नेपालका प्रसिद्ध उर्जा व्यापारी दीपक भट्टले चिनियाँ कम्पनीले निर्माण गर्ने भनेको बुढी गण्डकी जलविद्युत आयोजनालाई अघि बढाउनको लागि दुवै पार्टी एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुलाई मनाउन ठूलो रकम खर्चिएको खुलासा भएको छ ।

उच्च स्रोतका अनुसार उक्त आयोजना निर्माण गर्ने भनेर ट्रायल बेसमा रहेको चिनियाँ कम्पनी गेजुवाले ३ अर्ब रुपैयाँ रकम निकासा गरेको छ ।सुरुमा उक्त आयोजना गेजुवालाई दिनुहुँदैन भनेर सार्वजनिक रुपमै विरोध जनाउँदै आएका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई समेत यही मोर्चामा आवद्ध भएपछि उनको समेत मुखमा बुझो लागेको छ । वाम गठबन्धन निर्माणमा होमिएसँगै बाबुरामले पनि अब बुढीगण्डकीबारे कुनै चासो देखाएका छैनन् ।
आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिएको बाम गठबन्धनले उम्मेदवार छनोट र निर्वाचन क्षेत्रको निक्र्योलको कामलाई चाडै टुङग्याउने गरी काम गर्ने बताएको छ । गठबन्धनले बनाएका दुई छुट्टाछुटै कार्यदलले आफ्नो काम समयसीमा भित्रै सक्नेगरी काम गरिरहेको जनाएका छन् । माओवादी केन्द्र र नेकपा एमालेकोबीचमा चुनावी तालमेल र पार्टी एकीकरणको चर्चासंगै सरकार परिवर्तनको गर्ने खेल पनि सुरु भएको छ ।
माओवादी केन्द्र र एमालेका नेताहरु दुई पार्टीको बीचमा बनेको चुनावी तालमेलका कारण कांग्रेस चुनाव नगर्ने दिशामा जान सक्ने भन्दै सरकार नै परिवर्तन गरेर भएपनि चुनाव गर्नुपर्ने योजनामा छन् । सरकारमा कांग्रेससंग बस्ने र चुनावी गठवन्धन एमालेसंग गर्दा बाहिर राम्रो सन्देश नजाने भन्दै दुवै पार्टीका नेताहरु सरकार परिवर्तनको गृहकार्यमा लागेका हुन् ।
व्यापारी भट्टको पहलमा एमालेबाट पूर्व गृहमन्त्री वामदेव गौतम र माओवादीबाट हालका गृहमन्त्री जनार्दन शर्मा संलग्न भएको समेत खुलासा भएको छ ।
भट्ट गेजुवा कम्पनीका लोकल ऐजेण्ट हुन भने नेता गौतमका निकट ब्यवसायी हुन् । उनी सेना, प्रहरी र विद्युत प्राधिकरणमा लामो समयदेखि ब्यवसाय गर्दै आएका छन् । मन्त्री शर्माले नियमविपरीत गेजुवालाई बुढी गण्डकी परियोजना दिएको भन्दै संसदको सार्वजनिक लेखा समितिले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो ।
संसदको अर्थ तथा जलस्रोत समितिले बुढिगण्डकी परियोजना चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णय खारेज गर्न सरकारलाई निर्देशन नै दिएको थियो ।







