नेकपा माओवादीका महासचिव मोहन वैद्य किरणले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन् रेडियो नागरिकसँगको कुराकानीमा वैद्यले यो गठबन्धनले नेपाली समाजलाई केही पनि नदिने भन्दै क्रान्तिकारी शक्तिबीच ध्रुवीकरण भएर जानु पर्ने बताएका छन् ।

नागरिक रेडियोसँग सागर न्याैपानेले लिएको अन्तर्वार्ताको पूरा पाठ :

तपाईलाई त मोहन बैद्य भन्दा पनि किरण नाम बढी मन पर्छ होला ?

(हास्दै) हजुर जे भन्दा पनि मनपर्छ । किरण अलि बढी पार्टीको प्रचलित नाम भयो, त्यही हो भन्नुस ।

एकजना साहित्यकार दार्शनिक, चिन्तक भएको आधारमा पनि किरण नाम प्यारो लाग्नेभयो ?

हजुर ठीकै हो, त्यसै भनौं ।

तपाईहरुको पहिलो राष्ट्रिय सम्मेलनबाट एउटा प्रणाली नै खारेज गरेर अर्काे प्रणालीमा जानुको रहस्य के हो ?

हाम्रो पार्टीमा पहिला अध्यक्षात्मक प्रणाली थियो । अहिले वास्तवमा अध्यक्ष राखेपनि अरु पदाधिकारी नभएर एकपदीय नै थियो । पार्टीलाई अनुशासीत, चुस्त, दुरुस्त राख्नको निम्ति एकपदीय राख्ने निर्णय गरिएको हो ।

हामीले बहुपदीय पनि अनुभव गर्‍यौं । अन्तर्राष्ट्रिय प्रचलनमा पनि महासचिव प्रणाली बढी प्रयोगमा छ ।

नेपालमा कम्युनिष्ट पार्टीहरु एक हुनुपर्छ भनेर एमाले–माओवादी मिले । तपाईको पार्टी चै अध्यक्षात्मक प्रणाली खारेज गरेर महासचिव प्रणालीमा जानुको कारण अलिकति क्रान्तिकारी बन्नलाइ हो?

क्रान्तिकारी बनेर हुने कुरा त भएन । व्यबहारमा कार्यान्वयन हुनुपर्छ । अलिकति चुस्त दुरुस्त पार्टी बनाउने, काम गर्न सजिलो होस भन्ने हिसावले हो । त्यस्तो अरु तर्क होइन ।

तपाईबाट तत्काल क्रान्ति सम्भव छैन भनेर नेत्र विक्रम चन्दले अर्कै पार्टी गठन गर्नुभयो । बादल लगायतका नेताहरुले पार्टीबाट विद्रोह गरेर प्रचण्डसँग मिल्न जानुभयो । राम्रा प्रभावशाली नेताहरुले धमाधम पार्टी छाड्दै गएपछि तपाई झन् शक्तिशाली हुने प्रणाली अपनाइ रहनुभएको हो त्यसो भए ?

व्यक्ति शक्तिशाली भएर त केही हुन्न । किनभने जनवादी केन्द्रीयताको प्रणाली हुन्छ । माथिबाट केन्द्रीयता हुन्छ, तलबाट जनवाद हुन्छ । जनवाद र केन्द्रीयताको एउटा द्वन्द्वात्मक अवस्थाको बीचबाट नै सम्पूर्ण पार्टी परिचालन हुन्छ । त्यसकारण महासचिव भन्दा एकदमै निरङ्कुस त होइन फेरि । साथीहरुले केही छाडेर भन्दाखेरी हाम्रा निम्ति नितान्त नयाँ पनि होइन । २०४१ सालमा पाँचौ महाधिवेशन गर्दा पार्टी सयुक्तरुपमा हुँदा म महासचिव भएको हुँ । अहिले अप्रत्याशित रुपमा महासचिव पद आएको होइन । इतिहास हेर्ने हो भने महासचिव प्रणाली नै ज्यादा प्रयोगमा छ ।

२०४१ साल र अहिलेको समय धेरै फरक छ । यतिबेला कम्युनिष्टहरु एकता र धुव्रीकरण गराउनुपर्छ भनेर लागिरहेका छन्, तर तपाईहरु फेरि पुरानै पद्धतिमा फर्कनुभएको छ नि ?

यसलाई पुरानै भनेर नभनौ, प्रचलित थियो । जुन भएपनि जनवादी केन्द्रीयताको अभ्यास गर्नका निम्ति महासचिव प्रणाली बढी सहज हुन्छ ।

तर, तपाईहरुले अपनाउनुभएको यो प्रणालीले आगामी राजनीतिलाई कस्तो प्रभाव पार्छ भनेर धेरै मानिसहरुले चासो पूर्व हेरिरहेका छन् नि ?

चासो त कुन ढंगले गरिरहेका छन् । सबै कुराको क्रिया भएपछि–प्रतिक्रिया हुन्छ । त्यसलाई स्वभाविकै रुपमा लिनुप¥यो । म सबैलाई स्वभाविक रुपमा लिन अनुरोध गर्छु । हामीले सिङ्गो पार्टीबाट छलफल, बहस गरेर यही प्रणाली उपयुक्त हुन्छ भनेर आएको कुरा हो ।

तपाईहरुले छलफल बहस त गर्नुभयो, तर यसले आगामी राजनीतिलाई कत्तिको प्रभाव पार्ने विश्लेषण गर्नुभएको छ ?

महासचिव प्रणालीमा हुँदा चुस्त दुरुस्त क्रान्तिकारी पार्टी निर्माणका लागि यसले अलि फरक पार्छ । हुन त बहुमतीय प्रणाली सरकारमा जाने पार्टीहरुका निम्ति संसदमा जानेहरुका निम्ति अलि फिटकर हुँदो रहेछ । सरकार र संसदमा नजाने पाटीहरुका निम्ति महासचिव प्रणाली फिट हुने पनि देखिन्छ । फेरि अर्काे कुरा के हो भन्दा खेरी रुसको कुरा गर्दा लेनिन सरकारमा गएपनि महासचिव प्रणाली थियो । चीनमा माओ अध्यक्ष भएको प्रणाली हो । त्यसकारण इतिहास हेर्ने र नयाँ अभ्यास गर्ने कुरा हामीले पालना गरेका हौं ।

चीनको कुरा गर्नुभयो, सी जिनपिङ आगामी पाँच वर्षकालागि केही शक्ति सहित महासचिव निर्वाचित हुनुभएको छ, तपाईहरु माओ विचारधारा मान्ने पार्टीको विश्लेषण के रहेको छ ?

माओ विचारधारा मान्दै आएको सवालमा हुनसक्छ, विभिन्न पार्टीले आफ्नो ढंगले मान्न सक्छन् । त्यसलाई यताउती गर्ने कुरा भएन। चीनमा पनि महासचिव प्रणाली नै छ अहिले फेरि । माओविचार धाराका कुरा त सबैले मानेका छन् । क्रान्ति गर्नेले पनि मानेका छन्, नगर्नेले पनि मानेका छन् । माओवाद पनि मानेका छन्, माक्र्सवाद लेनिनवाद माओवाद भनिन्छ भनेर मात्रै केही हुँदैन तर, भन्नुपर्छ भन्ने हो ।

चीनमा चिनियाँ कम्युनिष्ट पार्टीको भर्खरै सम्पन्न १९ औ महाधिवेशनले सी विचारधारा स्थापित गरेको छ । नेपालका माओवादी मान्नेहरुले के गर्छन अब ?

विभिन्न देशमा आ–आफ्ना ढंगले मान्छन् । सिद्धान्तको विकास गर्ने क्रममा माक्र्सवाद लेनिनवाद र माओवाद मान्यौं हामीले ।  विभिन्न पार्टी मानिरहेका छौं, अब विभिन्न व्यक्तिको विचारधारा मानेर जाने पार्टीहरु हुन्छन् । के कस्ता प्रभाव पार्छन भन्ने कुरा व्यवहारले देखाउने हो । सिद्धान्तको विकास भइरहन्छ भन्ने कुरा अहिले चीनको अभ्यासले देखाएको छ । विकास भएर राख्या हो कि नभइकन राख्या हो भन्ने कुरालाई विश्लेषण गर्नैपर्ने हुन्छ । अहिल्यै यो बारेमा यो वा उ नभनौं ।

तपाईहरुको राष्ट्रिय सम्मलेलनबाट बनाउनुभएको ७७ सदस्यीय केन्द्रीय समिति तपाईको भाषामा भन्दा चुस्त समिति हो?

अहिलेको अवस्थामा ठीकै हो । अहिलेको सापेक्षतामा गठन गरिएको हो ।

अनुशासन कायम गर्न र काम गर्नलाई सहज हुन्छ ?

एकदमै सहज हुन्छ । पार्टीमा ठूलो संख्याका कमिटि बनाउने चलन पछि आयो । हामीले जनयुद्ध सुरु गर्दाखेरी १९ जना जतिको केन्द्रीय समिति लामो समयसम्म रह्यो । पछि ३५ जनासम्मको समिति बनायौं । त्यसपछि एकताको प्रक्रिया हुन थालेपछि संख्या एकदमै बढ्ने हुन थाल्यो । केन्द्रीय समितिमा बस्नेहरुको महत्वकांक्षा पनि बढ्न थाल्यो । यसले गर्दा जथाभावी केन्द्रीय समितिमा राख्ने चलन चल्यो । क्रान्ति गर्नको निम्ति धेरै ठूलो खालको केन्द्रीय समिति हुनुपर्छ भन्ने छैन । चाइना जस्तो मुलुकमा कति थोरै डेलिगेट्स (प्रतिनिधि) थिए, तर हाम्रो राष्ट्रिय भेलामा ७ हजार प्रतिनिधि थिए । केन्द्रीय समिति पदमा जाने भनेको त एउटा क्षमता, योग्यता र त्याग सबै हुनुपर्छ । ठूलो कमिटि बनाउँदा पदको ओज, गरिमा र मूल्य हरायो । जस्तो ४ हजार सम्मको केन्द्रीय समिति बनाएको पनि देखियो । त्यसकारण धेरै भएर क्रान्ति हुने थोरै भएर क्रान्ति नहुने भन्ने हुँदैन ।

यो उमेरमा पनि क्रान्ति गर्नुपर्छ भन्ने तपाईमा जोश जाँगर अझै पनि छ है ?

क्रान्तिको प्रयास गरेर यहाँ सम्म आइयो । तर गंभिर धक्का खाइयो । फेरि नयाँ ढंगको तयारी, नयाँ ढंगले अगाडी बढ्नुपर्ने अवस्था आएको छ । म मात्रै होइन मेरो संगठनका सबै पङ्ती नयाँ ढंगले क्रान्ति गरेर जानुपर्छ भन्ने पक्षमा छ ।

प्रचण्ड, बाबुराम, बादलले गम्भीर धोका दिए भन्न खोज्नुभएको हो ?

हो भन्नुस् । उहाँहरुप्रति ठूलो आस्था, विश्वास थियो, जनताले साथ पनि दिएका हुन् । सुरुमा राम्रो काम गरेपनि अन्त्यमा उहाँहरुले पुरानै खालको संसदीय व्यवस्थालाई स्वीकार गरेर जानुभयो । पुरानै राज्यसत्तालाई स्वीकारेर जानुभयो । हाम्रो लक्ष्य त त्यो होइन । नेपालमा जनताको जनवादी गणतन्त्र ल्याउने, नयाँ जनवादी राज्यसत्ता ल्याउने भनेर लागेका थियौं । तर त्यो उद्देश्य पूरा हुन पाएन। न हारियो, न जितियो । धक्का खाइयो । क्रान्तिको गति एकातिर अघि बढेको थियो तर प्रतिक्रान्तिमा बदलियो ।

प्रचण्डले बडो सुन्दर शब्दमा क्रमभंग गर्‍यौं, छलाङ मार्‍यौ भन्नुभएको छ । तपाई धक्का खाइयो भन्नुहुन्छ ? 

हेर्नुस क्रमभंग शब्द द्वन्द्ववादको शब्द हो । यो दुई किसिमको हुन्छ । एउटा उल्टो दिशामा हुन्छ, अर्काे सुल्टो दिशामा हुन्छ । उहाँ(प्रचण्ड)ले जनयुद्ध सुरु गर्दाखेरी पनि क्रमभंग ग¥र्याै भन्नुहुन्थ्यो । त्यो ठिकै पनि हो, सुल्टो दिशाको क्रमभंग थियो । अहिले यता आइसकेपछि उहाँले गर्नुभएको क्रमभंग उल्टो दिशाको हो ।

तपाई आफै प्रचण्ड, बाबुराम, बादलको राजनीतिक गुरु, सबै चेलाले छाडेपछि तपाई निराश भएर उल्टो देख्नुभएको त होइन ?

होइन होइन । म त एकदमै आशावादी छु । बरु उहाँहरु नै निराश भएर अब केही पनि हुँदैन केही पनि गर्न सकिदैन भनेर हिड्नुभयो । इतिहासमा यस्तै हुँदै आइरहेको छ । कुनै बेला असाध्यै सानो संगठन पनि बनेको छ । हामीले जनयुद्ध सुरु गर्ने बेलामा पनि पार्टी ठूलो थिएन। त्यसकारण गर्दै जानुपर्छ, राष्ट्रियता जनतन्त्र र जनजीविकाको समाधान भइसकेको छैन । त्यसकारणले क्रान्तिका निम्ति एउटा धरातल छ । त्यो धरातलमा उभिएर देश र जनताको निम्ति उभिएर देश जनताका आशा अपेक्षालाई पूरा गराउनको निम्ति देशले नयाँ विकल्प खोजिरहेको छ ।

देशमा एउटा सरकार स्थानीय तहको चुनाव भइसकेको छ, देश स्थीरतातर्फ अघि बढीसकेको छ । अबपनि गाउँहरुमा इलाकाहरुमा क्रान्तिकारी जुझारुपन पाइन्छ र भन्या ?

जुझारुपनमा केही ह्रास त आयो । क्रान्तिले धक्का खाँदाखेरी जुझारुपनमा केही ह्रास त निश्चित रुपमा आएको छ तर त्यो समग्र होइन केही अंश हो । त्यसलाई सकारात्मक ढंगले विवेचना गरी अगाडी लैजान सकिन्छ भन्ने हो ।

तर, क्रान्ति गर्नका लागि मानिससँग समय नै छैन । तपाईहरुकै शब्दमा जाने हो भने मानिसहरु यान्त्रिक भइसके, दिनभरी काम गर्नैपर्ने बाध्यता छ । अनि कसरी सम्भव छ तपाई भनेको क्रान्तिको कुरा ?

क्रान्ति गर्ने भनेको पार्टीको मात्रै इच्छा र रहरले होइन नी त । जनता र देशसँग नजोडिकन जनताको सहभागिता नभइकन अगाडी बढ्न सकिदैन । त्यसकारणले यो खाली पार्टी कार्यकर्ता पार्टी नेताले मात्रै गर्ने कुरा होइन ।  किनभने वर्ग समाजमा जनता हुन्छन् । जनताका आ–आफ्ना प्रतिनिधि हुन्छन् । ती प्रतिनिधिबाटै पार्टी बन्छ । जनतासँग नजोडिएको पार्टी को कुनै अर्थ र काम छैन । जहाँसम्म यहाँले यान्त्रिक शब्दको प्रयोग गर्नुभयो, हामीले हाम्रो कार्यदिशा, नीति लाईनको निर्धारण गर्ने सिलसिलामा जनतासँग जोडिएको कार्यदिशा, नीति बनाउनुपर्छ । त्यो बनाउन सकिएन भने एउटा असफलता व्यहोर्नुपर्ने हुन्छ ।

यहाँले जनउत्तरदायी बन्ने कुरा गर्नुभयो । तर नेपालका कम्युनिष्टहरु पछिल्लो चरण जनउत्तरदायी नभएको विश्लेषण गरिन थालेको पनि छ नी ?

यो कुरा साँचो हो । कम्युनिष्टहरु दुई धारमा विभाजित भए । एउटा क्रान्तिकारी धार र अर्को अवसरवादी धार । अवसरवादी धारले जनताका हकहित, इच्छा आकांक्षा, सपना सबैलाई छोडेर पुरानै सत्तामा जाने र आफ्नो पनि व्यक्तिगत सत्ता मोहको परिपाटी देखापर्ने । जनता र देशको हकहितका निम्ती नगर्ने हुनाले जनतामा एउटा विृतष्णा निश्तितै रुपमा परेको छ । तर सबै प्रतिको वितृष्णा भने होइन । जनताले धेरै हेर्दै वुझ्दै जान्छन र समय पनि लाग्छ ।

पहिलो राष्ट्रिय सम्मेलनबाट स्पष्ट कार्यदिशा तयार गर्न नसकेको भनेर नेताहरुले किन असन्तुष्टी जनाउनु भएको हो ?

त्यस्तो होइन । हामीले प्रष्ट गरेका छौ । राजनीतिक कार्यदिशाको कुरा गर्नुहुन्छ भने नेपालमा क्रान्ती भएकै छैन । पुँजिवादी जनवादी क्रान्ती भएकै छैन । यो क्रान्ति पूरा गर्नुपर्छ हामीले भनेका छौं । जस्तो कि अरु कम्युनिष्ट आन्दोलनका ठूलो हिस्साबाट नेपालमा न त पँुजीवादी जनवादी क्रान्ति भयो, न त राजनीतिक क्रान्ति भयो । अब आर्थिक क्रान्ति हो भनिराखेका छन् । तर, हामी के भनिराखेका छौं भने राजनीतिक क्रान्ति पूरा भएको छैन । त्यसका लागि पुँजीवादी, जनवादी क्रान्ति लड्नुपर्छ भनिराखेका छौं । हामीले पुँजीवादी क्रान्तिको कार्यदिशा अथवा नयाँ जनवादी क्रान्तिको कार्यदिशा पारित गरेका छौं । यो कार्यक्रमलाई पुरा गर्नका लागि संघर्षका कार्यक्रमलाई अघि बढाउन कसरी जाने भनेर हामी छलफलमै छौं । विभिन्न संघर्षका लागि हामीले हात बाध्दैनौं । प्रयोगका बीचबाट संघर्षका नयाँ नयाँ अवस्थाहरु सिर्जना हुन्छन भन्ने सोचमा हामी छौं । त्यसकारण हाम्रो नयाँ जनवादी क्रान्तिको कार्यदिशा प्रष्ट छ । त्यसलाई प्रयोग गर्नका निम्ति संघर्षका विविध रुपहरुको प्रयोग गरेर अघि बढ्छौं । त्यसबाटै एउटा ठोस रुप बन्छ । त्यसमा बल प्रयोगको सिद्धान्त जरुरी हुन्छ । बल प्रयोग नगरी जनताको सत्ता प्राप्त हुँदैन ।

जनयुद्ध कि जनविद्रोह भन्नेमा यहाँहरु अझैपनि द्धिविधामा हुनुहुन्छ ?

होइन हामीले दुवैबाट शिक्षा लिँदै जानुपर्छ । अब जनयुद्ध र जनविद्रोह दुबैलाई व्यबहारबाट विकास गर्दै जानुपर्छ । हामीले जनयुद्ध र जनविद्रोह दुवैमा टेक्छौं । आधार बनाएर जान्छौं । नेपालको धर्तीमा बास्तवमा प्रयोगकै बीचबाट जानुपर्छ । किनभने यान्त्रिक ढंगले मात्रै त्यो हुँदैन भन्ने हो ।

तपाई एकजना दार्शनिक चिन्तक, सिद्धान्तको प्रतिपादन गर्ने व्यक्ति । सबै कम्युनिष्ट समय अनुसार चल्न थाले मिल्नुपर्छ, ध्रुवीकरण गर्नुपर्छ भनेर लागे । तर, तपाई अझै उग्र क्रान्तिकारी धारतिर किन लाग्नुभएको ?

यसलाई उग्र त म ठान्दिन हेर्नुस । कसैले यसलाई उग्र भन्लान तर, उग्र होइन । मलाई के लाग्छ भने कम्युनिष्ट आन्दोलनको बीच–बीचमा गन्तव्यमा नपुग्दै विभिन्न खालको विचलन आउने । यहाँ प्रष्टै छ हामी त संसदीय व्यवस्था र पुरानो राज्य सत्ताका विरुद्ध संघर्ष गरेका हौ नी त । त्यत्रो विभिन्न जनआन्दोलन, लाष्टमा आउँदा दश वर्षको जनयुद्ध त्यसको प्रतिफल के हो भन्दाखेरी त्यसको प्रतिफल घुम्दै फिर्दै त्यही संसदीय, त्यही पुरानो राज्यसत्ता हो । यो भएपछि हामीले जुन लक्ष्य राखेर आन्दोलन गरेका थियौं त्यहाँ पुग्न सकिएन । त्यसकारण त्यो लक्ष्यमा पुग्नका निम्ति तमाम प्रकारका विचलनका विरुद्ध लड्दै अहिलेको राजनीतिक भाषामा भन्नुहुन्छ भने दक्षिणपन्थी अवसरवादका विरुद्ध जुध्दै फेरि क्रान्तिको तयारी गर्न आवश्यक छ भन्ने हिसावले हामी अगाडि बढ्या हो।

राष्ट्रियताको कुरा गर्नुहुन्छ भने झन् गम्भीर हुन थालिसक्यो । देश बच्ने हो कि होइन भन्ने संशय छ । अब सत्तामा रहेका दलहरु देशभित्र र बाहिर पनि चाकडी गरेर जसरी पनि सत्तामा रहन लिप्त छन् । देश र जनताको अवस्था दयनीय बन्दै जानुले पनि यसका विरुद्ध संघर्ष नगरी हुँदैन भन्ने मेरो ठहर हो ।

एमाले–माओवादीबीच बनेको गठबन्धन प्रति तपाइको दृष्टिकोण के हो?

यो निश्चित रुपमा दक्षिणपन्थी गठबन्धन हो । नाम बाम भएपनि दक्षिणपन्थी अवसरवाद हो । अझ त्यो पश्चगमनतिर गइरहेको छ ।

पुरानो राज्यसत्ता र व्यवस्थालाइ स्वीकारेर गइसकेपछि त्यसलाइ कसरी वाम भन्ने ? कम्युनिष्ट भाषामा भन्ने गरेको दक्षिणपन्थी अवसरवाद मात्रै पनि होइन  । यो गठबन्धन त त्यसबाट पनि पश्चगमनतिर गइसकेको छ ।

तर, उनीहरु दुईतिहाइ ल्याएर पाँच वर्षसम्म सत्ता चलाउने योजनामा छन, तपाई दक्षिणपन्थी अवसरवाद भन्नुहुन्छ ?

उनीहरुले सबै सिध्याए । नेपालीमा एउटा उखान छ, ”घर भत्काएपछि आँगन पुर्न के गाह्रो?“ यही उखान जस्तै वाम आन्दोलनको क्रान्तिकारी धाराको घर भत्किसक्यो । घरै भत्केपछि आँगनका खाल्डाखुल्डी पुर्ने त भइहाल्यो । उहाँहरु सत्तामोहमा चुर्लुम्म डुब्नुभएको छ । त्यसकारण उहाँहरुको गठबन्धनलाई वाम गठबन्धन भन्ने कुरा पनि आएन । नेपालमा धेरै जनता कम्युनिष्ट पक्षधर भएकाले तिनलाई प्रभावित पार्न कम्युनिष्टको साइनवोर्ड झुण्ड्याउनै पर्यो । कम्युनिष्टको साइन वोर्ड झुण्ड्याएन भने भोटै पाइदैन। उहाँहरुले साइनवोर्ड राख्नुभएको छ असली अर्थमा उहाँहरु कम्युनिष्ट हुँदै होइन ।

राष्ट्रिय सम्मेलनबाट मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई उपयोग गर्ने नीति लिनुभएको रहेछ । के हो यो उपयोग भनेको ?

हामीले आफै पार्टी दर्ता पनि गरेका छैनौं । मोर्चा निर्माण गरेका छौ । मोर्चाका उम्मेदवारहरुलाई सघाएर चुनावलाई क्रान्तिकारी उपयोग गर्ने हाम्रो निर्णय छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार