
सर्वोच्च अदालतले कुख्यात भ्रष्टचारीका रूपमा बदनामित नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई काममा फर्किने बाटो खुला गरिदिएको छ ।
सर्वोच्चले मन्त्रिपरिषदले असोज २ गते खड्कालाई पदबाट बर्खास्त गर्ने विषयमा गरेको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएसँगै खड्का काममा फर्किने मार्ग प्रशस्त भएको हो ।
आयल निगमको जग्गा खरिदमा अनियमितता गरेको भन्दै सरकारले खड्कालाई बर्खास्त गरेको थियो । आइतबार सर्वोच्च अदालतले खड्कालाई काममा फर्किन मार्ग प्रशस्त गर्दे अन्तरिम आदेश जारी गरेको उनको तर्फबाट बहस गरेका कानुन व्यवसायी अधिवक्ता रामचन्द्र सुवेदीले अन्नपूर्णलाई जानकारी दिए।
खड्काको मुद्दामा वरिष्ठ अधिवक्ता सूर्य ढंगेल, रामकृष्ण निराला, बाबुराम गिरी, नरेन्द्र गौतमले बहस गरेका थिए ।







