
अखिल नेपाल भूमिहिन सुकुम्बासी संघले कथित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्न सम्पूर्ण सुकुम्वासीहरुमा अपिल गरेको छ ।
सुकुम्वासी संघका केन्द्रीय अध्यक्ष ओम प्रकाश पुनले एक प्रेस विज्ञेप्ती जारी गर्दै ८० अर्ब राज्यको रकम खर्च गरेर दलालहरुलाई देश लुट्ने लाइसेन्स प्रदान नगर्न सबैमा अपिल गरेका छन् ।
साथै अध्यक्ष पुनले आफ्नो संगठनका उपाध्य र सचिवलगायत नेता कार्यकर्तालाई सरकारले गरेको गिरफ्तारीको कडा रुपमा निन्दा एवं भत्र्सना गरेका छन् ।
तत्काल आफ्नो संगठनका नेता कार्यकर्ता रिहा गर्न अध्यक्ष पुनले सरकारलाई आग्रह समेत गरेका छन् ।
अध्यक्ष पुनद्धारा जारी विज्ञेप्तीकाे पूरा पाठ :
प्रेस विज्ञप्ती
दलाल संसदीय ब्यवस्थाका मतियारहरुले कथित चुनाव सफल सफल गर्ने र कथित शान्ति सुरक्षा कायम गर्ने बहानामा हाम्रो गाैरवशाली संगठन अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रीय उपाध्यक्ष मिनराज गिरी लगाएतलाई कैलालीबाट र केन्द्रीय सचिव राजु भुजेल लगाएत अाठ जनालाई कास्कीबाट गिरफ्तार गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
उत्पीडित वर्ग, जाती र समुदायका अधिकारलाई कुण्ठित गर्ने गरि करिब ८० अरब भन्दा बढी खर्च गरेर गर्न लागिएको याे कथित चुनाव देश र जनताकाे हित विपरित भएकोले हाम्रो संगठन यसको पुर्ण खारेजीमा जाेड दिन्छ र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा भैरहेको चुनाव खारेजी अभियानमा एक्यबद्धता जाहेर गर्दछ । तर चुनावमा फर भाेट र नाे भाेट गर्न पाउने जनताको अधिकारलाई दलालहरुले कुण्ठित गरी बिनाकारण हाम्रो संगठनका जिम्मेवार नेता कार्यकर्ता र समान्य जनतालाई जताभाबी गिरफ्तार गर्नु घाेर निन्दनीय कार्य भएकोले हाम्रा गिरफ्तार साथीहरुलाई तत्काल बिनासर्त रिहाई गर्न जाेडदार माग गर्दछाै ।
साथै यदि राज्यले यही प्रकारकाे दमन गर्दै जाने हाे भने हामी त्यसको शसक्त प्रतिकार गर्न बाध्य हुनेछाै । त्यसको साथै राज्यको फासिवादी दमनका विरुद्ध सम्पूर्ण भूमिहीन सुकम्वासीहरु एकताबद्ध भएरै लड्न हार्दिक अपिल गर्दछाै ।
अाेम प्रकाश पुन
अध्यक्ष
अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ केन्द्रीय समिति
२०७४ मंसिर २ गते शनिवार







