नेपाल कम्युनिस्ट पार्टीले केही सञ्चारमाध्यमले सुनियोजित रुपमा पार्टीका विरुद्ध भ्रामक समाचार प्रकाशित गरेको भन्दै त्यसबारे भ्रममा नपर्न आग्रह गरेको छ ।

नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले कम्युनिस्ट न्यूज सेन्टरसँग कुरा गर्दै पार्टी महासचिव र प्रवक्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको भन्दै प्रकाशित गरिएको समाचार विल्कुलै झुट रहेको बताए । सञ्चारमाध्यमको बदनाम नै गर्ने गरी यस्ता विल्कुलै कल्पना गरेर समाचार नलेख्न उनले आग्रह पनि गरे ।

पार्टीका विरुद्ध भ्रम उत्पन्न गर्न र आफ्नो सस्तो स्वार्थ पूरा गर्न समाचारको सामान्य सिद्धान्त समेत पूरा नगरी सुनियोजित रुपमा केही सञ्चारमाध्यम लागेको भन्दै त्यस्ता कार्य बन्द गर्न पनि प्रवक्ता प्रकाण्डले आग्रह गरेका छन् । उनले प्रकाशित समाचार पढ्ने जो कसैले पनि कपोलकल्पित समाचार हो भन्ने थाहा पाउने गरी समाचार लेख्न लाग्ने पत्रकार र सञ्चारमाध्यमलाई आफ्नो पेशाको गरिमा कायम राख्न र समग्र मिडियालाई बदनाम नगर्न पनि आग्रह गरेका छन् ।

केही दिन अघि माओवादी केन्द्र निकट अनलाइन सञ्चारमाध्यममा नेकपाका महासचिव विप्लव र प्रवक्ता पकाण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको र त्यसबारे पार्टीमा विवाद चलेको भन्ने समाचार प्रकाशित भएको थियो ।

प्रवक्ता प्रकाण्डले अहिले माओवादी केन्द्रका नेताहरु एकातिर आफै भ्रमपूर्ण समाचार लेखाउने र लेख्ने अनि अर्कोतिर त्यही समाचार पढेर नेकपाका विरुद्ध गाली गर्नतिर पनि लागेको बताए ।

माओवादी केन्द्रका मान्छेहरु अत्यन्तै कल्पना गरेर विवादास्पद र भ्रमपूर्ण समाचार लेखाउने र ती समाचार मिडियाको सिद्धान्त र मुल्य मान्यता समेत थाहा नपाउने कमजोर अनलाइन सञ्चारमाध्यममा पठाएर छपाउनतिर पनि लागेको प्रवक्ता प्रकाण्डले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार