राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बाँकी मुद्दा विशेष अदालतले हेर्ने गरि उनलाई थुनामुक्त गर्न आदेश दिइएको हो । सर्वोच्च अदालतको पूर्ण इजलासले यस्तो आदेश दिएपछि उनी अब थुनामुक्त भएर मुद्दा लड्न पाउने भएका छन् ।
न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, श्री केदारप्रसाद चालिसे, सारदा प्रसाद घिमिरे, अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई सर्वोच्चले यस अघि अख्तियारको थुनाबाट प्रहरीको हिरासतमा पठाएको थियो ।
शर्मालाई अख्तियारले समातेपछि शर्माकी पत्नीले आफ्ना पतिलाई गैह्र कानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट होलेकी थिइन् ।
शर्मामाथि आयोग मार्फत २१ अर्व भन्दा बढीको कर छुट दिएको आरोप लागेको छ । उनले व्यापारीहरुलाई ९९ प्रतिशत सम्म कर छुट दिएका विवरणहरु सार्वजनिक भएका थिए ।







