माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले खेलेको देउसी भैलोमा एमाले अखिलकी अध्यक्ष नवीना लामा सहभागी भएकी छन्।

अखिल क्रान्तिकारीले विहीवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासबाट देउसी भैलो कार्यक्रम सुरु गरेको थियो, जहाँ एमाले अखिल अध्यक्ष लामा पनि उपस्थित भइन्।
आफ्नो निवासबाट सुरु भएको देउसी भैलो कार्यक्रममा एमाले अखिल अध्यक्ष लामा पनि उपस्थित भएपछि प्रचण्ड हर्षित भए। ‘पार्टी एकता हुने पक्का भइसक्यो, तपाईंहरुले संयुक्त रुपमा यस्तो कार्यक्रम आयोजना गर्दै जानुस् भन्नुभयो’ लामाले नेपालखबरसँग भनिन्, ‘उहाँले दिनु भएको प्रोत्साहनले हामीपनि खुसी भएका छौँ।’
क्रान्तिकारीको देउसीभैलोेमा अखिलका कार्यकर्ताहरुसँगै प्रचण्ड र उनकी कान्छी छोरी गंगा दाहाल नाचेकी थिइन्। प्रचण्ड नाचेपछि अखिल अध्यक्ष नविनापनि नाचिन्। प्रचण्ड–नविनाको नाचसँगै प्रचण्ड निवासमा क्रान्तिकारीको देउसीभैलो एकघण्टा चलेको थियो। देउसीभैलो कार्यक्रममलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकता नहुँदै विद्यार्थीहरुमा देखिएको एकताप्रति खुसी प्रकट गरेका थिए।
उनले दुवै पार्टीका विद्यार्थी नेता–नेतृहरुलाई निर्देशन दिए, निर्वाचनमा मात्र हामी एक हुँदैछैनौं, त्यसपछि पार्टी एकतापनि गर्दैछौँ। त्यो नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा अर्काे छलाङ र क्रमभंगता हो।’







