमबहादुर घर्तीमगर र जिप चालक शिखर नगरपालिका १ का २८ वर्षीय विष्णु नेगी रहेका छन् ।
डिएसपी सिंहका अनुसार तीन दिनदेखि लगातार पानी परिरहेको र चिप्लो सडक भएका कारण दुर्घटना हुन गएको प्रारम्भिक अनुमान छ ।
मृतक र घाइतेको उपचार उद्धार कार्य जारी छ । उक्त सडक खण्डको तिखातर भन्ने ठाउँमा पहिरो खसेकोले घाइतेलाई अस्पलाल लैजान ढिला भइरहेको डिएसपी सिंहले बताए ।







