माओवादी केन्द्र, वैद्य माओवादी र नयाँ शक्ति र विभिन्न पार्टीका २ सय नेता कार्यकर्ताहरु अाज अाइतबार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

यसरी प्रचण्डलाई परित्याग गरी विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलानन्द गिरी, जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डर तथा केन्द्रीय सदस्य जोखिम, केन्द्रीय सदस्य कृष्णबहादुर बिक, कृष्ण बस्नेत रहेका छन् ।

त्यसैगरी  बाबुराम भट्टाराई नेतृत्वको नयाँ शक्तिका केन्द्रीय सदस्य बाबुलाल पासवान, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार झपेन्द्र बैद्यलगायत छन् । गिरी गत जेठमै माअाेवादी केन्द्र परित्याग गरेकाे घाेषणा गरी स्वतन्त्र भएकाे घाेषणा गरेका थिए ।

राजधानीकाे कमलादीकाे प्रज्ञा भवनमा एक कार्यक्रम अायाेजना गरेर कम्युनिस्ट पार्टीमा ध्रुवीकृत हुने नेता कार्यकर्ताहरूलार्इ  नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले उनीहरुलाई ढाकाको खादा र रातो टिका लगाएर स्वागत गरेका थिए ।

बाबुराम बेपत्ता, प्रचण्ड गाेलचक्करमा हराए, किरण अलमलमा परे

आफ्नो पार्टीमा ध्रुवीकृत हुनेहरुलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रचण्ड र बाबुरामको पार्टी अब निकट भविष्यमा पत्तासाफ हुने ठोकुवा गरे । उनले वैद्यकाे पार्टी अलमलमै रहेकाे बताए ।

‘बाबुराको नयाँ शक्ति कहाँ पुगेर बेपत्ता भइसक्यो, प्रचण्डको बाटो पनि त्यही ठाउँमा पुगेर सकिनेछ ।’ विप्लवले भने- ‘सबै क्रान्तिकारी र देशभक्तहरुलाई हाम्रो पार्टीले नेतृत्व गरेर जानेछ ।’

प्रचण्ड र बाबुरामले खु्रश्चेभ र यल्तसिनको बाटो पकड्दा माओवादी क्रान्तिकारी आन्दोलनले धक्का खाएको भन्दै विप्लवले आफ्नो पार्टी नेकपाले उनीहरुको विचलनलाई खारेज गरिसकेको जिकिर गरे ।

महासचिव विप्लवले अबको नेपालको क्रान्तिकारी आन्दोलनको भविष्य निकै आशावादी भएको बताए ।

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार