पूर्व राजा ज्ञानेन्द्र शाहले संविधान सबैलाई मान्य नभएको भन्दै फेरि देशको नेतृत्व लिन आफु तयार भएको बताएका छन्।
शनिबार कान्छी बहिनी शोभा शाहीसँग उनको निवास कमलादीमा टीका ग्रहण गरेका शाहले संक्षिप्त सन्देश दिँदै शाहले आफु अब जिम्मेवारी र नेतृत्व दिन तयार रहेको दावी गरेका हुन्।
‘अहिले दुबो, गदावरी, मखमली फूलका मालाको महत्व नबुझ्ने तर कागजको फूलको सुवास खोज्ने परिस्थितिमा हामी हिंडिरहेका छौँ’, भाइटीकामा गलाभरी पहिरिएको दुबो, गोदावरी र मखमली फूलका माला छुँदै शाहले भने, ‘नेतृत्व नभएको देखिन्छ, त्यसैले अब समय आएजस्तो लाग्छ मलाई।’
‘अब जिम्मेवारी लिन र नेतृत्व लिन म तयार छु’, शाहले पुरानै शैलीमा टाउको हल्लाउँदै मिडियाकर्मीसँग भने, ‘तर यसमा सबै जनताको इच्छा हुनुपर्छ।’ ‘यस्तो कुरा गर्दा फेरि सक्रिय भयो भन्ने कुरा निस्कनसक्ने’ भन्दै उनी आफैले ‘यो सक्रिय हुने वा नहुने भन्ने कुरा नभएको’ बताए।
‘देशको परिस्थितिले मागेको समय आएजस्तो मलाई लाग्छ’, सबैले यही चाहना गर्नु पर्ने तर्क गर्दै शाहले थपे।
‘आज परिवारसँग रमाइलो गर्दै सुरक्षितसाथ बस्ने दिन हो तर सबै दाजुभाई दिदीबहिनिले मैले भनेको कुरामा पनि ध्यान दिनुस्’, शाहले आग्रह गर्दै भने। यति भनेर धन्यवाद भन्दै उठेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई ‘नयाँ संविधानलाई तपाईं कसरी लिनुहुन्छ’ भनेर सोधियो।
‘मैले बुझेको के हो भन्देखि यो सबैलाई मान्य भा’छैन’, केही कदम अगाडि बढ्दै शाहले उल्टै प्रश्न राखे, ‘अब यो दस्तावेजलाई कसरी लिने?’







