नेपालमा प्रजातन्त्र आएको यत्रो वर्ष हुँदा पनि प्रजातान्त्रिक संस्कार विकास भएन ।

Dr. Govinda KC Photo: THT File
भ्रष्टाचार, गैरजिम्मेवारपन, जवाफदेहीहिनताले गर्दा लुटतन्त्र मौलाएको छ । गास, बास, कपास, स्वास्थ्य, शिक्षा सबैको पहुँचमा हुनपर्नेमा चरम व्यावसायीकरण भएको छ । निम्न मध्यम वर्ग र निम्न वर्गको पहुँचमा स्वास्थ्य शिक्षा आउन सकेको छैन । चाहिने भन्दा बढी संस्था क्रियाशील छन् तर सबै सहर केन्द्रित छन् ।
स्वास्थ्य र शिक्षामा पनि नाफामूलक उद्देश्य मात्र राखिएको छ । यो त अपराध हो । झण्डै ८० प्रतिशत जनसंख्या गाउँमा छन् जहाँ स्वास्थ्य शिक्षाको पहुँच छैन । स्वास्थ्य शिक्षा गुणस्तरीय हुनुपर्यो । त्यसका लागि पूर्वाधार पुगेको हुनुप¥यो भन्ने कुरा त सामान्य छ नि । सहरमा मात्र स्वास्थ्य शिक्षण संस्था खोलेर त भएन नी । काठमाडौंमा अनुमति दिइएको संस्थामा पूर्वाधार के छन् भन्ने त हामीले देखेकै छौं ।
योग्य विद्यार्थीले आफूले इच्छा गरेको पढ्न पाउनुपर्छ त्यसका लागि राज्य बाधक हुनुहुँदैन ।
हामी पहिलेदेखि यसकै लागि लडेका हौँ । यसमा राज्यले सहमति गर्छ तर आफैले गरेको सहमति कार्यान्वयन भने गर्दैन । देश माफिया र दलालले चलाएका छन् । उनीहरुको हातमा छ देश । हामीले सुशासनका लागि पनि लडेका हौँ । सबै कुरा जेलिएको छ । सुशासन हुँदो हो त हामीले ११ पटकसम्म अनसन बस्नुपर्ने थिएन । नेताहरु नागरिकप्रति इमान्दार बन्न नसक्दा सबैतिर बिग्रिएको छ । नग्न रुपमा आफ्नो र माफियाको स्वार्थमा नेताले नै काम गरेका छन् । भ्रष्टाचारका लागि सरकार हुनु त भएन नी । सार्वजनिक संस्थान धरासायी बनाएका छन् ।
कार्यकर्ताको जागिर खाने भाँडो बनाएर सबैतिर बिग्रिएको छ । भागबण्डाबाट सबै मिलाएर खाने काम मात्र गर्छन् । अधिकारको दुरुपयोग गर्छन् । अहिले त नेता माफिया हुन् की माफिया नेता हुन् भनेर छुट्याउन पनि अप्ठेरो छ ।
यसैगरी सबैको स्वार्थमा स्वास्थ्य शिक्षाका लागि कलेजलाई सम्बन्धन दिने हो भने स्वास्थ्यमा कस्तो जनशक्ति उत्पादन हुन्छ होला त ? उनीहरुसँग उपचार गर्न विश्वास कसरी गर्ने ? कसैलाई केही मतलब छैन यहाँ । प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेर भए पनि यस्ता कुरा रोक्न पर्ने होइन र ? उहाँको जिम्मेवारी बन्दैन ? कुन देशमा छौँ हामी ? यस्तै प्रधानमन्त्री पटक पटक भइरहेका छन् । कस्तो सिस्टममा छौँ हामी ? उनीहरुले गर्नुपर्ने काममा हामीले यत्रो आवाज उठाउँदा पनि वास्ता नगर्ने ?
मेडिकल कलेज खोल्नु हुन्न भन्ने होइन । नभएका ठाउँमा पूर्वाधार पु¥याएर खोलौँ न । शहर केन्द्रित मात्र हुनु त भएन नी । ग्रामीण भेगमा खोलौँ न । त्यसो गरे गाउँका मान्छेले पनि राम्रो उपचार पाउँछन् । आखिर सामाजिक न्यायलाई पनि त विचार गरौँ न ।
गुणस्तरीय स्वास्थ्य सेवा पाउने सबै नागरिकको अधिकार संविधानले नै दिएको छ । के गाउँका मानिस नेपाली होइनन् ?
राजधानीमा अायाेजित एक कार्यक्रममा डा केसीद्धारा व्यक्त विचार ।







