
पूराना वामपन्थी नेता राधाकृष्ण मैनालीले एमाले र माओवादी केन्द्रबीचको वाम एकीकरणमा भारतकै हात रहेको खुलासा गरेका छन् ।
नेपालखबर अनलाइनलाई अन्तर्वार्ता दिदै मैनालीले भारतविरोधी देखिएका ओलीलाई प्रचण्डमार्फत आफ्नो स्वार्थमा पूरा गर्ने देखिएपछि वाम गठबन्धन बन्न सकेको दावी गरेका छन् ।
यस गठबन्धनमा चीन हावी भएको देखिएपनि सारमा भारतको चाहनाले मुख्य भूमिका खेलेको मैनालीको जिकिर रहेको छ ।
वार्ताको सम्पादित अंश :
यतिबेला धेरैले एमाले माओवादी केन्द्रबीचको एकतामा चिनियाँ हात देख्ने गरेका छन्। यसो भन्नेहरुलाई कम्युनिष्टले कम्युनिष्टलाई मिलायो भन्न सजिलो पनि भयो। तर मेरो विचारमा चिनियाँहरुले प्रयास गर्दैमा केपीप्रति प्रचण्डले विश्वास गर्ने स्थिति छैन। किनभने दुई तीन महिना अघिसम्म पनि दुई पार्टीबीच वार्ता चल्दाचल्दै ओली र प्रचण्डबीच हानाहान र मारामार चलिरहेको थियो। त्यसैले, मलाई के लाग्छ भने, दिल्लीले भनेको ओलीले पूरा गर्छन् भन्ने ग्यारेन्टी दिल्लीले गरेपछि यो एकता भएको हो।
भारतलाई पनि लागेको हुनुपर्छ– नेपाली कांग्रेस हिजोजस्तो हावी हुने अवस्था छैन। तालमेलबिना चुनावमा जाँदापनि कांग्रेसभन्दा माथि त एमाले नै हुने स्थिति थियो। एमालेको नेता केपी नै छन् त्यहाँ माधव नेपालहरुको स्थिति कमजोर छ। यो स्थितिमा एमालेलाई ‘प्रो इन्डियन’ हुन गाह्रो हुनेभयो। यस्तो अवस्थामा सायद माधव नेपालहरुले एमाले र माओवादी केन्द्र एक भएको खण्डमा ओली अल्पमतमा पर्छन् भन्ने विश्लेषण सुनाउनु भयो होला।
माओवादी केन्द्रसँग तालमेल गर्ने निर्णयसँगै केपी अल्पमतमा पर्ने देखिइसक्यो। एमाले ६० प्रतिशतमा झरिसक्यो। त्यो ६० प्रतिशतपनि केपीको मात्र होइन, त्यहाँ माधव नेपालहरुको पनि हिस्सा रहन्छ। त्यसले गर्दा केपीको हिस्सा अझ सानो हुने देखिन्छ। प्रचण्डहरु पनि आइसकेपछि भारतविरोधी अथवा राष्ट्रिय अडान राख्ने एमाले भन्दा भारतसँग सम्बन्ध राख्ने पक्ष बलियो हुन्छ।
भारतले यति धेरै खेल्छ र?
ठूला शक्तिहरुलाई सिद्धान्त र दर्शनको कुनै जरुरत हुँदो रहेनछ। म आफै मालेको तर्फबाट सरकारमा रहँदाको प्रसङ्ग सुनाउँछु। गिरिजाप्रसाद कोइरालासँग मिलेर नेकपा (माले) सहितको सरकार बन्यो। त्यतिबेला भारतले ‘मालेलाई सरकारमा नराख्नु, यो भारत विरोधी शक्ति हो’ भनेर गिरिजाप्रसाद कोइरालामाथि दबाब दिएछ। उहाँले ‘मालेले माक्र्सवाद लेनिनवाद के के मान्छ त्यो उसको कुरा हो। तर यसले जे जे मानेपनि भारतको अहित नगरे भएन? भारतको अहित गर्न नसक्ने अवस्थामा पुगे त भइहाल्यो। तपाईँहरुलाई त्यसभन्दा बढि के चाहियो? तपाईँहरुको सरोकार नेपाली कांग्रेसको सरकारले भारतको अहित नगरोस् भन्ने होइन? यस्तो जवाफ दिनु भएछ। पछि गिरिजाले नै मलाई यो कुरा सुनाउनु भएको थियो।
भनेपछि तपाईंको विश्लेषण वाम गठबन्धन दिल्लीकै अनुकुल हुनेगरी बनेको छ भन्ने हो?
केपीलाई नियन्त्रण गर्न अथवा भोलिको संयुक्त कम्युनिष्ट पार्टी भारत विरोधी नबनोस् भन्ने उनीहरुको सरोकार हो। ‘यसले के नीति लिन्छ, यो चीनको कति नजिकमा जान्छ’ भन्ने भन्दापनि भारतको विरुद्धमा काम नगरोस् भन्ने मनशाय लुकेको छ। पार्टीको बहुमतले भारतप्रति सहानुभूति राखेपनि चीनसँग पनि सहकार्य त होला। तरपनि भारतको विरोध गरिदिएन भने त उनीहरुलाई पुगिहाल्छ। नयाँ पार्टीले माक्र्सवाद बोकोस् वा माओवाद–त्यो भारतीयहरुलाई मतलव हुँदैन। यहि प्रयोजनका लागि एकता गराइयो भन्ने मलाई लाग्छ।







