
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसँग वैचारिक भिन्नता धेरै नरहेको बताएका छन् ।
आइतबार पोखरामा शुरु क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलनमा शुभकामना दिन पुग्नु भएका नेता सुदर्शनले मालेमावादमा विकास गर्नुपर्छ भन्ने विषयमा दुई पार्टीबीच एकमत रहेको पनि बताए ।
विभिन्न समुहमा रहेका क्रान्तिकारीहरुलाई समय खेर नफालीकन एकताबद्ध हुन पनि उनले आग्रह गरे ।
माक्र्सवादी दर्शनको अध्ययनमा अब्वल मानिने किरणका विद्यार्थीसमेत रहेका सुदर्शनले विगत जनयुद्धको बेला प्रचण्डपथको विकास गर्ने बेला सबैभन्दा मेहनत किरण र आफूले गरेको तर आफुहरुको मेहनत खेर गएकोले कहिलेकाही पश्चाताप हुने गरेको पनि बताए ।
पार्टीहरु संगठनात्मकरुपमा मात्र नभई विचारधारात्मक रुपले पनि संगठीत हुन आवश्यक भएको भन्दै सुदर्शनले एमाले, माके र नयाँ शक्तिबीचको एकता स्वविवेकमा नभई त्यसभित्र निगम कर्पोरेटको हात रहेको पनि बताए ।







