सत्तारुढ कांग्रेस र विपक्षी एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गुण्डा नाइकेदेखि सुन तस्करसम्मलाई उम्मेदवार बनाएपछि राष्ट्रिय राजनीतिमा ठूलाे तंरग नै उत्पन्न गरेकाे छ ।

नेकपा एमालेले हत्या, अपहरण, बलात्कार, लुटपाटका घटनामा पटक पटक पक्राउ पर्दै राजनीतिक दबाबमा छुट्दै आएका कुख्यात गुण्डा नाइके दिपक मनाङ्गेलाई पार्टीमा प्रवेश गराएकाे छ । र, समानुपातिक उमेदवारको सूचिमा समेत मनाङ्गेको नाम सिफारिश गरेकाे छ । यता नेपाली कांग्रेसले गुण्डा नाइके गणेश लामालार्इ पनि पार्टीमा भित्र्याएकाे छ ।
फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबिच भएको पार्टी एकता कार्यक्रममा गुण्डा नाइके भनेर चिनिएका लामा प्रधानमन्त्रीसँगै देखिए । उनी पनि उम्मेदवारकै सूचिमा छन् । त्यसैगरी कांग्रेसको प्रदेश सभातर्फ समानुपातिकको सूचीमा सुन तस्कर मनबहादुर तामाङ जो ८८ केजी सुन तस्करी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका थिए, को नाम बन्दसूचिमा पारिएको छ ।
छोटो समयमै अकुत सम्पत्ति आर्जन गरेका उनी केही समययता प्रहरी निगरानीमा थिए । उनलाई काँग्रेसले प्रदेश नं. २ का लागि प्रदेश सभामा समानुपतिक उम्मेदवारको सूचिमा राखेको हो । प्रहरी स्रोतका अनुसार उनी व्यापारको साथै चीन र भारतमा अवैध सामग्री ओसारपसारमा समेत संलग्न छन् ।
समाजमा अवैध रूपमा वर्जित गुण्डा राजबाट उदय भएकाहरूलार्इ कांग्रेस र एमालेले पार्टीमा भित्र्याएपछि त्यसले समाजलार्इ के दिन्छ भनेर समाजशास्त्री र राजनीतिशास्त्रीहरूले प्रश्न गरेका छन् ।







