उत्तर कोरियाले पश्चिम प्रशान्त क्षेत्रको गुआमस्थित अमेरिकी रणनीतिक सैन्य आधार वरपर ब्यालिष्टिक क्षेप्यास्त्र प्रहार गर्न काम गरिरहेको बताएको छ।

उत्तर कोरियाको औपचारिक समाचार एजेन्सीले देशका नेता किम जोङ अनले निर्णय गर्ने वित्तिकै जुनसुकै समयमा उक्त कारवाही शुरु हुनसक्ने बताएको छ।
उत्तर कोरियाको औपचारिक समाचार एजेन्सीले भनेको छ- ‘अमेरिकी रणनीतिक बम विमानहरु राखिएको अखडा रहेको गुआम वरपर मध्यमदेखि लामो दूरिको रकेट प्रहार गर्ने योजनामा काम भइरहेको छ।’
संयुक्त राष्ट्र संघले हालै उत्तर कोरियामाथि थप आर्थिक नाकाबन्दी लगाउने प्रस्ताव अनुमोदन गरेको थियो।

प्रशान्त क्षेत्रको गुआमस्थित अमेरिकी सैन्य क्याम्प ।
अमेरिकी मिडियामा उदृत गरिएका गुप्तचर अधिकारीहरुको विश्वास छ- उत्तर कोरियाले उसको ब्यालिष्टिक क्षेप्यास्त्रमा जडान गर्ने मिल्ने आकारको आणविक अंश विकास गरेको छ। यदि पुष्टि भएमा प्योङयाङले अमेरिकामा प्रहार गर्ने क्षमताको आणविक हतियार सोचेको भन्दा द्रूत गतिमा विकास गरिरहेको हुनेछ।
उत्तर कोरियाले जुलाइमा दुईवटा अन्तरमहादेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि यी दुई मुलुकहरुबीच द्वन्द्व चुलिएको छ।
यता ट्रम्पले उत्तर काेरियाले पनि त्यसकाे गतिलाे जबाफ पाउने धम्की दिएका छन् ।
“उत्तर कोरियाले अमेरिकालाई थप धम्की नदिनु राम्रो हो। उनीहरुले त्यसको जवाफ विश्वले अहिलेसम्म नदेखेको भीषण गोलाबारीबाट पाउनेछन्।” मंगलबार ट्रम्पले भनेका छन् ।
तर ट्रम्पको भनाइप्रति अमेरिकामै आशंका व्यक्त भएको छ।







