भारतका सत्तारुढ र विपक्षी दलहरुले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीच विश्वासको बातावरण बनाउन सफल भएको भन्दै भ्रमण फलदायी भएको टिप्पणी गरेका छन् ।

पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै गृहमन्त्री राजनाथ सिंहले नेपालका प्रधानमन्त्री देउवाको भ्रमणले दुई देशबीच विश्वासको बातावरण बनाएको भन्दै भ्रमण सफल भएको निष्कर्ष आफूहरुले निकालेको बताए ।
उनले नेपालको लोकतन्त्रलाई संस्थागत गर्ने उद्देश्यसहित हुन लागेका निर्वाचन तोकिएकै समयमा सफलता पूर्वक सम्पन्न होस भन्ने भारतको चाहना रहेको सुनाउँदै निर्वाचन सफलता पूर्वक सम्पन्न गराउन नेपाल सरकारले चाहेको सबै खाले सहयोग गर्न भारत तयार रहेको बताए ।
सत्तारुढ भारतीय जनता पार्टीका बरिष्ठ नेता मुरलीमोहन जोसीले नेपालका प्रधानमन्त्रीको जारी भ्रमणले नेपाल र भारत सम्बन्धमा नयाँ आयाम थपेको भन्दै भ्रमणले दुई देशबीच विश्वासको बातावरण बनाउँदै सुखद सन्देश दिएको बताए ।
उनले नेपालको आर्थिक विकाससहित स्थायीत्वको लागि भारतको सक्दो सहयोग रहने विश्वास ब्यक्त गर्दै नेपालमा आएको बाढी डुबानबाट भारत चिन्तित रहेकोले यसको दिर्घकालिन समाधानको लागि भारतको सहयोग सधै रहने प्रतिबद्धता ब्यक्त गरे ।
यातायात मन्त्री नितिन गडगडीले नेपालको सडक विस्तार र रेलमार्ग निर्माणमा भारतको सहयोग रहने बताउँदै पूर्वाधार विकासमा भारत सहयोग गर्न तयार रहेको बताए । उनले भने– नेपालीले रेल चढन पाउनु पर्छ । काठमाडौसम्म दिल्लीबाट रेल पुगोस भन्ने हामी चाहन्छौ । हुलाकी राजमार्ग पनि बेलैमा निर्माण सम्पन्न हुन्छ ।
कांग्रेस आईका नेता गुलाम अली नवाजले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्धमा सकारात्मक बातावरण बनाएको भन्दै आफूहरु नेपालको संविधान कार्यान्वयन भएर तोकिएकै मितिमा सबै निर्वाचन सम्पन्न भएर लोकतन्त्र समृद्ध होस भन्ने चाहना ब्यक्त गरे ।







