काठमाडौं । विनाशकारी भूकम्प गएको २९ महिना पुग्न ५ दिन मात्र बाँकी छ । तर भूकम्पले घरबार गुमाएको पीडा अझै ताजा छ ।

२०७२ वैशाख १२ को भूकम्पले घर भत्केपछि टहरामा बसिरहेका सात लाख भूकम्पपीडितको दशैं योपटक पनि टहरामै बित्ने भएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दराज पोखरेलले दशैंअघि डेढ लाख भूकम्पपीडितलाई टहराबाट घरमा भित्र्याउने घोषणा गरेका थिए ।
बिहीबार घटस्थापनासँगै बडादसैं सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बनेनन् ।
प्राधिकरणको तथ्यांकअनुसार बुधबारसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या ४८ हजार नौ सय २६ पुगेको छ । लाभग्राही सूचीमा परेकामध्ये सात लाखभन्दा बढी पीडितको यसपटकको दशैं टहरामै बित्ने यो तथ्यांके पुष्टि गरेको छ ।
प्राधिकरणको लाभग्राहीको सूचीमा सात लाख ६५ हजार ६ सय ९८ घरधुरी सूचीकृत छन् ।
यसरी ७ लाख भूकम्प पीडितलाई अझै टहरामा राखेर सरकार र प्राधिकरणले अाफुहरूकाे मानवीयताप्रति ठूलाे खेलवाड गरेकाे भूकम्प पीडितहरुको तीव्र आक्रोश रहेकाे छ ।







