नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले प्रचण्ड नेतृत्व माके एमालेमा विलय हुन थालेको भन्दै चुनावलगत्तै पार्टी पुनर्गठन गर्ने बताएका छन् । रातोपाटी अनलाइनसँगको लामो कुराकानीमा नेता किरातीले प्रचण्डले एमालेसँग आत्मसमर्पण र सम्झौता गरेको हुनाले अब आफुले माओवादी केन्द्रलाई पुनगर्ठन गर्ने दाबी गरेका छन् । साथै उनले एमालेमा पुगेर दुर्इ लाइन संघर्ष गर्नु भनेकाे दासढुंगामा फ्याँकी माग्नु भन्दै अाफु त्यसबाट अलग रहने किरातीले घाेषणा गरेका छन् ।
किरातीसँगको अन्तर्वार्ताको सानो अंश :

एमालेले बोक्ने विचारधारालाई आधार मानेर उसलाई यदि वामपन्थी शक्ति मान्ने हो भने वामपन्थी विचारधारा मान्ने दुई ठूला वाम दल एक ठाउँमा आएर समाजवाद उन्मुख राजनीतिक कार्यदिशा लिन्छन् भने यसलाई कुन आधारमा गलत भन्न सकिन्छ ?
पहिला त एमाले के हो ? भनेर समग्रमा त्यसको विश्लेषण गर्नुपर्छ । कम्युनिस्ट पार्टीको नाम झुन्ड्याउँदैमा कोही वामपन्थी भैहाल्दैन । त्यसो हुने भए त यो दुनियाँ साम्यवादमा पुगिसक्थ्यो । साम्यवादमा पुग्नु भनेको मानिसको सम्पूर्ण दुःखहरणको दुनियाँ हो । यद्यपि साम्यवादमा पनि प्रकृतिसँगको सङ्घर्ष र उत्पादन सङ्घर्ष भने गर्नुपर्ने हुन्छ । तर राजनीतिक दृष्टिले मानिसले मानिसविरुद्ध गर्ने सम्पूर्ण वर्गीय, जातीय, लैङ्गिक तथा सामाजिक शोषण, उत्पीडन भने साम्यवादी समाजमा समूल अन्त्य गरिन्छ । पहिलो कुरा, एमाले गुट कम्युनिस्ट नै होइन । नेपाली राजनीतिमा कम्युनिस्ट नभएपछि त्यो वामपन्थी हुँदैन । कम्युनिस्ट भनेको वर्गविहीन मानिसहरूको दस्ता, सर्वहारा वर्गको अग्रदस्ता हो । सर्वहारा भनेको वर्ग हो, वर्गीय समाजको अन्तिम वर्ग सर्वहारा वर्ग हो । जुन पुँजीवादको गर्भबाट जन्मन्छ र पुँजीवादलाई निषेध गर्छ ।
वस्तुहरूमा विपरीतहरू बीच एकता र सङ्घर्ष, मात्राको गुणमा परिवर्तन तथा निषेधको निषेध नियम भएर मानवसमाज अघि बढ्छ अथवा समाज अझ परिष्कृत हुँदै अघि बढ्छ । दर्शनको भाषामा समाज पनि एउटा वस्तु हो । तसर्थ कम्युनिस्ट हुन वर्गविहीन चरित्र अनिवार्य हुन्छ । कम्युनिस्ट चरित्रले मात्र समाजमा रहेका यावत अन्याय र उत्पीडनविरुद्ध सङ्घर्ष गर्छ । वास्तविक कम्युनिस्टले नेपाली समाजमा रहेको वर्गीय, जातीय, क्षेत्रीय तथा लैङ्गिक उत्पीडनविरुद्ध सम्झौताहित सङ्घर्ष गर्नुपर्छ । यसैलाई वर्ग सङ्घर्ष भनिन्छ । वर्ग सङ्घर्षमा बल प्रयोगको सिद्धान्त अनिवार्य सर्त हो । बल प्रयोगपछि सर्वहारा अधिनायकत्वको प्रश्न आउँछ । पुँजीवादी अधिनायकत्वले मानव उत्पीडनको अखडा राज्यसत्तालाई संरक्षण गर्छ । तर सर्वहारा वर्गको अधिनायकत्वले पुँजीवादीलाई निर्मन दमन गर्दै राज्य विलोपीकरणमा पुर्याउँछ । राज्यको विलोपीकरण नै साम्यवादी समाज हो । साम्यवादमा नपुगेसम्म मानिसले मानिसविरुद्ध शोषण र उत्पीडन प्रणाली अन्त्य नै हुँदैन ।
के एमालेमा प्रस्तुत चरित्र देख्नु हुन्छ ? लेस पनि त्यसमा कम्युनिस्ट चरित्र देख्नु हुन्न । अनि कसरी एमाले वामपन्थी भयो ? तपाईंहरूको प्रश्न सुन्दा पनि दुःख लाग्छ । पत्रकार भनेको त दुनिया बुझेको मान्छे हुनुपर्ने हो । तर तपाईंहरू किन गहिराइमा बुझ्नु हुन्न । तपाईं पत्रकार साथीहरू किन यसरी टपरटुइँया बन्नुभएको हो ? आश्चर्य लागेर आउँछ । त्यसरी सर्वहारा क्रान्तिका लागि कम्युनिस्टले सर्वप्रथम निजी सम्पत्ति उन्मूलन गर्नुपर्छ । निजी सम्पत्तिलाई सुरुको चरणमा राज्यको स्वामित्वमा ल्याउने र त्यसपछि समाज अर्थात समुदायको स्वामित्वमा हस्तान्तरण गर्नुपर्छ । सम्पत्तिमा समुदायको स्वामित्व र पूर्ण जनवादमा आधारित सार्वजनिक प्रशासनव्यवस्था नै अङ्ग्रेजीमा ‘कम्युनिजम’ र नेपालीमा साम्यवाद हो ।
साम्यवादी पार्टीको आवरणमा एमाले गुट सम्पत्ति स्वामित्व बारे के अभ्यास गर्दैछ ? माक्र्सवादको होइन, एमाले गुट भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादको निरिह दलालीको अभ्यास गर्दैछ । कम्युनिस्टहरू रणनीतिमा सर्वहारा अन्तर्राष्ट्रवादी हुन्छन्, कार्यनीतिमा देशभक्त हुन्छन् । के अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको दलाली गरेर देशभक्ति हुन सक्छ ? किमार्थ सक्दैन । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको दलालीमा टिकेको एमाले नम्बर एक देशघाती गुट हो । त्यही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट एमाले गुटले आफ्ना निकट कार्यकर्तालाई वित्तीय दास तुल्याइरहेको छ । माओ भन्नु हुन्थ्यो– माछा मारेर नदेऊ, माछा मार्ने सीप सिकाइ देऊ । यसविरुद्ध एमालेहरू आधारभूत तहका कार्यकर्तालाई मासिक दुई चार हजार वित्तीय माछा दिन्छन् र जनतालाई बँधुवा मजदुर हुन बाध्य पार्छन् ।
साम्यवादको पहिलो खुड्किलो समाजवादमा शिक्षा र स्वास्थ्य नागरिकको मौलिक अधिकार हुन्छ । अर्थात् शिक्षा र स्वास्थ्य राज्यको दायित्वमा हुनुपर्छ । तर एमाले गुट घोषित पुँजीवादी दल काँग्रेसलाई पनि दस हात उछिन्दै स्वास्थ्य र शिक्षा निजीकरण गर्न कस्सिएको छ । स्वास्थ्य प्रतिष्ठानमा एमालेको निजीकरणविरुद्ध बरु डा. गोविन्द केसी सङ्घर्ष गरिरहेका छन् । रोचक त के भने गोविन्द केसी काँग्रेस समर्थक बुद्धिजीवी हुन् । गुणस्तरीय स्वास्थ्य सेवाका लागि केसी जसलाई पायो त्यसलाई सम्बन्धन दिनु हुँदैन भन्छन् । तर एमालेका माफियाहरू स्वास्थ्य सेवाको निजीकरणमा नाङ्गै उत्रेका छन् । खासगरी सन् १९९० को जनआन्दोलनयता नेपालमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा जसरी निजीकरण भएको छ, सार्वजनिक शैक्षिक प्रतिष्ठान र स्वास्थ्य प्रतिष्ठानहरू जसरी खण्डहर बन्दै गएका छन्, तर जसरी निजी प्रतिष्ठानहरू फस्टाउँदै छन्, त्यसमा एमाले गुटको गरिबमारा अपराधले काम गरेको छ ।
एमाले गुट कथित राष्ट्रवादको जुन ढोल पिट्दैछ, त्यो आन्तरिक राष्ट्रियतामाथि जघन्य दमनमा आधारित छ । जसलाई सम्भ्रान्तवर्गीय खसआर्य केन्द्रीत अन्धराष्ट्रवाद भन्न सकिन्छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा टिकेको गुट कुनै अर्थमा राष्ट्रवादी हुन सक्दैन भन्ने तथ्य सर्वत्र प्रष्ट छ । त्यस्तो सर्वहारा वर्ग विरोधी, मजदुर–किसान र भूमिहीन सुकुम्वासी विरोधी, उत्पीडित जाति समुदाय र महिला मुक्ति विरोधी एमाले गुट वामपन्थी हुँदै होइन । त्यसले लिएको घोर दक्षिणपन्थी दलाल पुँजीवादी विचारधारा र त्यसको उत्पीडित जनता विरोधी चरित्रले एमाले गुट वामपन्थीमा गणना गर्न लायक गुट नै होइन । त्यस्तो प्रतिक्रियावादी विचारधारा, त्यस्तो प्रतिक्रियावादी वर्ग चरित्रको एमाले गुटले वैज्ञानिक समाजवाद ल्याइदेला भनेर ठान्नु भ्रमबाहेक अरू हुनै सक्दैन । तपाईं जस्ता शिक्षित पत्रकारहरू त एमालेलाई वामपन्थी हो भन्ने भ्रम पाल्नु हुन्छ भने विचरा आधारभूत तहका जनताको हालत के होला ? यसरी एमालेमा प्रचण्डहरूको विलयबाट जनतालाई भ्रमको शिकार बनाने वाम आवरणको ठूलो दक्षिणपन्थी पार्टी त बल्ला, तर त्यसले सर्वहारा क्रान्ति गर्दैन । त्यसले राज्यको विलापीकरणको सिद्धान्तमा नेपाली समाजलाई साम्यवादतर्फ डोर्याउँदैन ।
तपाईंको अबको राजनीति के हुनेछ त ?
मेरो राजनीति प्रष्ट छ । प्रदेशसभा र प्रतितिधिसभाको चुनावसम्म माओवादी केन्द्रका साथीहरूलाई सहयोग गर्ने र त्यसपछि नेकपा माओवादी केन्द्र पुनर्गठन गर्ने हुन्छ । सच्चा वामपन्थी, कम्युनिस्ट पार्टी खडा गर्ने काम गर्छु । जुन एउटा आदर्श कम्युनिस्ट सङ्गठन हुनेछ । हामीले पुनर्गठन गर्ने कम्युनिस्ट पार्टीले समाजवादी क्रान्तिको नेतृत्व गर्नेछ । त्यो सम्भव नभएमा माओवादी आन्दोलनमा कमरेड पुष्पलाल श्रेष्ठको भूमिका खेल्नेछ । पुष्पलालको भूमिका भनेको माओवाद र पहिचान मुद्दा रक्षाको भूमिका हो ।
चुनावमा माओवादी केन्द्रका उम्मेदवारहरूलाई सहयोगको अर्थ पेरिसडाँडामा प्रचण्डको टालटुले प्रतिबद्धताको सम्मान हो । व्यावहारिक पनि हुनै पर्यो । गणतन्त्रको संविधान लागू गर्न चुनाव त हुँनै पर्यो । चुनावमा म आफू कुनै उम्मेदवार नहुँदैमा तत्काल प्रदेशसभा र प्रतिनिधिसभा चुनावविरुद्ध हामी जाने भनेको होइन । तर पार्टीमा यति ठूलो मतभेद उत्पन्न भएपछि र एमालेको घेराबन्दीमा मुख्यमन्त्री बन्नु राजनीतिक र नैतिक दुवै दृष्टिले गलत हुन्थ्यो र हामी स्वयं उम्मेदवार छैनौँ । धेरै कमरेडहरूको अनुरोध के छ भने एकता महाधिवेशनसम्म एकसाथ जाऊँ । तपाईं दस्तावेज लेख्नुस, हामी डटेर सहयोग गर्छौं । तर मेरो भनाइ स्पष्ट छ– एमाले केन्द्रमा दुई लाइन सङ्घर्ष गर्नुभनेको अनायास दासढुङ्गामा फाली माग्नु हो । दासढुङ्गाको टुप्पोमा उभिएर साकेला नाच्ने मुर्खता गर्नु हुँदैन ।







