चिनियाँ उपप्रधानमन्त्री वाङ याङ सोमबार साँझ काठमाडौंमा अाइपुगेका छन्। उनी पाकिस्तानबाट आफ्नो नीजि बी ५२७३ विमान चढेर भारतीय आकाश हुँदै काठमाडौं अाएका हुन्।

उपप्रधानमन्त्री वाङ विमानस्थलबाट सोल्टी होटलमा सोमबारदेखि बुधबारसम्म तीन रात बिताउने छन्। वाङका द्विपक्षीय र अन्य प्रमुख भेटवार्ता सोल्टीमै तय गरिएको छ।
उपप्रधानमन्त्री वाङले नेतृत्व गर्ने चिनियाँ प्रतिनिधिमण्डलमा तीन जना सुरक्षा तथा मेडिकल स्टाफ सहित २१ जना छन्। टोलीमा चीनको राज्य परिषद्का उपमहासचिव जियाङ जेलिन, नेनिल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपमन्त्री वाङ सिआओताओ, वाणिज्य मन्त्रालयका उपमन्त्री तथा अन्तर्रा्ष्ट्रिय व्यापारम्बन्धी प्रतिनिधि यु जिआनहुवा समेत छन्।
भ्रमण तालिका अनुसार उपप्रधानमन्त्री वाङ मंगलबार बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म बसन्तपुर दरबार क्षेत्रमा भूकम्पले ध्वस्त भएको काष्ठमण्डपको पुनर्निर्माण शिलान्यास समारोहमा सहभागी हुनेछन्। त्यसपछि काठमाडौंमा उनको औपचारिक भेटवार्ता सुरु हुनेछ।
मंगलबार साढे ११ बजेदेखि साढे १२ बजेसम्मको एक घण्टा चिनियाँ उपप्रधानमन्त्री वाङले नेपालका समकक्षी विजय कुमार गच्छदारसँग होटल सोल्टीमै भेटवार्ता गर्ने कार्यक्रम छ। लगत्तै उपप्रधानमन्त्री वाङ तथा उपप्रधानमन्त्रीद्वय गच्छदार र कृष्णबहादुर महराको उपस्थितिमा नेपाल र चीनबीच एक सम्झौतामा हस्ताक्षर हुनेछ। वाङको सम्मानमा समकक्षी गच्छदारले दिउँसो १ बजे दिवाभोजको आयोजना गर्नेछन्।
मंगलबार दिउँसो ३ बजेबाट पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वाङबीच होटल सोल्टीमा ४० मिनेट भेटवार्ता हुनेछ। त्यसलगत्तै ४ बजेबाट अर्का पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ४० मिनेट भेटवार्ता तय गरिएको छ।
वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार अपरान्ह भेटवार्ता गर्ने कार्यतालिका निर्धारण गरिएको छ। बुधबार दिउँसो ३ बजेदेखि पौने ४ बजेसम्म प्रधानमन्त्री देउवा र वाङबीच ४५ मिनेट प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता हुनेछ। त्यसैगरी राष्ट्रपति भण्डारीसँग ४ बजेदेखि पौने ५ बजेसम्म ४५ मिनेट भेटवार्ताको समय छुट्टाइएको छ।
प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्नुअघि वाङ बुधबार बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म किर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुनेछन्। सो कार्यक्रममा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले वाङलाई स्वागत गर्दै केन्द्रको बारेमा जानकारी गराउने कार्यतालिका छ। बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म वाङ र नेपालका उद्योग–व्यावसायीबीच १ घण्टा नेपालमा चिनियाँ लगानीको सम्भावनाबारे छलफल हुने कार्यक्रम छ।
बुधबार साँझ ५ बजे देखि साढे ५ बजेसम्म वाङ चिनियाँ दूतवासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्। बिहिबार बिहान ८ बजे चिनियाँ विशेष विमानबाट उपप्रधानमन्त्री वाङ बेइजिङ फर्कने छन्।







