
चीनका उपप्रधानमन्त्री वाङ याङ नेपाल अाउने भएका छन्। याङ पाकिस्तानको ७०औँ स्वतन्त्रता दिवसमा सहभागी भएर वाङ नेपाल आउन लागेका हुन्।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले शनिबार बेइजिङमा उपप्रधानमन्त्री वाङ चार दिने पाकिस्तान र नेपाल भ्रमणका लागि आइतबार इश्लामावाद प्रस्थान गर्ने छन्।
सोमबार पाकिस्तानको स्वतन्त्रता दिवसमा आयोजना गरिने समारोहमा सहभागी भएर उपप्रधानमन्त्री वाङ त्यही दिन काठमाडौं आउने कार्यक्रम रहेको छ। हालैमात्र नयाँ प्रधानमन्त्री चयन भएपछि वाङ पाकिस्तान पुग्ने पहिलो शीर्ष चिनियाँ नेता हुनेछन्।
चीन सरकारमा चार जना उपप्रधानमन्त्रीमध्ये अर्थ मामिला हेर्ने वाङ नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री महराको निमन्त्रणामा नेपाल आउन लागेका हुन्। वाङको उच्चस्तरीय प्रतिनिधि मण्डलमा चीनको परराष्ट्र, अर्थ र वाणिज्य मन्त्रालयका अधिकारीहरू रहने बताइएको छ।
चीनका तत्कालिन प्रधानमन्त्री वेन जियाबाओले पाँच वर्षअघि पाँच घण्टाका लागि नेपाल भ्रमण गरेयता काठमाडौँ आउने वाङ पहिलो शीर्ष नेता हुन्।
सन् २०१३ मा चीनमा नयाँ नेतृत्व आएलगत्तै चीनको मन्त्री परिषद्मा विदेश मामिला हेर्ने स्टेट काउन्सिलर याङ जेइचीले नेपाल भ्रमण गरेका थिए भने भूकम्पपछि काठमाडौँंमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा परराष्ट्र मन्त्री वाङ यी सहभागी भएका थिए।







