रोल्पा चुनाबी माहोलका लागि सुरक्षा चुनौतिले अति संवेदनशिल मानिएको छ । त्यसमा पनि रोल्पाको थवाङ झनै संवेदनशील क्षेत्र हो ।

यहाँ केही घण्टाका लागि चुनाबी सभा गर्न माओवादी केन्द्रका वर्षमान पुनको टोलीबाहेक अरु कोही पुग्न सकेको छैन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बाहूल्यता रहेको थवाङमा भोट खस्छ, खस्दैन सर्वत्र चासोको विषय बनेको छ । चुनावमा सहभागी बन्दै आएका थवाङमा ठूलो संख्याका मतदाता अहिले पनि भोट नखसाल्ने पक्षमा छन् ।
थवाङ यतिखेर तत्कालीन युद्धताकाको संकटकालजस्तो देखिएको स्थानीयहरुको ठम्याई छ । सेना, सशस्त्र र नेपाल प्रहरीको घेराभित्र चुनाव गराउनुपर्छ भन्ने प्रचारले अनौठो सन्देश दिएको थवाङबासीहरु बताउँछन । ‘चुनाव त गराउने नै भए । राज्यको यत्रो संयन्त्र एउटा सानो गाउँमा थुपारिएको छ । कहिले नभएको अहिले देखिँदैछ । ‘आर्मीका अफिसर, प्रहरीका एसएसपीसमेतको टोली खटाइएको छ । आर्मीले नखेले पनि पुलिसले राजनीति गरिरहेका छन् । हाम्रा झण्डा ब्यानर सबै च्यातेका छन्,’ थवाङका नेकपाका युवा नेता अमित घर्तीले भने ।
सुरक्षाको बाक्लो उपस्थिति असहज मानेका थवाङबासीले मानसिक यातना भोगेजस्तो अनुभव गरिरहेका छन । ‘थवाङको पुरानो एकताको बिरासत भत्काउन सबैले जोड गरिरहेका छन । हाम्रो कारणले होइन, राज्यका कारणले जे पनि हुन सक्ने सम्भावना छ । एउटा गाउँमा कतिन्जेल बस्छ यत्रो सुरक्षा र कतिन्जेल तोड्छ हामीलाई,’ अमितले थपे ।
थवाङबासीहरुले २०६४ को चुनावमा तीन मतबाहेक सबै प्रचण्डलाई दिएका थिए । २०७० सालको संविधान सभामा एकमत पनि खसालेनन् । २०३६ सालमा सतप्रतिशत मत बहुदललाई खसालेका उनीहरुलेहरुले २०१५ सालको निर्वाचनमा सबै मत थवाङकै उम्मेदवार बनेका खगुलाल गुरुङलाई दिएका थिए ।
२०३८ सालमा रित्तो मतपेटिका फिर्ता गरेको थवाङमा २०५६ मा हेलिकोप्टरमा पुगेका २ जनाले मात्र मतदान गरेका थिए । २०५४ मा चुनावै भएन । अध्यक्ष र उपाध्यक्ष सदरमुकामबाटै घोषणा गरियो भने २०५१ मा ४ मत मात्र खसेको थियो । २०३९ सालको स्थानीय चुनावमा अध्यक्ष र उपाध्यक्ष मात्र प्रतिस्पर्धामा आएका थिए ।
गत स्थानीय चुनावमा बिभाजित थवाङको मत यसपाला बाँडिन्छ वा बाँडिदैन सबैतिर चासोको विषय बनेको छ ।
सुवेदी नागरिक दैनिकमा समाचार लेख्छन् ।







