नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले एमाले र माकेहरु कम्युनिष्ट साइनबोर्ड झुण्ड्याएका पश्चगामी शक्ति भएको बताएका  छन् ।

“पुरानो, प्रतिगामी, प्रतिक्रियावादी संसदीय व्यवस्थालाई मान्ने र त्यही सत्तामोहमा चुर्लुम्म डुब्नेहरु कम्युनिष्ट हुन सक्दैनन् र तिनीहरु वाम पनि होइनन् ।” बिहीबार विहान ‘रेडियो नागरिक’सँग कुराकानी गर्दै महासचिव किरणले भने, “नेपालमा कम्युनिष्ट आन्दोलन अगाडि बढ्दै जाँदा विचलनहरु देखापर्दै गए । कम्युनिष्ट आन्दोलनभित्रको यो दक्षिणपन्थी अवसरवादी तथा पश्चगामी धाराका विरुद्ध क्रान्तिकारी धाराले संघर्ष अगाडि बढाउँदै आएको छ । अहिले त्यो क्रान्तिकारी धाराको नेतृत्व हाम्रो पार्टीले गर्दै आएको छ ।”

प्रचण्ड, बाबुराम र बादलतर्फ इङ्गित गर्दै महासचिव किरणले भने “उहाँहरुमा निराशा देखियो । हामी क्रान्तिकारी आशावादले समृद्ध छौं । व्यवस्था, सत्ता र संविधान पुरानै छ । जनताका समस्याहरु ज्युँका त्युँ छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु अझ जटिल बन्दै गएका छन् । त्यसको समाधानका लागि नेपालमा नयाँ जनवादी क्रान्ति हुनै पर्छ, गर्नैपर्छ । अरु कुनै विकल्प छैन ।”

कम्युनिष्ट तथा वाम शक्तिलाई विश्वास गर्ने र त्यसका पक्षधर जनता अत्यधिक भएकोले कम्युनिष्ट साइनबोर्ड झुण्ड्याएर एमाले–माकेहरुले जनतामा भ्रमको खेती गरिरहेको चर्चा गर्दै हासचिव किरणले त्यस्ता भ्रम चिर्न, प्रतिक्रियावादी व्यवस्था, सत्ता र संविधानको भण्डाफोर गर्दै जनतामा संगठन विस्तारको आधार तयार पार्न निर्वाचन उपयोगको नीति लिएको दावी गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार