वरिष्ठ वामपन्थी लेखक एवं साहित्यकार खगेन्द्र संग्रौलाले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई अप्राकृतिक र नाटकीय गठबन्धनको संज्ञा दिएका छन् । नागरिक रेडियोसँगको लामो कुराकानीमा संग्रौलाले वाम गठबन्धनलाई नखराको संज्ञा पनि दिएका छन् । साथै उनले गठबन्धन रहस्मयका आधारमा बनेको भन्दै कुनैपनि बेला गठबन्धन भत्किने बताएका छन् ।
एमाले र माकेका नेताहरुमा क्षणिक स्थार्थ पूरा गर्न यस्तो नाटकीय गठबन्धन बनाएको संग्रौलाको दाबी छ ।
बाँकी उनको अन्तवार्ताको सम्पादित अंश :

नेकपा एमालेको अगुवाइमा बनेको वाम गठबन्धन बारे तपाईको टिप्पणी के छ?
अहिलेको यो माओवादी केन्द्र र एमालेको गठबन्धन अथवा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको गठबन्धन रहस्यमय छ । जुन तथ्य र सूचनाको आधारमा र इतिहासका कार्यकारण सम्बन्धको आधारमा व्याख्या गर्नै सकिदैन । यो रहस्यमाथिको टिप्पणी रहस्यमय ढंगले गर्नुपर्छ, जुन बुझिदैन । यी दुई पार्टीहरु नामले कम्युनिष्ट भनिएपनि तीनका पृष्ठभूमी, प्रवृति, चरित्र, दिशा र लक्ष्यको हिसाबले विपरित दिशाका विपरित प्रवृतिका दलहरु हुन् । त्यस्ता दलहरुकाबीचमा रहस्यमय ढंगले, दुनियाँले अत्तोपत्तो नपाउने गरी नाटकीय ढंगले हठात कसरी गठबन्धन भयो होला ? यो गठबन्धनको सैद्धान्तिक आधार केही पनि छैन । यो नितान्त असैद्धान्तिक गठबन्धन हो भन्ने मलाई लाग्छ ।
केही व्यक्ति तथा पात्रहरुका व्यक्तिगत आकांक्षा र स्वार्थहरु यो गठबन्धनको प्रस्थान बिन्दुमा रहेका छन् । यद्यपी पछिल्लो चरणमा त्यसलाई सिद्धान्तको आवरण ओढाउनका लागि अनेक कुराहरु भनिएका छन् । रहस्यकै कुराहरु गर्दा, केपी शर्मा ओली र पुष्पकमल दाहालका निजी आकांक्षाहरु यससँग प्रत्यक्ष रुपमा गाँसिएका छन् । यो गठबन्धनको मूलभूत कारकतत्व पनि त्यही हो ।
केपी ओलीलाई लागेको हुनसक्छ की माओवादी केन्द्र कांग्रेसको गठबन्धनमा रहुन्जेलसम्म आफ्नो प्रधानमन्त्री बन्ने पालो त नआउने भयो। पुष्पकमललाई के लागेको हुनसक्छ भने युद्धकालिन मुद्दाहरु ल्याएर दण्डित गर्ने तत्वहरु त छँदै थिए । निर्वाचनपछि आफ्नो अवस्था पहिलेको भन्दा खराब हुनसक्छ भन्ने कुरामा प्रचण्डको मनमा त्यसको ठूलो भय पसेको हुनसक्छ । त्यसपछि दुवै जनाको स्वार्थ प्रधानमन्त्री र अध्यक्ष आलोपालो बन्ने । सम्भावित कार्यकारी राष्ट्रपति आलोपालो बन्ने स्वार्थमा गठबन्धन बनेको हुनसक्छ ।
अर्को रहस्य के छ भने सर्वथा विपरित प्रवृति भएका पार्टीहरुको चुनावी गठबन्धन एकदमै सहज ढंगले अघि बढेको छ । क्षेत्र विभाजन, पात्र विभाजन, चुनावी अभियानमा संयुक्त रुपमा नाटकीय ढंगमा प्रेमपुर्वक जाने कुरा, त्यो एकदमै सुगमरुपले अघि बढरिहेको हुनाले स्वार्थजन्य यो गठबन्धनले केही काम पो गर्ला जस्तो छ ।
असोजको तेस्रो साता गठबन्धनको घोषणा हुँदा सबै छक्क परेका थिए । गठबन्धनको आयुलाइ लिएर अनेक अड्कलबाजी चलेका छन् । यद्यपी यो सहज ढंगले अघि बढेको छ । मूलः कुरा के हो?
यसबाट म पनि निकै चकित भएको छु । यसमा तत्व दुई वटा कुरा हुनसक्छ । पार्टीभित्र विभिन्न गुट र ती गुटहरुका आ–आफ्नै स्वार्थ हुँदाहुँदै पनि एक भएका छन् । एक त के हो भने केपी र प्रचण्डको दुवै पार्टीभित्र एकदमै कठोर पकड र प्रभुत्व छ । केपी शर्मा ओलीको अगाडी यदाकदा केही बौद्धिकहरुले टिप्पणी गरेपनि उनको चरित्र, चिन्तन, स्वार्थ र दृष्टिकोणमा कसैले पनि आपत्ति जनाएको देखिदैन । पुष्पकमलको हकमा पनि कुरा त्यही हो । अहिले जुन नारा दिइएको छ की नेपालले समृद्धि हासिल गर्न नसकेको, नेपालको राष्ट्रियता बलियो नभएको, नेपालको अर्थतन्त्र कमजोर जगमा रहेको र विदेशीले हेपी नै रहेको कुराको पछाडी राजनीतिक अस्थिरता छ । त्यो राजनीतिक अस्थिरतालाई स्थिरतामा रुपान्तरण गर्न बहुमतको सरकार चाहिन्छ भन्ने नाराले पार्टीभित्र र बाहिरको जनमतलाई आकर्षित गरेको हुनुपर्छ ।
यो वाम रहस्यको आधार दुई वटा मात्रै खुट्याउनु भयो नी ?
कुरा के हो भने, षडयन्त्रको सिद्धान्तमा त म विश्वास गर्दिन । तर कहीलेकाँही यस्तो बाध्यात्मक परिस्थिति आउँछ की त्यो षड्यन्त्रको सिद्धान्तले पनि काम गर्छ की जस्तो लाग्छ । नेपथ्यबाट नेपालप्रति दिल्लीको हेपाइ र चीनको नेपालप्रतिको सहानुभूति जे भनिन्छ, हेपाइ त सत्य हो । तर, चीनको सहानुभूति चरित्र र दिल्लीको भन्दा कति फरक हो त्यो म जान्दिन। वाम गठबन्धन र एकतामा चीनको सुझाव, आर्शिवाद र परामर्श पनि छ भनिन्छ ।
दुवै पार्टीहरु सैद्धान्तिक रुपमा फरक छन् भन्नुभयो तर पनि एकता प्रक्रियामा छन् नी ?
दुवैमा सिद्धान्त त छँदै छैन । किनभने माओवादीले १० वर्षे जनयुद्धमा त्यतिका मानिसहरुमा आकांक्षा जगाएर हजारौं मानिसहरुलाई ज्यानको आहुती दिन लगाएर मुलुकजस्तो बनाउँछ भनिएको थियो, त्यो कुरा त परित्याग गरिसक्यो ।
एमाले त्यसैपनि संसदीय कार्यशैली र व्यवस्थामा अभ्यस्त भइसकेको पार्टी हो । एमाले त कांग्रेसभन्दा पनि बलियो तरिकाले कांग्रेसको चरित्र धारण गरेको पार्टी हो । त्यस्तो पार्टीसँग त्यती ठूला एजेण्डा उठाएको पार्टीले आफ्नो आव्हानमा हजारौं मानिसहरु मराएको एक नेताले ती सबै पदचापहरु, जसले प्रचण्डलाई प्रचण्ड बनायो ती कुराहरु बिर्सिएर जानु भनेको वामपन्थको इतिहासमा भयानक विचलन हो ।
एमालेमा कुनै विचलन भएको छैन । उसले त माओवादीलाई आफ्नो आवरणभित्र घिर्सान सफल भएको छ । तर, माओवादीको हकमा निकै गम्भिर कुरा छ ।
एमाले त्यसरी खोल ओडाउँदैमा सुरक्षित रहन्छ र ? माओवादीको सशस्त्र संघर्षले निम्त्याएका घाउहरुमा एमालेको नैतिक जिम्मेवारी छैन र ?
अहिले वाम गठबन्धन जुन सहज गतिमा छ । त्यो एउटा आवरण हुनसक्छ। दुई वटा मिल्दा खेरी बहुमतले पाँच वर्षमा स्थायी सरकार ल्याएर आफ्नो योजना कार्यान्वयन गर्ने आग्रहका साथ अघि बढ्ने कुरा भइरहेको छ । त्यो माओवादीले अंगाल्यो तर एमालेले त्यो मानेन । खटपट त्यहीबाट सुरु भयो जस्तो मलाइ लाग्छ ।
गत वर्ष आधा बजेट मात्र पारित गरेपछि एमालेलाई छोडेर प्रचण्डजी कांग्रेससँग मिलेर प्रधानमन्त्री हुनुभयो । गत जेठमा प्रचण्डले शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्दा नैतिकताको यति राम्रो पाठ दिनुभयो की,सबै तारिफ गरे । अहिले आफ्ना मन्त्रीहरुलाई विना विभागिय बनाएर सत्तारुढ भएर बसिरहनुभएको छ । यी कुराले आदर्श, नैतिकताका कुराहरु स्वार्थका लागि निरन्तर छन् भन्ने कुरालाई पुष्टि गर्न सकिन्छ । तर, साँच्चै प्रचण्ड र ओलीबीच के कुराले मिलन गरायो ?
पुष्पकमल दाहाल र केपीशर्मा ओलीबीच त्यसबेला आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमति भएको थियो । त्यो भद्र सहमति केपी ओली जी ले तोडेपछि प्रचण्डजीलाई ठेस लाग्यो । त्यसपछि प्रचण्डजीले केपी ओलीलाई रातारात छोडेर शेरबहादुरसँग जानुभयो । कांग्रेससँग जोडिएपछि त्यो बीचको समयमा ओली र दाहालले एकअर्कालाई जतिसुकै निन्दा र वद्ख्वाँइ गरेका छन्, शब्दकोशमा भएका शब्दहरु सकिएर यिनीहरुलाइ शब्दको अभावले बढो आपत परेको अवस्था थियो । त्यो हिजोको कुरा हो । तर यिनीहरुमा निन्दाजनक ध्वनी त अझै जिवित होला नि ।
यी सबै हुँदाहुँदै पनि अहिले गरिएको वाम गठबन्धन यस्तो नखरा हो । यो वित्पातको नखरा धेरै दिन चल्लाजस्तो त मलाई लाग्दैन । तर यो नाटक अहिलेसम्म विचित्रसँग चलेको छ । यो नाटक इतिहासका कार्यकारण सम्बन्धका आधारमा, सूचना र तथ्यका आधारमा, जीवनका प्रवृतिहरुको क्रमागत विकास परिवर्तनको आधारमा व्याख्या गर्न सकिदैन । यो एकदमै रहस्यमय छ ।
आगामी निर्वाचनपछि वाम गठबन्धनको बाटो कता मोडिन्छ ? केही आँकलन गर्न सकिन्छ ?
चुनावपछिको पूर्वानुमान के हो भने अहिलेसम्मको गठबन्धन तथा कार्यगत एकताको प्रवृति अघि बढीरहेको छ । यो सुगमरुपमा अघि बढीरहेको हुनाले कार्यकर्ताहरुमा पनि एक किसिमको उत्साह देखिएको, उनीहरुले हिजोको तिक्तता विर्सन खोजेको जस्तो छ । त्यसकारण यो कम्युनिष्ट भनिएका दुई जत्थाहरुको गठबन्धनको बहुमत आउने सम्भावना छ ।
नेपाली कांग्रेसले गठबन्धनको चेष्टा गर्यो। तर, संवादको कलामा न्यूनता र पदप्रतिको बढी आशक्तीका कारणले उसले लोकतान्त्रिक गठबन्धन गर्न सकेन । त्यसकारण कांग्रेसको अवस्था दोस्रो संविधानसभामा माओवादीको अवस्था भएजस्तो नहोला भन्न सकिन्न ।
वाम गठबन्धनको सरकारले पाँच वर्षको आयु पायो भने दुईवटा कुरा हुनसक्छ । पहिलो उसले विज्ञापन गरेजस्तै स्थिर सरकार हुन्छ र केही उनका विकास र समृद्धिका आकांक्षालाई पुरा गर्ने गरी प्रचार गरिएको छ त्यसमा असहमत हुने कारण छैन । यदि संसदीय व्यवस्थामा अभ्यस्त भएका, भ्रष्ट्राचारको स्वाद चाखेका, पार्टीभित्र माफियाहरु व्याप्त भएका, पार्टी ठेकेदार तथा विचौलीयाको कब्जामा रहेको दुईवटा वाम पार्टीहरु पाँच वर्षका लागि एकै ठाउँमा आयो भने झनै अस्थिर हुने खतरा झन धेरै छ ।
त्यस समयमा कांग्रेस बाहिर हुन्छ र दुई पार्टीको एकाधिकार हुन्छ। त्यो एकाधिकार भएको बेला शक्तिलाई दुरुपयोग गरेर भ्रष्ट्राचारलाई सुसंगठित बनाउने खतरा पनि त्यतिकै रहन्छ ।







