चीनले अमेरिकासँग जारी सम्वन्धलाई भत्काउने चेतावनी दिएको छ ।

अमेरिकाले चीनले आफ्नो देशबाट बौद्धिक सामाग्री चोरेको आरोप लगाएपछि चीनले यस्तो चेतावनी दिएको हो ।

चीनको वाणिज्य मन्त्रालयले वक्तव्य जारी गर्दै यसबारे गम्भीर चासो व्यक्त गरेको छ र यसले पक्कै पनि दुई देशको व्यापारिक सम्बन्धलाई असर गर्ने चेतावनी दिएको छ।

चीनको सरकारी सञ्चारमाध्यमले पनि यो कदमको आलोचना गरेका छन्। चाइना डेली समाचारपत्रमा प्रकाशित एक सम्पादकीयमा ट्रम्प प्रशासनलाई फरक बाटो समात्न आह्वान गरेको छ।

चीनले अमेरिकी बौद्धिक सम्पत्तिहरुको बेइजिङबाट भएको भनिएको चोरीबारे समीक्षा गर्न अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको आदेशले दुई देशबीचको सम्बन्धमा असर गर्ने बताएको छ।

अमेरिकी कदमले विवादहरु सुल्झाउने बहुपक्षीय पहुँचमा आधारित विश्व व्यापार संगठनका नियमहरुको मर्मको उल्लंघन हुने चीनले बताएको छ। अमेरिकी कम्पनीहरुलाई चीनका स्थानीय साझेदारहरुसँग व्यवसायिक साझेदारी गर्न बाध्य बनाएर बेइजिङले अमेरिकी बौद्धिक सम्पत्ति चोरी गर्ने गरेको आरोप अमेरिकाले लामो समयदेखि लगाउँदै आएको छ।

चीनसँगको अमेरिकाको ठूलो व्यापार घाटाविरुद्ध ट्रम्प लामो समयदेखि प्रस्तुत हुँदै आएका छन्। गत वर्ष दुई देशबीच ६४८ अर्ब अमेरिकी डलर बराबरको व्यापार भएको थियो र अमेरिकाले झण्डै ३१० अर्ब डलरको व्यापार घाटा बेहोर्नुपर्‍यो। अमेरिकी तर्क अनुसार घाटा हुनुका केही कारणमा अमेरिकी उत्पादनहरु र सोचहरु चिनियाँ कम्पनीहरुले नक्कल गर्नु, अमेरिकामा कम मूल्यमा बेचिनु वा चिनियाँ बजार अमेरिकी उत्पादनहरुलाई पाउन मुश्किल बनाइनु रहेका छन्।

चिनियाँ बजार छिर्न स्थानीय साझेदारहरु चाहिने वा बौद्धिक सम्पत्तिको खुलासा गर्नुपर्ने नियमहरुका कारण अमेरिकी कम्पनीहरु विशेषरुपमा दुःखी छन्। अमेरिकी बौद्धिक सम्पत्ति चोरीसम्बन्धी आयोगले नक्कल गरिएका सामानहरु, चोरी गरिएका सफ्टवेयर र व्यापार रहस्यहरुको चोरीको कारण वार्षिक रुपमा २२५ देखि ६०० अर्ब अमेरिकी डलर बराबरको घाटा अमेरिकी अर्थतन्त्रमा हुने गरेको आकलन गरेको छ।

बौद्धिक सम्पत्तिको उल्लंघन गर्नेमा चीन संसारमै अग्रणी भएको आरोप लाग्ने गरेको छ र अमेरिका भित्रिने नक्कली सामानहरुमध्ये ८७ प्रतिशत ‌चीनले बनाउने गरेको उक्त आयोगले बताएको छ।

सन् २०१५ को नोभेम्बरमा राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालयका अनुसार ह्याकिङमार्फत हुने आर्थिक गुप्तचरीको खर्च एक वर्षमा ४०० अर्ब डलर लाग्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार