
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले दलाल, भ्रष्ट र माफियाहरुका कारण देश तहसनहस भएको भन्दै देश बनाउन अाफ्नाे पार्टीलार्इ साथ दिन देशभक्त सेना, प्रहरी र कर्मचारीहरुलाई अनुरोध गरेका छन् ।
आफ्नो पार्टीको नेतृत्वमा देशलाई दलाल र भ्रष्टहरुको कब्जाबाट स्वतन्त्र बनाउने अभियानमा साथ दिन महासचिव विप्लवले सेना, प्रहरी र कर्मचारीहरुलाई यस्ताे अपिल गरेका हुन् ।
आज आइतबार काठमाडौंमा आयोजित विभिन्न पार्टीबाट ध्रुवीकृत नेता कार्यकर्ताहरुलाई सम्मान कार्यक्रममा विप्लवले रुसी र चिनियाँ क्रान्तिमा प्रतिक्रियावादी सेनाबाट लाखौंको संख्यामा देशभक्त र सच्चा सेनाहरुले विद्रोह गरेको उदाहरण दिदै नेपालमा पनि त्यही बाटो पछ्याउन नेपाली सेनाका जवानहरुलाई आग्रह गरे ।
‘बुर्जुवा संसदीय व्यवस्थामा दलाल र भ्रष्ट नेताहरुका कारण देश तहसनहस भइसकेको छ । यो बेला देशभक्त सेना, प्रहरी र कर्मचारीहरुले सोच्नै पर्ने बेला आएको छ ।’ महासचिव विप्लवले भने- ‘२५ वर्षको संसदीय व्यवस्थामा देशलाई हरिकंगाल बनाउने दलाल संसदीय व्यवस्थाका दलाल नेताहरुलाई एक एक गरेर ठिक गरिने छ ।’
नेपालको परिवर्तनकारी आन्दोलनलाई देशभक्त नेपाली सेना, प्रहरी र कर्मचारीहरुले साथ दिनै पर्ने महासचिव विप्लवको जोड थियो ।आफ्नो पार्टीले सबैको साथमा देशमा एकीकृत जनक्रान्ति गर्न गइरहेको भन्दै विप्लवले अबको क्रान्ति सबै पक्षलाई समेटेर लैजाने बताए ।








