माओवादी केन्द्रका एक नेताले हालसालै पार्टीमै रामबहादुर थापा बादललाई प्रधानमन्त्री बनाउन प्रचण्डलाई एउटा लामो पत्र नै लेखेका छन् ।
माकेका पोलटव्युरो सदस्य कर्णजित बुढाथोकी सुशीलले प्रचण्डलाई यस्तो चिठी लेखेका हुन् ।
चिठीको यस्तो छ सम्पादित अंश :

अध्यक्ष कमरेड
– कार्यकारी राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीको घोषणा संघ र प्रदेशको चुनावलाई प्रभाव पार्ने बिषय राजनैतिक एजेन्डा मुख्य विषय हो । यसका साथसाथै व्यक्तित्वले पनि चुनावमा उत्तिकै प्रभाव पार्छ । अब मुलुक कार्यकारी राष्ट्रपतिको महसुस गरिसकेको छ । अस्थीर सरकार, अस्थीर प्रशासन विकास निर्माणमा गतिहिनता बैदेशिक हस्तक्षेप यी सबै संसदीय व्यबस्था असफलताको कारण हुन् । समग्र विषयलाई हेर्दा अध्यक्ष क. प्रचण्डलाई कार्यकारी राष्ट्रपतिमा स्थापित गर्नुपर्ने देखिन्छ । त्यसैगरी त्याग तपस्या बलिदान र आवाश्यक्तालाई महसुस गरी भावी प्रधानमन्त्रीमा रामबहादुर ‘बादल’ लाई बनाउनु पर्ने देखिन्छ । त्यसैगरी प्रदेशको चुनावलाई प्रभाव पार्न ७ बटै प्रदेशको मुख्य मन्त्रीको घोषणा एक साथ गर्न सकेमा राजनीति एजेण्डासँग व्यक्ति पनि स्थापित हुने देखिन्छ । सबै पक्षलाई उच्च मनोवलको साथ अगाडि कमाण्ड गर्न नसकेको खण्डमा चाहे लडाइँ चाहे चुनाव परिणाम सोँचे जस्तो नआउने प्रष्ट छ ।
– माओवादी पार्टी हरुसँगको सम्बन्धबारे माओवादी पार्टीहरुको अवस्थालाई हेर्दा सबै पार्टीहरुमा सकारात्मक र नकारात्मक दुवै पक्षको विना पूवाग्राही अध्ययन गर्नु जरुरी छ । क. महोन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र क. विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको सम्बन्ध सुर्धान जरुरी बनेको छ । सके नयाँ ढंगको पार्टी निमार्ण नभए कार्यगत एकता गर्नु जरुरी देखिन्छ । सबै माओवादी पार्टीहरुको साझा एजेण्डा राष्ट्रियता, जनतन्त्र र जीविकासहित परिवार घाईते अपाङ्ग, पूर्वजनमक्ति सेनाको सम्बन्धमा साझा मेर्चा बानाउनु पर्छ । नेकपाका नेता कार्यकर्तालाई गिरफ्तारी गर्ने कार्य रोक्नु पर्छ ।
– राष्ट्रियताको सम्बन्धमा सरकार संचालनको हिसावले २०४७ देखि २०७४ सम्म २७ बर्षको अवधिसम्म आउँदा काँगे्रसले १० पटक सरकारको नेतृत्व गरेर १५ बर्ष शासन चलायो भने एमालेको नेतृत्वमा ५ पटक ६ बर्ष, माओवादी नेतृत्वमा ३ पटक २ बर्ष ६ महिना पूर्वराजाको प्रत्यक्ष शासन ४ वर्ष खिलराज रेग्मीले १ वर्ष चलाए । सरकार संचालनको क्रममा विभिन्न सन्धि–सम्झैतालाई हेर्दा काँग्रेसले १५ बर्षे कार्यकालमा ३८ प्रतिशत, राष्ट्रघाती सम्झौता गरेको, एमालेको ६ बर्षे प्रत्यक्ष नेतृत्व र बाँकी ४ बर्ष सयुक्त सरकारमा रहँदा ३० प्रतिशत राष्ट्रघाती सम्झौता गरेको, राजावादी शक्तिहरुले २८ प्रतिशत, माओवादी केन्द्रको नेतृत्वमा २ बर्ष ६ महिने शासनकालमा ३ राष्ट्रघात र खिलराजको नेतृत्व २ प्रतिशत राष्ट्रघात गरेको तथ्यांकहरुले देखाएका छन् । यसरी हेर्दा माओवादी पार्टीनै राष्ट्रियताको लागि प्रष्ट भएको पार्टीको रुपमा चिनिन्छ । अझैपनि माओवादी पार्टीले राष्ट्रियताको सवालमा दृढ हुनुपर्ने देखिन्छ ।
– सरकार सञ्चालन सम्बन्धमा सरकारको राम्रो र नराम्रो कार्य जनता कार्यकर्ता र पार्टीलाई प्रत्यक्ष प्रभाव पार्ने हुँदा सरकार संचालनमा एउटा अधिकार सम्पन्न संयन्त्र बन्नु जरुरी देखिन्छ । सरकार संचालनका क्रममा देखिएका गम्भीर प्रकृतिका गतिविधिहरलाई नियन्त्रण गर्न सकिन्छ । यस्ता गतिविधिहरुले चुनावमा प्रत्यक्ष प्रभाव पारेको हुनाले संविधान सभा र स्थानीय निर्वाचनमा पार्टी तेस्रो स्थानमा झर्न पुगेको छ । सरकारका राम्रा कार्यलाई संस्थागत गर्न जरुरी छ । जुन संयन्त्रले बजेट विनियोजनमा भएको आफ्नो जिल्ला केन्द्रीत कार्य, कर्मचारी नियुक्तीमा मनपरी,व्यक्तिगत स्वार्थ केन्द्रीत जस्ता गतिविधिलाई समयमै नियन्त्रण नगर्ने हो भने यसले चुनावमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।
कर्णजीत बुढाथोकी ‘शुसिल’
पोलिटव्यूरो सदस्य
ने.क.पा. (माओवादी केन्द्र)
मितिः २०७४।५।१९







