उत्तर कोरियाले प्रशान्त क्षेत्रमा अवस्थित अमेरिकी भूभाग गुआममा क्षेप्यास्त्र हमला गर्ने योजनाबारे थप छलफल गरेको छ ।

प्योङयाङको सरकारी समाचार संस्था केसीएनएले सशस्त्र फौजहरु तम्त्यार अवस्थामा रहेको पनि उल्लेख गरेको छ। तर उसले अमेरिकी गतिविधिहरु हेरेर मात्रै राष्ट्रपति किम जोङ उनले क्षेप्यास्त्र हमलाको आदेश दिने बताएको छ।

यसअघि अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाको कुनै पनि हमलाले तत्कालै युद्धको स्वरुप ग्रहण गर्ने चेतावनी दिएका थिए।

प्योङयाङले मध्य अगष्टको समयसीमा भित्र गुआममा आक्रमण गर्ने योजना तयार गरी त्यसलाई आफ्ना नेता किम जोङ-उनसमक्ष प्रस्तुत गर्ने निर्णयको पालना गरेको देखिन्छ।

अझ केही समय अमेरिकी गतिविधिको निगरानी गरेर मात्रै गुआममा हमला गर्ने आदेश दिने निर्णय भएको उक्त समाचारमा उल्लेख छ।

अघिल्लो हप्ता उत्तर कोरियाविरुद्ध राष्ट्रपति डोनल्ड ट्रम्पले कडा अभिव्यक्ति दिएपछि अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अवस्थालाई सामान्य बनाउने प्रयास गरिरहेका थिए।

तर सोमबार उनले प्योङयाङले अमेरिकामाथि आक्रमण गरे युद्ध सुरु हुने चेतावनी दिएका छन्।

अघिल्लो साता ट्रम्पले अमेरिकालाई धम्की दिइरहे त्यसको जवाफ उत्तर कोरियाले ‘विश्वले अहिलेसम्म नदेखेको भीषण गोलाबारीबाट पाउने’ चेतावनी दिएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार