आँगनमा ठूलो खसी कराइरहेको छ इलामको इलाम नगरपालिकाकी सरस्वती घिमिरेको घरमा । सरस्वतीले दसैँका आवश्यक सबै सरसामान जुटाइसक्नु भएको छ ।

नातीनातिनाले भोली पर्सी भन्दै त्यही ठूलो खसी ढाल्ने दिन गन्दा सरस्वतीलाई साउदीबाट आउन नपाएको छोरा दिपकसँगै दसैँ मनाउँदाका दिन झलझली आँखामा आउछन् ।

‘दसैँले छोप्यो, वर्षभरी अलिअलि जोहो गरेको पैसाले मिठोमसिनो त किने । तर छोरो आउन पाएन । खानेकुरा पनि नमिठो हुन्छ,’ छोराको बारेमा कुरा गरेपछि सरस्वतीको आँखा रसाए । दिपकले मलेसियाबाट फोन गरेर खुसीले दसैँ मनाउनु भनेका छन् । तर छोरा बिना दसैँमा आमाको मन किन मान्थ्यो र ।

सरस्वती भन्नुहुन्छ, ‘छोरा हुँदा एक गाँस बढी नै रुच्छ । जे पाकेपनि छोराकै याद आउँछ, खाएको गाँस पनि घाटीमा अडकन्छ ।’

सरस्वतीका छोरा दिपक विदेश बस्न थालेको एक दशक भैसक्यो । पछिल्लो चारवर्षदेखि दसैँ मनाउन आएका छैनन् । अघिपछि मन बुझाएपनि चाडबाडका बेला छोरा नै आइदिओस जस्तो लाग्छ सरस्वतीलाई ।

बुवा पनि छोराकै प्रतिक्षामा

बुवा वीरबहादुर पनि दिपककै प्रतिक्षामा छन् । ६८ वर्षका वीरबहादुरलाई छोरा बिनाको दसैँ खल्लो लागेको छ । छोरो वर्षौंदेखि विदेश बसेकाले उहाँलाई अब छोरा विदेश नबसोस जस्तो लाग्छ । ‘छोराछोरी बिना दसैँ त कहिल्य नआओस् झैं हुन्छ तर के गर्नु मान्नै पर्ने,’ वीरबहादुरले टाउको निहुराउनु भयो ।

दिपकका दुई जना छोरा छन् । तिनैले नाती हेरेर वीरबहादुर चित्त बुझाउनुहन्छ । ‘अहिले त बुहारीलाई नै छोरो बनाएको छु । जे भनेपनि यी नै हुन,’ वीरबहादुरले छेवैमा बसेका नाती र बुहारीलाई देखाउँदै भन्नुभयो ।

बुवाआमालाई मात्र होइन मायाले दिने यस्ता चोट परिवारका अन्य सदस्यहरुमा पनि उस्तै हुन्छ । दिपककी श्रीमती शशी महत घिमिरेलाई पनि श्रीमान् नआउँदा योपालीको दसैँ खल्लो लागेको छ । कान्छो छोरा तीन महिनाको छाडेर परदेश गएका थिए दिपक । ‘अहिले जस्तो कहाँ फोन थियो र । चिठ्ठी पाउँदा पनि उहाँ नै पाए जस्तो लाग्थ्यो,’ शशी त्यो बेलाको समय सम्झनुहुन्छ ।

अहिले शशीको जेठो छोरा १६ र कान्छो १३ वर्षका भैसके । छोरा शशीका साथी भएका छन् । तर चाडबाडको बेला सँगै भएकाको भन्दा टाढैहुनेको बढी माया लाग्दो रहेछ भन्नुहुन्छ शशी । मलेसियाको कमाइले बालबच्चा पढाउनै नपुगेपछि दिपक अहिले साउदी गएका छन् ।

घिमिरेको घर जस्तै अहिले इलाम नगरपालिकाको गरिमा टोल सुनसान छ । यो गाउँका दिपक जस्तै धेरै युवा विदेश गएका छन् ।

सुजता सुनुवार/उज्यालोबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार