माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

शल्यक्रियापछि आराम गरेर बसेका नेता भट्टराईलाई भेट्न अध्यक्ष प्रचण्ड शनिबार दिउँसो टोखास्थित भट्टराईले आराम गरेको निवासमा पुगेका थिए । दुई नेता वीच २ घण्टा लामो छलफलमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको थियो ।
भेटमा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको प्रस्ताव राखेका छन् ।
अध्यक्ष प्रचण्डले पूर्व माओवादी र अग्रगामी धाराहरु बीचको एकतामा जोड दिँदै त्यसका लागि गम्भीर रुपले सोच्न नेता भट्टराईलाई आग्रह गरेका थिए । अध्यक्ष प्रचण्डले देशको जटिल राजनीतिक परिस्थितिलाई विचार गरेर माओवादीहरु एक हुनैपर्ने कुरामा जोड दिँदै सम्पूर्ण राजनीतिक परिस्थितिमा समीक्षा गरेर जान आफूहरु गम्भीर रहेको नेता भट्टराईलाई जानकारी गराएका थिए ।
भेटमा नेता भट्टराईले समग्र विषयमा समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने बताउँदै त्यसका लागि छलफललाई जारी राख्ने प्रस्ताव गरेका थिए । दुई नेताबीच समग्र विषयमा गम्भीर समीक्षा गरेर अगाडि बढ्न छलफललाई जारी राख्ने समझदारी भएको छ ।







