देउवाले कांग्रेसको कमान्ड सम्हालेको डेढ वर्ष भएको छ । छोटो अवधिमै कोइराला परिवारका शशांक, शेखर र सुजाता देउवाप्रति असन्तुष्ट बनेका छन् । सामान्य अवस्थामा एक–अर्काकोमा सँगै नजाने, नबस्ने र खानासमेत नखाने गरेका उनीहरूले ४ साउनमा संयुक्त बैठक गरे ।

महामन्त्री शशांकको टोखास्थित घरमा बिहानको खानासहितको छलफलपछि उनीहरूले सामूहिक तस्बिर सामाजिक सञ्जालबाट बाहिर ल्याए । छलफल देउवाको डेढवर्षे नेतृत्वबारे समीक्षा र १४औँ महाधिवेशनमा कसरी जाने भन्ने पारिवारिक सल्लाहमा केन्द्रित थियो । आगामी महाधिवेशनको नेतृत्वसम्मको खुला कुराकानी नभए पनि कोइराला परिवारले आफूहरू एकजुट भएको स्पष्ट सन्देश भने दिएको थियो ।

‘संविधान संशोधनलाई अहिले फ्लोरमा लगेर टुंग्याइयो । तर, तीन–चार महिनाअघि नै किन यो प्रक्रिया अपनाइएन ? कांग्रेस कमजोर हुन थालेको आभास भएको छ । हरेक विषयमा ढिलाइ गर्दै जाँदा राम्रो हुन्न,’ डा. शशांकले नयाँ पत्रिकासँग भने, ‘हामीले राम्रा काम पनि गरेका छौँ । तर, राम्रा काम जनतामा लान सकेनौँ । केही नराम्रा काम ग¥यौँ । यसको नजिता निर्वाचनमा भोग्यौँ । डिआइजी प्रकरण, महाअभियोग प्रकरण, राजदूतका विषयमा पार्टीको पोजिसनले राम्रो सन्देश गएन । प्रजातन्त्रलाई बलियो बनाउने कुरामा हामीले ध्यान दिएनौँ । यसैले हामी कांग्रेसलाई बलियो बनाउनुपर्छ भन्दै एकजुट भएका हौँ । यसमा सबैको साथ चाहिन्छ ।’

नयाँ पत्रिकामा अाज छापिएकाे समाचारअनुसार देउवाको पार्टी सञ्चालनप्रति महामन्त्री शशांक र सुजाताले खुलेर विरोध गरेका छैनन् । तर, शेखरले विधि, प्रक्रिया र पद्धतिको विषय उठाउँदै आएका छन् । काम गर्ने शैली र कुनै पनि विषयलाई अड्काएर राख्न हुँदैन भन्ने विषयमा सभापति देउवा र महामन्त्री शशांकको बुझाइ उस्तैउस्तै रहेको पाइन्छ । तर, पार्टीमा पकड जमाउने विषयमा भने यी दुईबीच आ–आफ्नै प्रतिस्पर्धा छ ।

फेरि संयुक्त भेटघाट

यसअघि विकसित घटनाक्रममा कोइराला परिवारका तीन नेताले संयुक्त रूपमा चासो राख्ने गरेका थिएनन् । तर, शुक्रबार शशांकको महाराजगन्जस्थित निवासमा पत्रकार महासंघको नवनिर्वाचित टोलीलाई सम्मान गर्ने कार्यक्रममा तीनैजना उपस्थित भए । पत्रकारलाई सम्मानको साथै केही राजनीतिक विषयमा कुराकानी गर्ने तयारीमा कोइरालाहरू थिए । तर, अर्को पक्षका नेता–कार्यकर्ताको बाक्लो भिड बढेपछि उनीहरूले राजनीतिक विषयमा कुराकानी गरेनन् ।

‘यसअघिजस्तै अहिले पनि एक रहेको र पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा बोल्ने तयारी उहाँहरूको थियो,’ कोइरालानिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘तर, अर्को पक्षका नेता–कार्यकर्ताको समेत बाक्लो उपस्थिति भएपछि उहाँहरूले राजनीतिक कुरा बाहिर ल्याउनुभएन ।’ पत्रकार सम्मानको कार्यक्रमअघि १५ मिनेटजति सामूहिक कुराकानी गरेका उनीहरूले मिडियासँग राजनीतिक कुराकानी गरेनन् । महामन्त्री शशांकले ‘लोकतन्त्रलाई संस्थागत गर्न प्रेसको भूमिका महŒवपूर्ण हुन्छ’ भनेर भाषण सकाए । तर, शेखर र सुजाताले केही बोलेनन् । तीन कोइरालाले पत्रकार भेटघाट गर्ने कार्यक्रम राखेको जानकारी पाएपछि देउवा पक्षका नेता डा. प्रकाशशरण महत शशांकका स्वकीय सचिव भरत तिवारीलाई फोन गर्दै कार्यक्रमस्थल पुगेका थिए ।

निरन्तर छलफल गर्ने
शुक्रबार आफ्ना कुरा बाहिर ल्याउन नपाएका यी तीन नेता एक हप्ताभित्रै पुनः छलफल गर्ने तयारीमा छन् । ‘उहाँहरूले शुक्रबार केही बोल्नुभएन । तर, एक हप्ताभित्रै फेरि छलफल गर्ने तयारी गर्नुभएको छ,’ शशांकका स्वकीय सचिव तिवारीले नयाँ पत्रिकासँग भने ।

मुख्यगरी प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा भारत जाँदा आठौँ वरीयतामा रहेका विमलेन्द्र निधिलाई कार्यबाहक सभापति बनाएकोप्रति पौडेल पक्ष र कोइरालाहरू असन्तुष्ट छन् । विधानतः उपसभापतिलाई कार्यबाहक सभापति बनाउनुपर्ने हुन्छ । तर, उपसभापति नहुँदा भएका पदाधिकारीलाई पनि बेवास्ता गरेको र छलफल पनि नगरेको असन्तुष्ट पक्षको तर्क छ ।

पार्टीमा राम्रो पकड भएका कारण निधिलाई उपसभापति मनोनीत गर्नबाट रोक्न सक्ने सामथ्र्य कोइराला परिवारमा पनि छैन । तर, आफ्नो पक्षको मत संरक्षण गर्दै एक भएर जाने र १४औँ महाधिवेशनसम्म तीनमध्ये एकले पार्टी नेतृत्वमा दाबेदारी दिने रणनीतिमा कोइरालाहरू लागेको निकट स्रोतहरू बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार