
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दको नेतृत्वमा चितवन मेडिकल कलेजका विद्यार्थीहरुले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर संचालन गरिरहेका छन् ।
कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी चितवन मेडिकल कलेजको नेतृत्व समेत रहेका प्रकाश चन्दको नेतृत्वमा गएको १६ जना विद्यार्थीको टोलीले सप्तरीका विभिन्न ठाउँमा राहत वितरणका साथै पीडितहरुको स्वास्थ्य परीक्षणसमेत गरिरहेको छ ।
चितवनका औषधि पसल, ब्यापारी र इच्छुक दाताहरुबाट संकलन गरेको राहत बाँड्नका लागि उनीहरु सप्तरीको रामपुरा नगरपालिकामा पुगेका हुन्।
‘हामीले रामपुरा नगरपालिकाका ८०० जनालाई उपचार गर्ने लक्ष्य लिएर यहाँ आइपुगेका छौं, आजैमात्र ३०० जनाको उपचार गर्यौँ’, चन्दले भने,‘यहाँका पीडितहरुमा जिउ दुख्ने, ब्लड प्रेसर लो हुने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, पेट दुख्ने जस्ता समस्या देखिएका छन्।’
चन्दले विस्तारै भाइरल ज्वरो र डायरियाको समस्या बाढी पीडितहरुमा देखिएको बताए। विद्यार्थीहरुले उक्त गाउँका पीडित मध्येपनि दलित र अपांगलाई विशेष प्राथमिकता दिएर आफुहरुले राहत वितरण गरेको बताएका छन्।
उनीहरुले बाढी प्रभावित सप्तरीका गाउँहरुमा अझै केहिदिन शिविर सञ्चालन गरिने जानकारी दिएका छन्।

विप्लव पुत्र प्रकाश

विप्लव पुत्र प्रकाश
