युद्धका दिनमा जनार्दन शर्मा ‘प्रभाकर’ सित खासखास कुरामा मेरो त्यति पटरी खाएन । उनी गाउँका बुद्धिजीवीबाट माओवादी जनसेनाको कमान्डर बनेका थिए र म सहरी बु्द्धिजीवीबाट सांस्कृतिक मोर्चाको कमान्डर बनेको थिएँ ।

उनी जनयुद्धसित गाँसिएको एउटा विशेष जिल्ला रुकुमका बासिन्दा थिए, म अङ्ग्रेज साम्राज्यवादलाई अल्लो, सिस्नु र अरिङ्गालको समेत सहयोग लिएर परास्त गर्न सक्षम सिन्धुली जिल्लामा जन्मेर हुर्केको निम्नमध्यम वर्गको पात्र थिएँ । तर यति मात्रै हामीबीच पटरी नखाने आधार थिएन । पटरी नखानुको कारण  सांस्कृतिक आन्दोलनसम्बन्धी हेराइ र बुझाइमा रहेको भिन्नता थियो । सांस्कृतिक आन्दोलनका सम्बन्धमा उनमा रहेको यान्त्रिकतापूर्ण चिन्तन नै हामी बीचको भिन्नताको मूल कारण थियो ।

मैले यसका बारेमा सलाम रोल्पा पुस्तकमा प्रस्ट पारेको छु ।

एउटा कुरा  चाहिँ उनको  विशिष्ट पक्ष थियो र त्यो मलाई पनि मन पर्ने कुरा थियो । युद्धकालदेखि नै केही नयाँ कामकुरा गर्ने, अरूभन्दा छुट्टै पहिचान बनाउने र  गतिशीलतामा जाने उनको स्वभाव थियो । कतिपय सन्दर्भमा उनमा देखिने मनोगतवादी चिन्तनले उनलाई आलोचनाको पात्र पनि बनाउँथ्यो । प्रभाकरसितको सन्दर्भलाई निरपेक्ष रूपमा व्यक्ति प्रभाकरसित मात्र नजोडेर रुकुम-रोल्पासित पनि जोड्नुपर्छ भन्ने मेरो बुझाइ छ ।

रुकुम-रोल्पाको द्वन्द्व निकै पुरानो हो । अहिले पनि त्यहाँ प्रतिस्पर्धा छ भन्ने लाग्छ । कुन जिल्लाले कतिओटा मोर्चा लड्यो, कुन जिल्लामा कति सहिद भए ।  रोल्पाका कति सिसिएम, कति पिबिएम  भए  र रुकुमका कति जना कमान्डर, कति जना सिसिएम र कति जना पिबिएम भए भन्ने कुरासमेत उठ्ने गथ्र्यो त्यतिबेर र अहिले पनि रुकुमले कति पद पायो र रोल्पाले लाभका कति कद पायो भनेर चर्चा हुने गर्छ । रोल्पाले बढी लगानी गरेको छ, उसले बढी पाउनुपर्छ भन्ने जोड हुन्थ्यो ।  लगानी त रुकुमले पनि कम गरेको छैन, किन रोल्पालाई मात्रै बढी महत्व दिने भन्ने कुरा पनि हुन्थ्यो ।  वास्तवमा थवाङको इतिहासले रोल्पाको महत्व बढाए पनि आन्दोलनमा रुकुमको पनि कम लगानी थिएन—खत्रीबन्धुको इतिहास साक्षी बनेर अगाडि आउँथ्यो । तर पार्टी र प्रचण्ड दुवैले युद्धकालदेखि रोल्पालाई बढी च्यापेका थिए ।

रुकुम, खास गरेर चुनवाङ बैठकपछि प्रचण्डको कोपभाजनमा पर्यो  र त्यसमा सबैभन्दा बढी प्रभाकर परेका हुन् ।  यो यथार्थ हो  ।

किन प्रभाकर प्रचण्डको कोपभाजनमा परे यसको अलग्गै कथा छ ।  जनयुद्धको पछिल्लो चरण बुटवल कृष्णनगर मोर्चा असफल भएपछि प्रचण्डले रुकुम विरुद्ध त्यसमा पनि प्रभाकर विरुद्ध योजनाबद्ध किसिमले प्रहार गरेका हुन् । हेर्दा पछिल्ला मोर्चाको असफलताले प्रचण्ड रिसाएका हुन् जस्तो लागे पनि कारण अर्कै थियो ।  त्यसको कारण चुनवाङ बैठक वरिपरि सिर्जित वातावरण थियो  । लामो हुन्छ, अहिले यसतर्फ नजाऔँ  ।

प्रभाकरका विरुद्ध सिक्लेसदेखि पश्चिम कमान्डसम्मको बैठकमा योजनाबद्ध किसिमले हुटिङ गराउन लगाइयो । सिक्लेसमा यो टिप्पणीकार आफैँ उपस्थित थियो ।  रुकुम-रोल्पाको द्वन्द्वमा प्रचण्ड  खेल्थे । कहिले रुकुमलाई च्यापेर रोल्पामाथि प्रहार गरेजस्तो गर्ने र कहिले रोल्पालाई च्यापेर रुकुमलाई प्रहार गर्ने प्रचण्डखेल त्यतिबेर पनि चल्थ्यो ।  प्रभाकरका विरुद्ध प्रचण्डले सुदर्शनलाई अघि सार्थे । गणेशमान पुन ‘रश्मि’  प्रचण्डका विश्वास पात्र थिए र मिल्दोजुल्दो जीवनशैलीका कारण पूर्ण घर्ती चाहिँ प्रचण्डको सबैभन्दा प्रिय पात्र थिए । यसको पनि लामो व्याख्या  यहाँ सम्भव छैन ।

थुप्रै कुरा भन्न बाँकी छ र लेख्न बाँकी छ ।  महराजस्तो दुई नम्बरी पाखण्डीका विरुद्ध त थुप्रै लेख्न बाँकी छ । नेपालको कम्युनिस्ट आन्दोलनमा अलिकति लगानी नगरी बाबुरामले खाएझैँ रोल्पाको कम्युनिस्ट आन्दोलनमा केही लगानी नगरी रोल्पाली हुनुको नाममा महराले जति लाभ कसले लियो होला र ! पछिल्लो समयमा रोल्पाले न त चुनावी राजनीतिमा सफलता प्राप्त गर्यो  न त बहिष्कारको राजनीतिमा । अहिलेको द्वन्द्वमा विजय प्रभाकरको रह्यो, अर्थात् रुकुमको रह्यो ।

म त्यति चिठीपत्रहरू सँगालेर राख्ने मान्छे होइन, तर कमरेड पोस्टबहादुर बोगटी ‘दिवाकर’ र फौजी कमान्डर प्रभाकरको चिठी मसित सुरक्षित  रहेछन् ।  यहाँ म जनयुद्ध घनीभूत भएको समयमा प्रभाकरले  लेखेको एउटा चिठी प्रस्तुत गर्दैछु । व्याख्याबिना यो चिठीको सन्दर्भ र पृष्ठभूमि त्यति प्रस्ट हुँदैन र प्रस्ट नभएपछि चिठीको आनन्द पनि त्यति आउँदैन । तर पनि म प्रस्तुत गर्दैछु ।

यसलाई त्यस कालखण्डको परिवेशमा बुझ्नु आवश्यक छ । सन्दर्भ प्रस्ट पार्न ब्य्राकेटमा राखिएका इटालिक शब्दहरू मेरा हुन् ।

जनमेलबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार