लामो समयदेखि विवादित भूमि डोक्लामलाई लिएर चीन र भारत प्रत्यक्ष भिडन्तमा उत्रिएका छन् ।

पश्चिमी हिमाली क्षेत्रस्थित एक विवादित सीमा भूभागमा भारतीय र चिनियाँ सेनाको मूठभेड भएको भारतीय अधिकारीहरुले बताएका छन्।
भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया पीटिआईका अनुसार लद्दाखस्थित पांगोग ताल नजिकैको भारतीय भूभागनिर चिनियाँ सैनिकहरु छिर्ने कोशिश गरेपछि दुवै देशका सेना मुठभेडमा उत्रिएका हुन् । हताहत कति भन्नेबारे खबर प्राप्त हुन नसकेको समाचारमा जनाइएको छ ।
चीन, भारत र भूटानको त्रिदेशीय सीमामा पर्ने डोक्लामलाई लिएर भारत र चीन टकरावको स्थितिमा छन्।
भारतीय सैन्य अधिकारीहरुलाई उद्भृत गर्दै पीटिआईले भनेको छ – पछिल्लो पटकको मूठभेडमा भारतले दाबी गरेका भूभागहरु र लद्दाख नजिकको क्षेत्रमा चिनियाँ सैनिकहरुलाई जबर्जस्ती प्रवेश गर्नबाट रोक्न भारतीय सैनिकहरुले मानव साङ्लो बनाउनु परेको थियो।
सन् १९६२ मा भारत र चीनले सीमा विवादका कारण युद्ध लडेका थिए र कैयौ स्थानका विवाद सुल्झिन अझै बाँकी छन् जसका कारण समयसमयमा तनावहरु उत्पन्न भइरहेका छन्।







