गेजुवा कम्पनीका लोकल एजेण्ट दीपक भट्ट वाम गठबन्धनलाई अबको निर्वाचनमा बहुमत हासिल गराउनका लागि चाहिने सबै स्रोत र साधन जुटाउन व्यापक तयारीमा जुटेका छन् ।

व्यापारी भट्टकै पहलमा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच बृहत्त वाम गठबन्धन बनेको हो । तीन दलले बृहत्त बाम गठबन्धन बनाउने सहमति गत असोज १७ गते गरेपछि अहिले राजनीतिमा विभिन्न छटपटी र प्रतिक्रियात्मक तरंग उत्पन्न भएको छ ।भविष्यमा एउटै कम्युनिष्ट केन्द्र बनाउने उद्देश्यले आफूहरुले वाम एकता गरेको भनेर दुवै पक्षका शीर्ष नेताहरुले भनिरहेपनि यो गठबन्धन बनाउनको लागि नेपालका प्रसिद्ध उर्जा व्यापारी दिपक भट्टले काम गरेको खुलासा भएको छ ।
भट्टले चिनियाँ कम्पनीले निर्माण गर्ने बुढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउनको लागि दुवै पार्टी एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुलाई मनाउन ठूलो रकम खर्चिएको खुलासा भएको छ ।
उच्च स्रोतका अनुसार उक्त आयोजना निर्माण गर्ने भनेर ट्रायल बेसमा रहेको चिनियाँ कम्पनी गेजुवाले ३ अर्ब रुपैयाँ रकम निकासा गरेको छ । सुरुमा उक्त आयोजना गेजुवालाई दिनुहुँदैन भनेर सार्वजनिक रुपमै विरोध जनाउँदै आएका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई समेत यही मोर्चामा आवद्ध भएपछि उनको समेत मुखमा बुझो लागेको छ ।
चिनियाँ निजी कम्पनीहरुसँग नजिक मानिएका नेपाली व्यापारी भट्ट पछिल्लो समय नेपालमा वाम गठबन्धन बनाउने सुत्रधारको रुपमा समेत चिनिन्छन् । उनी एमाले उपाध्यक्ष वामदेव गौतमका निकट ब्यवसायी हुन् । उनी सेना, प्रहरी र विद्युत प्राधिकरणमा लामो समयदेखि ब्यवसाय गर्दै आएका छन् ।
हालका गृहमन्त्री जनार्दन शर्माले आफू उर्जामन्त्री हुँदा यसअघि नै नियमविपरीत चिनियाँ गेजुवा कम्पनीलाई बुढीगण्डकी परियोजना दिएको भन्दै संसदको सार्वजनिक लेखा समितिले उनलाई बयानका लागी बोलाउने निर्णय गरेको थियो । संसदको अर्थ तथा जलस्रोत समितिले बुढिगण्डकी परियोजना चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णय खारेज गर्न सरकारलाई निर्देशन नै दिएको थियो । तर यी सबै निर्देशनलाई लत्याउँदै उक्त कम्पनीलाई ट्रायल वेसमा काम गर्न वातावरण बनाएको थियो ।
वाम गठबन्धन निर्माणमा होमिएसँगै बाबुरामले पनि अब बुढीगण्डकीबारे कुनै चासो देखाएका छैनन् ।
अहिले भट्ट चीनमा उच्चस्तरीय व्यापारिक भेटवार्तामा व्यस्त रहेको खुलासा भएको छ । उनले चिनियाँ उक्त गेजुवा कम्पनीसँग पनि वाम गठबन्धनलाई अबको निर्वाचनमा बुहमत ल्याउनेगरि आर्थिक सहयोग गर्न आग्रह गरेका छन् । उनले हाललाई तीन अर्ब रुपैयाँ दिलाउने वाम गठबन्धनका शीर्ष नेताहरुलाई वचन दिएको बुझिएको छ ।
तर उक्त वाम गठबन्धनमा भने नयाँ शक्ति नेपालले नरहने भएको छ । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले कांग्रेससँग चुनवाी तालमेल गर्ने सहमति गरिसकेका छन् । उनलाई आफ्नो गृहजिल्लामा एमाले र माओवादीले सहयोग नगरेको भन्दै उनी रुष्ट बनेका थिए ।







