डोनाल्ड ट्रम्प प्रशासनको भनाइ छ कि उत्तर कोरियामाथि नियन्त्रण जमाउन सम्पूर्ण विकल्प खुला छन् । यसमा सैन्य कारबाहीका साथसाथै चीनमाथिको दबाबको रणनीति पनि सामेल छ ।

के ट्रम्पको कुनै रणनीति उत्तर कोरियाविरुद्ध काम गरिरहेको छ ? उत्तर कोरियाको सबैभन्दा ठूलो सहयोगी चीनको पनि भनाइ छ कि उसले आणविक कार्यक्रमबाट आफ्नो कदम पछि हटाओस् । तर, यी सम्पूर्ण प्रयासका बाबजुद पनि उत्तर कोरियाले रोक्ने कुनै संकेत गरेको छैन । यस्तोमा उत्तर कोरियाली नेता किम जोङ उनलाई कसरी रोक्न सकिन्छ ?

हालै उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्र संघले नयाँ आर्थिक प्रतिबन्ध लगाएको थियो । यस प्रतिबन्धमाथि चीनले पनि समर्थन गरेको थियो । यद्यपि उत्तर कोरियालाई लिएर चीनसित ट्रम्पको गुनासो अन्त्य भएको छैन । यस विषयमा ट्रम्पले कैयौँपटक चीनसित ट्विटरमार्फत गुनासो गरिसकेका छन् । उत्तर कोरिया र चीनबीच आयात–निर्यात अझै जारी छ ।

ट्रम्पलाई चीनले काम गर्छ भन्ने किन लाग्छ ?

ट्रम्पलाई लाग्छ कि उत्तर कोरियाको समस्या समाधान चीनको सहयोगबाट बडो सजिलो तरिकाबाट सम्भव छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यस विषयलाई लिएर ट्विट पनि गरेका थिए । आखिर ट्रम्पलाई किन लाग्छ यस्तो ? बिबिसीका बेइजिङ संवाददाताको भनाइ छ कि चीनको दक्षिण कोरियासित सम्बन्ध खराब हुनुले उत्तर कोरियासित निकट हुनुको कथा बयान गर्छ । अर्कोतर्फ दक्षिण कोरिया र अमेरिकाबीचको सम्बन्ध निकै गहिरो छ ।

ट्रम्पले भन्नासाथ चीनले उत्तर कोरियालाई लिएर आफ्नो नीतिमा परिवर्तन ल्याउनेछैन । चीन आफैँलाई वैचारिक स्तरमा एकदलीय राज्यका रूपमा असुरक्षित महसुस गर्ने गर्छ । यदि उत्तर कोरियामा कुनै सत्ता परिवर्तन भयो भने यसको असर चीनमा पनि पर्छ । चीन आफ्नो देशका जनताले सत्ताविरुद्ध कुनै आवाज उठाऊन् भन्ने चाहँदैन । त्यसैले चीन उत्तर कोरियामा किम जोङ उनलाई समर्थन गर्छ ।

चीन र उत्तर कोरियाबीचको मित्रता

चीन र उत्तर कोरियाले १९६१ मा पारस्परिक सहयोग सन्धिमाथि हस्ताक्षर गरेका थिए । यस सन्धिमा भनिएको छ कि यदि दुई देशमध्ये कुनै एक देशमाथि आक्रमण भयो भने उनीहरूले तत्काल एक–अर्कालाई सहयोग गर्नेछन् । यसमा सैन्य सहयोग पनि सामेल छ । यस सन्धिमा यो पनि भनिएको छ कि दुवै देश शान्ति र सुरक्षालाई लिएर सतर्क रहनुपर्नेछ ।

केही चिनियाँ विशेषज्ञको विचारअनुसार अहिलेको आणविक कार्यक्रमसँगै अब चीन उत्तर कोरियासितको सन्धिको पक्षमा रहनु हुँदैन । तर, चीन कोरियाली प्रायद्वीपमा उत्तर कोरियालाई आफ्नो हातबाट गुम्न दिन चाहँदैन । चीनलाई लाग्छ कि उनीहरूबीचको सम्बन्धका कारण कोरियाली प्रायद्वीपमा कसैको पनि प्रभुत्व बढ्न सकेको छैन ।

दक्षिण कोरियासित चीनको कूटनीतिक सम्बन्ध २५ वर्षभन्दा लामो समयदेखि छ । तर, सुरक्षाको विषयलाई लिएर भने दुवै देशबीच प्रशस्त दूरी छ । यदि कोरियाली प्रायद्वीपमा कुनै आणविक युद्ध भयो भने त्यो चीनका लागि पनि खतरनाक हुनेछ । यदि चीन एसियाको नेतृत्व गर्न चाहन्छ भने उसले उत्तर कोरियालाई यसरी बेलगाम छोड्न हुँदैन ।

उत्तर कोरियामा चिनियाँ कम्पनीले हतियार आपूर्ति गर्दै आएका छन् । यस्तो स्थितिमा चीनले चाहेको खण्डमा उत्तर कोरियामाथि लगाम कस्न सक्छ । चीन अहिलेसम्म उत्तर कोरियाको हरेक कदममा यही भन्दै आएको थियो कि उसले संयम र शान्तिपूर्वक काम गर्नुपर्छ । यदि चीन उत्तर कोरियामा लगाम कस्न चाहन्छ भने उसले उत्तरबाट तेल निर्यात रोक्न सक्छ र विदेशी मुद्राको सम्झौता पनि रद्द गर्न सक्छ ।

चीनमा सरकारका अधिकारीको बुझाइ छ कि उत्तर कोरियामाथि उनीहरूको देश यथास्थितिको पक्षमा रहनुपर्छ । यसका कैयौँ कारण छन् । यदि किम जोङ उनको शासन समाप्त भयो भने लाखौँ उत्तर कोरियाली नागरिक सीमा पार गरेर चीन आउनेछन् । यदि यस्तो भयो भने चीनमाथि आर्थिक बोझ बढ्नेछ र अव्यवस्था पैदा हुनेछ ।

एक सोच यस्तो पनि छ कि किम जोङ उनको शासन समाप्त भएपछि कोरियाको एकीकरण हुन सक्छ । र, यस्तो हुनु चीनको हितमा हुनेछैन । किनकि, एकीकृत कोरिया अमेरिकाको पक्षमा जानेछ ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी हिन्दी डट कमबाट, नयाँ पत्रिकाबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार