सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई झस्क्याउने अभिव्यक्ति दिएका छन् ।

मंगलबार दिउँसो ललितपुरमा आयोजित नेकपा (माओवादी केन्द्र) प्रदेश नं.–३ अन्तर्गतका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुको प्रशिक्षणात्मक बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘माओवादीसँग सहकार्य गर्ने शक्तिले प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमूख मान्नुपर्छ, हिजो आफैले मानेको एजेण्डा फेर्ने नैतिक अधिकार कांग्रेस–एमालेलाई छैन’ प्रचण्डले भने, ‘नेपालमा कम्तिमा पाँच वर्ष स्थीर सरकार चाहिन्छ । स्थीर सरकारले मात्रै आर्थिक समृद्धि हासिल गर्न, राष्ट्रिय एकता बलियो बनाउन र वैदेशिक हस्तक्षेपबाट जोगाउन सक्छ । यसले मात्रै हिमाल, पहाड र तराई–मधेशलाई जोड्न सक्छ, देशलाई एकताको एउटै शुत्रमा बाँध्न सक्छ ।’

‘प्रचण्ड’ले धनीले मात्रै जित्नसक्ने अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् । अहिलेको निर्वाचन प्रणालीले गरीब, उत्पीडितहरुले निर्वाचन जित्न नसक्ने भएकाले निर्वाचन प्रणाली बदल्नुपर्ने बताए ।

प्रचण्डले भने, ‘भर्खरै ६ प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । एउटा गाउँपालिका जित्न ४-५ करोड खर्च भएको छ, यो सामान्य कुरा होइन । बिहान बेलुका छाक टार्न मुस्किल हुनेहरु क्षमता र जनविश्वास भएर पनि निर्वाचन जित्न सक्दैनन् । यो धनीले मात्र जित्ने र प्रतिभा एवं जनसमर्थन भएर पनि गरीबले हार्ने निर्वाचन प्रणाली हो । यसलाई बदल्नुको बिकल्प छैन । पार्टीहरु बीच चुनावमा प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक प्रणालीले मात्र निर्वाचनमा देखिएको आर्थिक अराजकता र बिकृतिलाई रोक्न सक्छ ।’

बैठकमा नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, अग्नि सापकोटा, पम्फा भुसाल, हितमान शाक्य, आहुति, नारायण दाहाल, सूर्य सुवेदी, अञ्जना बिसङ्खे लगायतको उपस्थिति थियो । बैठकमा प्रदेश नं.–३ का १३ जिल्लाका ईन्चार्जहरुले रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार