म सन् २००४ मा मलेसिया गएको थिएँ । ४ वर्ष मलेसिया बसेर फर्किएँ । त्यो चार वर्षमा मैले भोगेका दुःख दिमागबाट हट्न सकेको छैन् । मेकानिकको काम भनेर दलालले पठाए तर हातमा सीप थिएन । मेकानिकको काम कसरी गर्नु ।

प्लाष्टिकको ग्यालिनहरु बनाउने कम्पनी थियो । यो कम्पनीमा मेसिन चलाउन जान्नेलाई चाहिँ अलि मान्यता दिन्थ्यो । आफ्नो हातमा सीप नहुँदा मैलै एक वर्षसम्म सफा गर्ने काम गर्नुपर्दा निकै दुःख सहनु पर्यो । एउटा ग्यालिन देब्रे कम्बरमा झुण्ड्याउनु पथ्र्यो अनि हातमा कुचो । आठदेखि १० घण्टा सम्म त्यही कम्पनी वरिपरि सरसफाई गर्नुपर्ने । केही गल्ती भएमा म्यानेजरले नराम्रो शब्द प्रयोग गरेर गालि गथ्र्याे ।
एक वर्ष कटाउन मलाई हजार वर्ष जस्तो लाग्यो । तर जानेबेलामा लिएको ऋण सम्झिन्थें । अब मेसिन चलाउन सिक्छु भनेर बिस्तारै मेसिन चलाउन थालें । अलिअलि जानेपनि मलाई म्यानेजरले १ वर्षसम्म मेसिन चलाउन दिएन ।
१ वर्षपछि मेसिन चलाउन सुरु गरें । त्यसपछि कमाईपनि बढ्दै गयो । नत्र त महिनाको चार सय २५ रिंगिट हुन्थ्यो । काम गर्दै जाँदा महिनाको तीन हजार रिंगिटसम्म कमाउन थालें ।
चार वर्ष मलेसिया बसेर फर्किंदा मैले १७ लाख जति कमाएँ । तर यी चार वर्षमा मैले खेपेका हण्डर ठक्कर करौडौंको छ । कहिल्यै पिसाब लाग्ने बित्तिकै फेर्न पनि पाइएन् । २० देखि २५ जना एउटै कोठामा बाख्रा जस्तै बस्थ्याै। चर्पीमा सधैं लाइन बस्नुपथ्र्यो । नुहाउनको त परको कुरा चार वर्षमा दिसापिसाब कहिले पनि लाग्ने वित्तिकै गर्न पाइँदैनथ्यो ।
खाना खाने समयको टुङ्गो थिएन । बिरामी हुँदा पनि काम नगरी सुख पाइँदैनथ्यो । काम गर्न सकेन भने कुटीकुटी काममा लगाउने, केही दिनका लािग सस्पेन्समा हाल्दिने, तलव काटिदिने जस्ताकुरा त सामान्य थिए ।
बाटोमा हिँड्दा पनि उत्तिकै डर मर्नु हुन्थ्यो । स्थानीय केटाहरुले पिट्नेदेखि छुरा हानेर लुट्थे । फेरि १० घण्टा काम ग¥यो, लुगा धनु प¥यो, खाना बनाउनु पर्ने मलाई त अहिले सम्झन पनि मन लाग्दैन् ।
दुःख जस्तो भएपनि कमाउन सकें त्यही सम्झिए चित्त बुझाएर फर्किएँ । मलेसियाबाट फर्केर अहिले सुरक्षित आप्रवासन परियोजना (सामी) मा रिर्टनी भोलेन्टियरको रुपमा विदेश जान लागेकालाई जानकारी दिने काम गर्छु । आफूले सीप नसिकी विदेश जादा दुःख पाएकाले अहिले सबैजनालाई सीप सिकेर मात्र विदेश जानुस नत्र नत्र दुःख पाइन्छ भनेर सम्झाउँछु ।







