भर्खरै माओवादी केन्द्र परित्याग गरेका पूराना नेता लोकेन्द्र बिष्टले प्रचण्ड निवासमा इमान्दार नेता कार्यकर्ताले भेट्ने समय नपाउने तर सिआइए र रअका मान्छेहरु भने टुप्पी नाँघेर प्रवेश पाउने गरेको खुलासा गरेका छन् ।एक अनलाइनसँगको कुराकानीमा नेता बिष्टले प्रचण्डलाई चलाउने अर्को महाप्रचण्ड प्रकाश दाहाल र सीता दाहालका कारण प्रचण्ड झनै विचलित भएको बताएका छन् । उनै नेता बिष्टको अन्तर्वार्ताको सम्पादित अंश :

माओवादी केन्द्र परित्याग गर्नुभएको हो ?

मैले पार्टीको केन्द्रीय कार्यालय सदस्य, केन्द्रीय उत्पादन विभाग, पर्यटन विभागको इन्चार्ज र पार्टी सदस्यबाटै राजीनामा दिएँ । अहिले सर्वसाधारण र शुभचिन्तक मात्रै हुँ । स्वतन्त्र छु । समर्थक शुभचिन्तक कसको हुने त्यो कुरा सोच्नुपर्छ । म कसैको लगाममा छैन । हिजो पार्टी सदस्य लिनेबेला पनि स्वतन्त्र थिएँ । पार्टी सदस्य लिएर ४० वर्ष काम गरेँ । अब कता लाग्ने वा नलाग्ने ‘सेल्फ डिसिजन’को कुरा हो ।

माओवादी नेतृत्व या पार्टीसँग तपाईं के–कस्ता विमतिहरु छन् ?

नेतृत्वबाट २१ बुँदे कार्यान्वयनमा तत्परता देखिएन । पार्टी नेतृत्व सिंगो संगठनलाई सेटमा चलाएमान गराउने भन्दा पनि आफू र अंशमा मात्रै रमाउने काम भयो । नेतृत्व तहबाटै बेला बखत चित्त नबुझे निस्किएर गए हुन्छ भनेर धम्काउने काम भयो । पार्टी टुक्रा–टुक्रा भएर गएको छ तर त्यसको जवाफदेही आफू हुनुभन्दा अरुलाई मात्रै दोषी करार गरियो । कम्युनिस्ट पार्टी संस्थागत र सामुहिक हुनुपर्ने हो तर, हाम्रो नेतृत्वले त्यो होइन निजी कम्पनी र नितान्त व्यक्तिगत चिन्तन सोँचमा चलाउनु भयो । पार्टीका सबै कामहरुमा आफू मात्रै दल्लिने तर अरुलाई काम गर्ने अवसर दिइएन । यतिसम्मकी एकदम झिना मसिना काममा पनि आफू मात्रै दल्लिने तर अरुलाई कुनै अवसरै नदिने अवस्था आयो । पार्टी अध्यक्ष हाम्रो नेता हो तर राष्ट्रिय प्राधिकरपूर्ण नेता हुने नाममा पार्टी संगठनको कमाण्ड छाडिदिनु भयो । लचकताको नाममा चरम उदारतावाद र स्खलन तिर जानु भयो । विविध दबाव, प्रभावमा काम गर्ने बानी पर्न थाल्यो । नेतृत्वमा आवश्यकता भन्दा बढी नै अदृश्यता मात्रै होइन विविध अपारदर्शिता हावी भयो । ढाँट छलको मात्राले छलाङ मार्दै गयो । साम, दाम दण्ड भेदले अपार मल जल र बल पाउन थाल्यो । लाजिम्पाटमा इमान्दार नेताहरु बाहिर लाइन लाग्नुपर्छ । कतिपय धनाड्य, सिआईए, रअका मान्छे आउँछन् । हाम्रो टुप्पी नाघेर गइहाल्छन् । हामी त लाइन लागेको लाग्यै । अरु पार्टीका कुनै नेता कार्यकर्ता ‘त्रिपल जम्प’ हानेर भित्र पस्छन् ।

प्रचण्ड कमरेडको भान्सामै जान्छन । हामी बलेनीमै रुझेर हैरान ।म अध्यक्षको कार्यालय सदस्य हुँ । प्रचण्डलाई भेट्न जाँदा प्रचण्ड पुत्रले नै बाटो छेकेर ‘तँ तल जा..भन्ने ? नविनता र सिर्जनशिलताको नाममा चरम स्खलन र विचलनको बाटोमा नेतृत्व हिँड्न थाल्यो । जनयुद्धका घाइते, अपाङ्ग बेपत्ता परिवारलाई बेवास्ता गर्न थालियो । पुराना नेता कार्यकर्तामाथि बेपर्वाह पक्षपात गर्दै सिमै नाघेर न्यूनिकरण गर्न थालियो । कयौँ राम्रा र असल नेता/कार्यकर्तालाई गल्हत्याएर निकाल्न थालियो । गलत चिन्तन र प्रवृत्ति शैलीलाई प्रमोशन र प्रोत्साहन गर्दै जान थालियो । मुल रुपमा माझधारमै छाडेर नेतृत्व अन्तै रुमलियो, भड्कियो र अदृष्य शक्तिको सिकार भयो । यसकारण यो पार्टीमा बसिरहन मन लागेन ।

० वर्षे राजनीतिक जीवन बिताएको तपाईंलाई माओवादी पार्टीबाट कसरी वितृष्णा श्रृजना भयो ?

वितृष्णा होइन, केही कुरा छन् । म अझै आठ–दश वर्ष काम गर्न सक्छु । राजनीति आजीवनको अनिवार्य पेसा होइन । यो ऊर्जाशील उमेरमा गर्नुपर्छ । ऊर्जाशील समय राजनीतिलाई दिएँ । यसमा मेरो कुनै गुनासो छैन । कसैले गुन मानोस् या नमानोस्, बूढो–पुरानो पंक्ति सधैँ रहिरहने र पछि लाइन लागेर उनीहरू पनि बूढा हुने प्रथा बेठीक छ । नयाँ पंक्ति राजनीतिमा आउनुपर्छ देश र जनताको भाविष्य बनाउन हामीले भन्दा राम्रो गर्नुपर्छ । केही गर्ने नसक्ने भएपछि भन्दा अलिकति चल्दोफिर्दो उमेरमै राजनीतिबाट अवकाश लिनुपर्छ । यो संस्कारको कुरा पनि हो । त्यसपछि जीवनका बाँकी आयामहरू पूरा गर्न सकिन्छ । हाम्रो नेताहरूले अन्तिम उमेरसम्म पनि राजनीति गर्नुभएको छ । प्रचण्ड कमरेड ६३ वर्ष हुनुभयो । उहाँ बेस्सरी काम गर्नुहुन्छ ।

प्रचण्ड र म विष्ट एउटै हुने कुरा भएन । उहाँ बाहुनको छोरो ऊर्जावान्, यो मगरको छोरो नसक्ने कुरा भयो । उरुग्वेको राष्ट्रपतिले आफूले पाउने तलबको ९० प्रतिशत जनतालाई दिन्छन् । १० प्रतिशतले उनीहरूले जीवन गुजारा गर्छन् । झुपडीमा बस्छन् । अमेरिकाको राष्ट्रपतिमा सबैभन्दा कम उमेरमा काला जातिबाट बाराक ओबामा आए । दुई कार्यकाल खाए । उनले संसारलाई एउटा ढंगले तरंग दिए र गए । उनी राष्ट्रपतिमा आउनुपहिले पनि एउटा कम्पनीमा काम गर्दारहेछन् । राष्ट्रपति छोड्ने बित्तिकै उनी सोही कम्पनीमा काम गर्न गए । म यो कुरालाई सलाम गर्छु । म उहाँको विचार नमानुला तर, त्यही सोच हुनुपर्छ । हामी कम्युनिस्ट, अग्रगामी भन्ने तर पश्चगामी सोच राख्छौँ । गरिब देशको ढुकुटी रित्याउने गरी सेवा–सुविधा बढाउने, आफ्नो घर छ सम्पत्ति छ तर राष्ट्रको सम्पत्ति दोहन गर्ने कुरामा म घोर आपत्ति जनाउँछु । सुरक्षा भनेको जनतासँग हुन्छ । आफ्नो प्राण–पाखुरा रहुन्जेल हात–पाखुरा चलाएर खानुपर्छ । मरेर लाने के छ र ?

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार