नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कोरियाली प्रायद्धीपमा जारी तनावमा अमेरिका नै मुख्य बाधक रहेको बताएका छन् । बिजुक्छेले कोरियाली प्रायद्धीपमा भइरहेको समस्या समाधानका लागि अमेरिकी सेनाहरु दक्षिण कोरियाबाट फिर्ता हुनु पर्ने बताउछन् । अाफ्नाे पार्टी निकट अनलाइनमा कुराकानी गर्दै बिजुक्छेले यस्ताे बताएका हुन् ।
बाँकी कुराकानीका सम्पादित अंश :

कोरियाली प्रायद्वीपमा पनि युद्धको बादल मडारिरहेको छ । कुनैपनि बेला युद्ध भड्किने स्थिति विद्यमान छ । यस स्थितिबारे यहाँ के भन्नुहुन्छ ? स्थायी शान्तिको उपायबारे केही बताउनुहुन्छ कि ?
सन् १९५४ देखि नै कोरिया प्रायःद्वीपमा युद्धविरामको स्थिति हो । प्रजग कोरिया र संरा अमेरिकाको बीचमा शान्ति सम्झौता भइसकेको छैन । यसकारण कोरियाली जनताले २४ घण्टा नै अमेरिकी आक्रमणलाई जवाफ दिन तयार हुने गर्छन् ।
अमेरिकी साम्राज्यवादले आफ्नो हार र आफ्नो दुष्ट मनसायलाई लुकाउन कोरियाली समस्या भनेको उत्तर र दक्षिण कोरियाको आपसी झगडाको रुपमा चित्रणगर्छ, सत्य त्यो होइन । दक्षिण कोरियामा आधुनिक हतियारयुक्त अमेरिकी सेना छ र कोरियाली गणतन्त्रको सरकार भनेको सारमा अमेरिकी आदेशमा चल्ने सरकार हो । अर्को भाषामा दक्षिण कोरियाली सरकार अमेरिकी कठपुतली सरकार हो । यसकारण कोरियाली समस्याको समाधान भनेको दक्षिण कोरियाबाट अमेरिकी सेना आफ्नो देश फर्कनु, प्रजग कोरियासँग शान्ति सम्झौता गर्नु र बाहिरी हस्तक्षेप विना दुई कोरियाको पुनःएकीकरण गर्नु हो ।
कहिलेकाहीं जापानलाई पनि कोरियाली प्रायःद्वीपको कारण समस्या देखाउने गरिन्छ । त्यो पनि सत्य होइन । जापानमा दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकी आणविक बम खसाल्यो र ठूलो जनधनको क्षति भयो । जापानले आत्म समर्पण ग¥यो । प्रम तोजो अमेरिकी सेनाबाटै मारियो । अमेरिकी कमाण्डर इन चिफ म्याकार्थीले जापानी सम्राटलाई अबदेखि यही संविधानअनुसार शासन गर्नु’ भनी एउटा संविधान ठम्यायो । आज पनि जापानमा त्यही संविधानअनुसार शासन चल्दैछ । जापानमा पनि अमेरिकी सेना छ । सारमा जापानी सरकार पनि अमेरिकी कठपुतली सरकार हो । अमेरिकी सेना एसियाबाटै नफर्केसम्म उसले एसियाली जनतामा झगडा लगाई रहने छ । यसकारण सारमा ‘एसियाली जनता संरा अमेरिकालाई एसिया छोड’ भनी नारा लगाउँदै आएका छन् । पूर्वी एसियामा स्थायी शान्तिको अर्थ अमेरिकी सेना एसियाबाट घर फर्कनु हो ।
निश्चय छ — संरा अमेरिकाले प्रजग कोरियामा आक्रमण गरे कोरियाली जनताले जहाँबाट हमला गरेको हो, त्यही ठाउँमा क्षेप्यास्त्र हान्नेछ, त्यो उसको अधिकारको विषय हो । इराक, लिविया र सिरियाले पनि त्यसो गरेको भए, त्यहाँका जनताले त्यस्तो स्थिति भोग्नुपर्ने थिएन । संरा अमेरिकाले सधैं संसारलाई तर्साउँथ्यो, अब सबैलाई ट्रम्पले तर्साउन सक्नेछैन । कोरियाली जनता लड्न अथवा शान्ति सम्झौता गर्न तयार छ । अब संसारका सबै जनता अमेरिकालाई प्रजग कोरियासँग शान्ति सम्झौता गर्न दबाब दिंदैछन् ।
संरा अमेरिकी साम्राज्यवादले प्रजग कोरियाविरुद्ध कडा नाकावन्दी लगाइरहेको र अन्तर्राष्ट्रिय जगतबाट एक्ल्याउने कदम तीव्र बनाएको छ । के संरा अमेरिकी साम्राज्यवाद सफल होला ?
संरा अमेरिका र उसका पिछलग्गु देशहरुले १९५४ देखि नै प्रजग कोरियामाथि नाकाबन्दी गरी आएकै हो । तर संसारका बहुमत देशका जनता प्रजग कोरियाली जनताको पक्षमा छन् र ‘अमेरिकी आक्रमक सेना कोरिया प्रायःद्वीपबाट फर्की जाऊ’ भन्ने इच्छा व्यक्त गर्दै आएका छन् । प्रजग कोरिया एक्लो हुनेछैन र संरा अमेरिका यसमा सफल हुनेछैन । संसारका सबै जनता अमेरिकी आक्रमणको विरोधमा एक हुनेछन् ।
संरा अमेरिकी साम्राज्यवादले समाजवादी देश क्युवा विरुद्ध पनि कडा नीति दोहो¥याउँदैछ । भेनेजुयलाको राजनीतिमा हस्तक्षेप गर्दैछ । साम्राज्यवादी शक्ति फेरि आक्रामक ढड्डमा प्रस्तुत हुन खोजेकै हो त ?
क्युवामाथि पुनः अमेरिकी साम्राज्यवादले नाकाबन्दी कडा गर्दैछ, क्युवाली जनता नाकाबन्दी सहन अभ्यस्त भइसकेका छन् । ‘समाजवाद वा मृत्यु’ नै क्युवाली जनताको नारा हो । भेनेजुयलाका जनता आफ्नो देशको विकास गर्ने अमेरिकी कम्पनीहरुको शोषण र अत्याचारको विरोध गर्दैछन् र विदेशी कम्पनीहरुको ठाउँमा आफ्नै देशले कल—कारखाना र तेलको खानी चलाउँछन् । यसकारण अमेरिकी साम्राज्यवादले विरोधी दलहरुलाई उठाएर प्रगतिशील सरकारलाई हटाउन षड्यन्त्र गर्दैछ । जनता आजको माडुरो सरकारको पक्षमा छ । अमेरिकी साम्राज्यवाद सम्पूर्ण दक्षिण अमेरिकालाई आफ्नो उपनिवेश बनाउन चाहन्छ, त्यसमा ऊ सफल हुनेछैन ।
अन्तर्राष्ट्रिय राजनीतिमा आइरहेको यो उतार चढावले के कुराको संकेत गर्दछ ?
संसारमा जनता उठिरहेका छन् र साम्राज्यवादीहरु आत्तिरहेका छन् ।
अन्तमा केही थप विचार ब्यक्त गर्नुहुन्छ कि ?
साम्राज्यवादीहरु अफ्गानिस्तान, इराक, लिविया र सिरियामा हमला गर्दैछन् र देशभक्तहरु संघर्ष गर्दैछन् । तर अहिले साम्राज्यवादी देशका राजधानी र सहरहरुमै आतङ्कवादी गतिविधिको कारण युद्ध आफ्नै घरमा हुने सम्भावनाले काँप्दै छ ।







