
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रचण्डले नेपाली क्रान्तिलाई दिएको धोका र गद्धारीको बदला लिनु पर्ने बताएका छन् ।
वैद्यले राजधानीमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रले सहिदको नाम लिएर ब्याज खाने काम मात्र गरेको भन्दै त्यसका विरुद्ध सशक्त रुपमा प्रतिवाद गर्नुपर्ने बताए ।
“अब राजनैतिक तथा फौजी कार्यदिशा ठोस गरेर जान हामी पार्टीको राष्ट्रिय सम्मेलनमा जुटेका छौं, क्रान्तिको प्रक्रियामा देखिएका अवसरवादी र गद्दारहरुसँग क्रान्तिकारीहरुले बदला लिनु पर्दछ ।” वैद्यले कार्यक्रममा भने,- ”हामीले सँगै जनयुद्ध लडेका हौं, हामी मरेका छैनौं । प्रतिक्रियावादी र अवसरवादीहरुका विरुद्ध संघर्ष गर्दै फेरि क्रान्तिको झण्डा उठाउने प्रण गर्दै आएका छौं ।”
प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलगायतका दक्षिणपन्थी संशोधनवादी तथा अवसरवादीहरुले क्रान्तिकारी पार्टीहरुलाई सिध्याउन कसरत गरिरहेको भन्दै उनले भने- “प्रतिक्रियावादी कम र दक्षिणपन्थी अग्र भागमा रहेर हामीलाई सिध्याउन लागिपरेका छन् ।”







