मधेश मुक्तिको दुहाई दिने एक मधेशी नेताले मधेशमा आएको बाढीबाट पीडितहरुलाई आफुहरु जिम्मेबार नरहेको अभिव्यक्ति दिएका छन् ।
राजपा नेता राजकिशोर यादवले यस्तो गैरजिम्मेबारपूर्ण अ्भिव्यक्ति दिएका हुन् ।
एक अनलाइन पत्रिकासँग कुराकानी गर्दै यादवले बाढीमा परेर डुबानमा रहेका बस्तीमा आफुहरु जानुको कुनै अर्थ नरहेको बताएका छन् ।
हेरौं बाँकी उनका कुराकानीका अंशरु :

तपाँइ त काठमाडौमा नै हुनुहुदो रहेछ हैन ? तराईमा त्यस्तो डुवान छ जानु पर्दैन ?
तराई सबै जलमग्न छ । कतैबाट गाडी जान सक्दैन । प्लेन पनि बस्न नसकेको अवस्था छ । अनि कसरी जानु तराई ? भनेर मात्र हुँदैन । हामी सबै जान आतुर छौं । तर जान सकिरहेको छैनौं । तराईमा जाने अवस्था नै छैन । तराईमा हामी एक ब्यक्ति या दलले गएरर हुने कुरा पनि होइन । त्यो राज्यले गर्ने कुरा हो ।
त्यसो भए कहिले जाने भन्ने योजना पनि छैन ?
आज पनि हाम्रो यहि बिषयमा छलफल छ । हामी आज भोलि नै जाने तयारी गरिरहेका छौं, हेरांै के हुन्छ । अहिले संविधान संशोधनको विषय नै थाती राखेर हाम्रो ध्यान थ्यता केन्द्रित भएको छ । भरर्खरै पनि सरकारलाई तराई तिर ध्यान दिन राजपाले ज्ञापन पत्र बुझाएको छ ।
यस्तो बेलामा ज्ञापनपत्र बुझाएर पन्छिन पाइन्छ ? उद्धार र राहतमा अरु सबै गइरहेका छन्, तपाईंहरु जानु पर्दैन ?
हामी एकदुई दल वा ब्यक्ति गएर त्यो बाढीमा के राहत हुन्छ ? राज्य नै उदासीन छ । राज्यकै निकायले तराईलाई हेर्ने नजरिया फरक भएपछि यस्तै हो । हामी त त्यसै हेलिकोप्टर बेगर त्यहाँ जान सक्ने अवस्था छैन । यस्तो बेला नेता गएर केही हुन्न ।
अहिले कति दलका र संघ सस्थाका कार्यकर्ता तराई गएका छन्, तपाईंहरुलाई मात्रै बाटोले कसरी रोक्यो ?
हाम्रो पनि स्थानीय स्तरका नेता कार्यकर्ता हुनुहुन्छ । हामी नै जानु पर्छ भन्ने छैन । त्यहाँ जनतालाई डुवानबाट उद्धार गर्नलाई त पौडन सक्ने गोताखोरहरु राज्यले खटाउनु पर्छ । यस्तो बेलामा मिडियाले पनि यस्ता प्रश्न गर्ने नै होइन । हामी जे सक्छौ त्यही गर्ने हो । हामीले सक्ने काम गरेकै छौं । डुवानमा परेका जनताको उद्धार राज्यले गर्नु पर्छ ।
तराई त अहिले मात्र हैन हरेक बर्ष डुवानमा पर्छ यसको समस्या त भारतले सीमानामा बनाएका बाँध होइन र ? यस विषयमा तपाईंहरु किन नबोलेको ?
यस्ता विषय हामीले उठाउने होइन । यो राज्य राज्यको विषय हो । यसमा राज्य बोल्नु पर्छ । हामीले बोलेर केही हुन्न । यसको कुटनीतिक पहलको लागि राज्यले कुरा लिएर जानु पर्छ । चुरेको बालुवा बेचेको कस्ले हो ? राज्यले होइन ? अनि हामीसँग किन प्रश्न गर्नुहुन्छ तपाईं ?
तराईलाई डुवानबाट बचाउन तपाईंहरुका दीर्घकालीन योजना के छन् ?
त्यो हाम्रो कुरा होइन । त्यो राज्यले गर्नु पर्ने काम हो । तराईलाई यसरी डुबाएको राज्यको गैर जिम्मेवार ब्यवहारले हो । स्रोत हामीसँग छ र थोडी ? राज्यसँग स्रोत भएपछि उसले बचाउनु पर्यो नि ।
तपाईं त्यहाँको नेता हो, तराई मधेसको लागि हामी नै नेता हौं भन्नुहुन्छ, तपाईंहरुको पनि केही जिम्मेवारी हुँदैन ?
तपाईंहरु पूर्वाग्रही प्रश्न नसोध्नुस् । संविधान संशोधन गर्ने कुरा त्यहाँका जनताको माग हो हामीले त्यो बोलेकै छौं । बाढी आएपछि त राज्यले काम गर्नु पर्यो नि । पूर्वाग्रही हिसावले प्रश्न नगर्नुस् ।







