तेलको मूल्य सोमबार ओरालो लागे पनि नौ साताकै उच्च नजिक कायम भएको छ । गत साताको मजबुत अमेरिकी रोजगारी तथ्यांक र अमेरिकी तेल कुवाको संख्यामा आएको कमीका कारण तेलको मूल्य उच्च कायम भएको हो ।

ब्रेन्ट कच्चा तेलको मूल्यमा ६ सेन्ट अर्थात् ०.११ प्रतिशतले गिरावट आएर प्रतिब्यारेल ५२.३६ डलर कायम भएको छ ।अमेरिकी कच्चा तेलको मूल्यमा पनि ७ सेन्ट अर्थात् ०.१४ प्रतिशतले गिरावट आएर प्रतिब्यारेल ४९.५१ डलर कायम भएको छ । यो गिरावटका बाबजुद मूल्य मे महिनाको अन्त्यदेखिकै उच्च नजिक कायम भएको छ । उक्त समयमा ओपेकले तेलको उत्पादन अर्को मार्चको अन्त्यसम्म प्रतिदिन १८ लाख ब्यारेलले कटौती गर्ने सम्झौता गरेको थियो ।

“अमेरिकी रोजगारी तथ्यांकले अमेरिकामा तेलको माग बढ्ने सकारात्मक संकेत छोडेपछि कच्चा तेलको मूल्यमा राम्रो वृद्धि भएको छ । अमेरिकाको तेल कुवाको संख्यामा आएको कमीले पनि मूल्य बढ्न सहयोग गरेको छ,” एएनजेट बैंकले टिप्पणीमार्फत जनाएको छ ।

अमेरिकी रोजगारदाताले जुलाईमा २ लाख ९ हजारभन्दा बढीको रोजगारी सिर्जना भएको र ज्यालामा पनि वृद्धि भएको प्रक्षेपण अमेरिकी श्रम विभागले गरेको छ । अमेरिकी उत्खननकर्ताले अगस्ट ४ मा एउटा तेल कुवा घटाएका छन् । यो कटौतीसहित अमेरिकामा तेल कुवाको संख्या ७ सय ६५ कायम भएको ऊर्जा सेवा फर्म बेकर हजले जनाएको छ ।

अझै पनि अमेरिकी तेल कुवाको संख्या मेको मध्यदेखि बढ्दो क्रममा छ । जुलाई २८ सम्मको सातामा अमेरिकी तेल उत्पादन प्रतिदिन ९४ लाख ३० हजार ब्यारेल पुगेको छ । यो उत्पादन २०१५ को अगस्टदेखिकै उच्च हो । सीएमसी मार्केट्सका प्रमुख बजार रणनीतिकार माइकल म्याकार्थीले अमेरिकी आपूर्तिमा आउने ठूलो गिरावटले अमेरिकी तेलको मूल्य प्रतिब्यारेल ५० डलरमाथि पुग्न सक्ने बताएका छन् ।

“यो साता अमेरिकाबाट आउने तथ्यांकले वास्तवमै प्रभाव पार्न सक्छ । उच्च मूल्यलाई आधार मान्दै अमेरिकी उत्पादनमा वृद्धि हुन सक्छ,” म्याकार्थीले बताए । यसैबीच जुलाईमा ओपेकको कच्चा तेलको निर्यात प्रतिदिन २ करोड ६१ लाख १० हजारको कीर्तिमानी उच्चमा पुगेको छ । यसको धेरैजसो हिस्सा नाइजेरियाबाट आएको छ ।

ओपेकको कटौतीमा नपर्ने ओपेकको सदस्य लिबीलाई उत्पादन कटौती गर्नु नपर्ने गरी छुट दिइएको छ । ओपेक र गैरओपेकको संयुक्त प्राविधिक टोलीले सोमबार अबुधाबीमा भेटघाट गर्ने र आपूर्ति कटौती सम्झौतामा आबद्ध हुनका लागि मंगलबार छलफल गर्ने कार्यक्रम राखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार